हावाहुरीले ६ घरमा क्षति

सोमबार, २ चैत, २०८२
डिजिटल संस्करण

आइतबार साँझ अकस्मात् रूपमा असिनापानीसँगै आएको हावाहुरीले रामेछापका ६ वटा घरमा क्षति पुर्याएको छ । हावाहुरीले लिखु तामाकोशी गाउँपालिका– ६, खिम्तीमा उसीको रुख ढली तारामान माझीको दुईकोठे बल्कको घरमा क्षति पुर्याएको छ ।

उक्त घरमा करिब १० हजार रुपैयाँबराबरको क्षति भएको प्रहरी चौकी खिम्तीले जनाएको छ । त्यसैगरी, हावाहुरीका कारण सोही गाउँपालिकाको वडा नम्बर १, दुरागाउँमा पाँचवटा घरको छाना उडाएको छ ।

हावाहुरीका कारण के–कति क्षति पुगेको छ भन्ने यकिन विवरण संकलनको काम भने भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।  

हावाहुरीसँगै आएको असिनापानीले किसानले लगाएको गहुँ, उवालगायतका कृषि बालीमा समेत क्षति पुगेको छ । पानीले हिउँदे तरकारीसँगै अन्य बालीहरूमा राहत पुगे तापनि असिनाले क्षति पुर्याउँदा किसानहरू चिन्तित भएका छन् । 

सुझावित समाचार