वेत्रावतीसम्म खुल्यो सडक ट्रयाक

दसैँभित्र धुन्चे केन्द्रीय सडक सञ्जालमा जोडिने । स्याफ्रुबेँसी, रसुवागढी तथा टिमुरे नाका भने तत्काल केन्द्रीय सडकमा नजोडिने

शनिबार, १७ असोज, २०८३
डिजिटल संस्करण

बाढीले केन्द्रीय सडक सञ्जालबाट विच्छेद भएको रसुवा जिल्ला दसैँअघि पुनः सडक सञ्जालमा जोडिने भएको छ । नुवाकोट–रसुवा सीमाक्षेत्र वेत्रावतीसम्म सडकको ट्रयाक खुलेसँगै रसुवा सदरमुकाम धुन्चेलाई दसैँअघि नै केन्द्रीय सडक सञ्जालमा जोड्ने तयारी भएको हो ।

बाढीले ८२ किलोमिटर लामो गल्छी–वेत्रावती–स्याफ्रुबेँसी–रसुवागढी–टिमुरे सडकखण्डको करिब ४० किलोमिटर बगाएको छ । बाँकी सडकमा समेत लेदो र माटो थुप्रिएपछि यातायात पूर्ण अवरुद्ध भएको थियो । त्यसपछि सडक विभागले निरन्तर काम गर्दै बिहीबार वेत्रावतीसम्म सडकको ट्रयाक खुलाएको छ ।

वेत्रावतीसम्म सडक खुलेपछि नुवाकोट र रसुवा जोड्ने बेलिब्रिज जडानको काम पनि अघि बढेको छ । सडक विभागका सुपरिटेन्डेन्ट इन्जिनियर सौजन्य नेपालका अनुसार पुलको फाउन्डेसन तयार भइसकेको छ । सडक नखुलेका कारण बेलिब्रिजका सामग्री ढुवानी गर्न समस्या भएको थियो । अब सडक खुलेसँगै पुलका सामग्री वेत्रावती पुर्याएर जडान सुरु गरिनेछ ।

‘रसुवा र नुवाकोट जोड्ने गरी वेत्रावतीमा बेलिब्रिज जडान गर्दै छौँ । यसको फाउन्डेसन तयार भइसकेको छ । अब सामग्री वेत्रावती पुर्याएर जडान गर्छौँ,’ नेपालले भने, ‘पुल जडान गर्न १० देखि १२ दिन लाग्न सक्छ । त्यसपछि पुरानो पासाङल्हामु राजमार्ग हुँदै रसुवा सदरमुकाम धुन्चेसम्म पुग्न सकिन्छ ।’

विभागका अनुसार वेत्रावतीमा बेलिब्रिज जडान भएपछि धुन्चेसम्मको सडक सञ्चालनमा ल्याउन सहज हुनेछ । धुन्चेबाट स्याफ्रुबेँसीतर्फ समेत सडक सम्पर्क स्थापित गर्न सकिनेछ । त्यसका लागि स्याफ्रुबेँसीमा अर्को बेलिब्रिज जडान गर्ने तयारी भइरहेको छ ।

वेत्रावतीमा जडान गर्न लागिएको बेलिब्रिज बाढीपछि उक्त सडकखण्डमा राखिने दोस्रो पुल हो । यसअघि देवीघाटमा बेलिब्रिज जडान गरिएको थियो । वेत्रावतीको काम सकिएपछि स्याफ्रुबेँसीमा पुल जडान गरिने विभागको योजना छ । स्याफ्रुबेँसीमा पुलको फाउन्डेसन निर्माण गर्ने स्थानसम्म पुग्न करिब डेढ सय मिटर एप्रोच सडकसमेत निर्माण गरिएको छ ।

धुन्चे दसैँअघि नै केन्द्रीय सडक सञ्जालमा जोडिने भए पनि स्याफ्रुबेँसीभन्दा माथिको सडक तत्कालै सञ्चालनमा ल्याउन सकिने अवस्था छैन । बाढीले त्यस क्षेत्रमा सडकको नामोनिसान नै नरहेको विभागले जनाएको छ ।

अल्पकालीन रूपमा पुरानै रेखांकनअनुसार सडकको ट्रयाक खोल्ने विभागको तयारी छ । तर, त्यसका लागि कति समय लाग्छ भन्ने यकिन भइसकेको छैन । ‘अल्पकालीन रूपमा पुरानै रेखांकनमा सडकको ट्रयाक खोल्ने योजना छ,’ नेपालले भने, ‘तर, कति समय लाग्छ अहिले नै भन्न सक्ने अवस्था छैन ।’

स्याफ्रुबेँसीमा बेलिब्रिज जडान भएपछि पश्चिम रसुवाको सडक सम्पर्क पुनः स्थापित हुने विभागको अनुमान छ । त्यसका लागि करिब डेढ महिना लाग्न सक्ने विभागका अधिकारी बताउँछन् ।

बाढीपछि सडकमा थुप्रिएको लेदो पन्छाएर सडक खुलाउन चुनौती बनेको छ । कतिपय ठाउँमा एक्स्काभेटर र डोजर नै भासिने समस्या छ । सडक नै नखुलेका कारण बेलिब्रिज जडानमा समेत समस्या भएको विभागले जनाएको छ ।

स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडक पुनर्निर्माण गर्न चीनलाई आग्रह 
स्याफ्रुबेँसीदेखि टिमुरे नाकासम्मको सडक पुनर्निर्माण गर्न सरकारले चीनलाई आग्रह गरेको छ । यो खण्डको करिब १८ किमि सडक पूर्ण रूपमा क्षतिग्रस्त छ । चीनकै सहयोगमा स्याफ्रुबेँसी–रसुवागढी सडक विस्तार गर्ने आयोजना यसअघि नै अघि बढिसकेको थियो । त्यसलाई सुरु गर्न चीनलाई प्रस्ताव गरिएको परराष्ट्र मन्त्रालयको भनाइ छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार यस विषयमा अहिले चीनसँग समन्वय भइरहेको छ । 

सुझावित समाचार