- खसआर्यकी यशोदाकुमारी बराललाई एमालेले पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गर्ने गरी पठाएको छ । कालीकोटकी उनी खसआर्य महिलातर्फ नवौँ वरीयतामा थिइन् ।
एमालेले समानुपातिक सांसदको टुंगो लगाएको छ । प्रत्यक्षमा नौ सिट जितेको एमालेले समानुपातिकमा १६ सिट पाएकोमा क्लस्टरअनुसार सांसद छनोट गरेको हो ।
एमालेसहित ६ दलले मात्रै थ्रेसहोल्ड कटाएर समानुपातिकमा सिट सुरक्षित गरेका छन् । रास्वपा, कांग्रेस, नेकपा र राप्रपाले बन्दसूचीबाट सांसद छान्न आइतबार बैठक डाकेका छन् । श्रम संस्कृतिले पनि शनिबार नाम टुंग्याउन प्रयास गरेकामा विवाद भएपछि आइतबार बैठक आह्वान गरेको छ ।
अध्यक्ष केपी ओलीको भक्तपुर गुन्डुस्थित निवासमा बसेको एमाले सचिवालय बैठकले आदिवासी जनजातितर्फ महिलामा भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ तथा पुरुषमा रामबहादुर थापा र कुलभक्त शाक्यको नाम निश्चित गरेको छ । उपमहासचिव लेखराज भट्टका अनुसार खसआर्य महिलामा पद्मा अर्याल, टुकाभद्रा हमाल र यशोदाकुमारी बराल छन् । खसआर्य पुरुषतर्फबाट गुरु बराल र पुष्प कँडेल, थारू पुरुषमा कृपाराम राना थारू तथा दलित महिलामा विष्णुमाया बिके र निता घतानी छन् । मधेशी महिलाबाट रिङला यादव र यशोदाकुमारी यादव छन् भने मधेशी पुरुषमा चन्देश्वर मण्डलको नाम टुंग्याएको छ । त्यस्तै, मुस्लिम महिलाबाट सजिता यादव सिद्दिकीलाई समानुपातिक सांसद बनाउने निर्णय भएको भट्टले जानकारी दिए । अध्यक्ष ओली पितृशोकमा रहेकाले बैठकको अध्यक्षता उपाध्यक्ष रामबहादुर थापाले गरेका थिए ।
प्रत्यक्षमा तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकमा चार सिट जितेको छ । तर, समानुपातिक सांसद छनोटमा श्रम संस्कृति पार्टीमा विवाद देखिएको छ । ‘आधिकारिक को–को हो भनेर निर्णय भइसकेको छैन, तयारी मात्रै भै’राछ,’ अध्यक्ष हर्क साम्पाङले भनेका छन् । साम्पाङका अनुसार आइतबार समानुपातिकबारे निर्णय गरेर निर्वाचन आयोगमा बुझाउने तयारी छ ।
रास्वपाले पनि समानुपातिक सांसदको नाम छान्न आइतबार बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा बैठक बोलाएको छ । समानुपातिक उम्मेदवार सिफारिस र विविध गरी बैठकका दुई कार्यसूची रहेको प्रवक्ता मनीष झाले बताए । ‘समानुपातिक उम्मेदवार सिफारिस गर्न भोलि बिहान सचिवालय बैठक बोलाइएको छ, भोलि नै निर्णय गरेर निर्वाचन आयोगमा बुझाउँछौँ,’ झाले भने । प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिकमा ५७ सिट जितेको छ ।
कांग्रेसले समानुपातिक सांसद टुंग्याउन आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । प्रत्यक्षमा १८ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ २० सिट जितेको छ । ‘समानुपातिकतर्फका सांसदबारे निर्णय गर्न आइतबार दिउँसो बैठक बोलाइएको छ, बैठकबाटै निर्णय गरेर आयोगमा नाम बुझाउँछौँ,’ प्रवक्ता देवराज चालिसेले भने ।
नेकपाले पनि आइतबार नै समानुपातिक सांसद टुंगो लगाउने भएको छ । संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले समन्वय गरेर नाम टुंगो लगाउने नेकपाले जनाएको छ । प्रत्यक्षमा सात सिट जितेको नेकपाले समानुपातिकमा नौ सिट जितेको छ । ‘पार्टीले समानुपातिक सांसदको टुंगो भोलि लगाउँछ, संयोजक र सहसंयोजक आवश्यक परामर्शमा हुनुहुन्छ,’ प्रचार संयन्त्रका संयोजक अग्नि सापकोटाले भने ।
प्रत्यक्षमा एक सिट जितेको राप्रपाले समानुपातिकमा जितेको चार समानुपातिक सांसद टुंग्याउन आइतबार बिहान कार्यसम्पादन बैठक बोलाएको छ । ‘भोलि बिहान कार्यसम्पादन समितिको बैठक बोलाइएको छ, उक्त बैठकले समानुपातिका सांसद छान्छ,’ प्रवक्ता मोहन श्रेष्ठले भने ।
बन्दसूचीबाट नाम छनोट गर्दा थ्रेसहोल्ड कटाउने दलले आफूले पाएको सिट संख्याका आधारमा खसआर्य ३०.२८, आदिवासी जनजाति २८.७२, मधेशी १६.१५, दलित १३.४४, थारू ६.५२ र मुस्लिम ४.८९ प्रतिशत सिट छुट्याउनुपर्छ । ६ वटै क्लस्टरबाट ४.३ प्रतिशत पिछडिएको क्षेत्रलाई समेट्नुपर्छ । समानुपातिकमा १० प्रतिशतभन्दा कम सिट प्राप्त गर्ने दलले कम्तीमा एकतिहाइ महिला निर्वाचित हुने गरी नाम पठाउनुपर्छ ।
यस्तो छ निर्वाचन आयोगको तयारी
निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरूले नाम पठाएपछि समावेशी क्लस्टरबमोजिम मिले–नमिलेको रुजु गरी समानुपातिकतर्फका निर्वाचित सांसदको नाम यकिन गरी प्रमाणपत्र उपलब्ध गराउने बताएको छ । ‘थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा समानुपातिक क्लस्टरअनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई पत्राचार गरिएको छ । दलहरूले बन्दसूचीभित्रबाट नाम सिफारिस गरेपछि सो नामावली समावेशी क्लस्टरबमोजिम मिले–नमिलेको रुजु गरी समानुपातिकतर्फका निर्वाचित सांसदको नाम यकिन गरी प्रमाणपत्र उपलब्ध गराउने कार्य हुनेछ,’ आयोगका सूचना अधिकारी सुमन घिमिरेले भने ।