वन डढेलोको रोकथाम तथा नियन्त्रणका लागि सल्यानमा वन डढेलो सचेतना सप्ताह सुरु गरिएको छ। सुक्खा मौसम सुरु भएसँगै वनमा डढेलोको जोखिम बढ्ने भएकाले त्यसको रोकथामका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष सचेतना सप्ताह सञ्चालन गरिँदै आएको हो।
डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलका अनुसार सप्ताहभर वन उपभोक्ता समूह, स्थानीय तहका प्रतिनिधि, सुरक्षा निकाय तथा अन्य सरोकारवालालाई सहभागी गराएर डढेलो रोकथाम र नियन्त्रणका उपायबारे छलफल तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यक्रमअन्तर्गत आइतबार त्रिवेणी गाउँपालिकाको काभ्रामा विद्यार्थीलक्षित वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ। वन डढेलोको जोखिम, यसको असर र नियन्त्रणका उपायबारे युवापुस्तालाई सचेत गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको रावलले जानकारी दिए।
रावलका अनुसार जिल्लामा वन डढेलो व्यवस्थापन कार्ययोजनाको मस्यौदा तयार भइसकेको छ। उक्त कार्ययोजनालाई जिल्ला वन सुरक्षा समितिको बैठकबाट पारित गरी जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा पनि पेस गर्ने तयारी गरिएको छ।
तथ्यांकअनुसार सल्यान वन डढेलोको दृष्टिले उच्च जोखिममा रहेको जिल्ला हो। सन् २०१३ देखि २०२५ सम्म जिल्लामा १ हजार ३०२ वटा वन डढेलोका घटना भएका छन्। यस्ता घटनाले वन क्षेत्र, जैविक विविधता, वन्यजन्तु तथा वातावरणमा ठुलो क्षति पुर्याउँदै आएका छन्।
वन डढेलोका घटनामा मानवीय लापरबाही प्रमुख कारण हुने भएकाले स्थानीय समुदायको सक्रियता र सचेतना अभिवृद्धि अत्यन्त आवश्यक रहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी ललितजंग खड्काले बताए।
सल्यान जिल्लामा हाल ६२६ सामुदायिक वन, २०३ कबुलियती वन र दुई धार्मिक वन रहेका छन्। जिल्लाको कुल ९३ हजार ६ सय ७० हेक्टर क्षेत्रफल वनले ओगटेको छ।