स्थानीय निर्वाचनको तयारीमा होमियो रास्वपा

महामन्त्री विपिन आचार्य संयोजकत्वको केन्द्रीय उम्मेदवार छनोट समितिमा सात सदस्य मनोनयन, हरेक प्रदेशका पार्टी सभापति पदेन सदस्य रहने

आइतबार, १८ असोज, २०८३
डिजिटल संस्करण

अन्य दलहरू आन्तरिक विवादमा रुमल्लिएका वेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ६ महिनापछि हुने स्थानीय तह निर्वाचनको तयारीमा होमिएको छ । शनिबार केन्द्रीय कार्यालयमा बसेको पाँच घण्टा लामो केन्द्रीय समिति बैठकले स्थानीय निर्वाचनका लागि महामन्त्री विपिन आचार्य संयोजक रहेको केन्द्रीय उम्मेदवार छनोट समितिमा सात सदस्य मनोनयन गरेको छ भने सबै प्रदेशका पार्टी सभापति पदेन सदस्य हुने निर्णय गरेको छ ।

छनोट समितिमा मनोनयन सदस्यमा मिलन लिम्बू, रहवर अन्सारी, तोसिमा कार्की, कवीन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टासी ल्हाजोम र जनकसिंह धामी र सबै प्रदेशका सभापति पदेन सदस्य रहने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए । ‘जनतासँग कुनै पनि प्रकारको दूरी नहुने गरी वा दूरी (ग्याप) हटाउने गरी जनतामा पुग्ने निर्णय भएको छ,’ उनले भने, ‘स्थानीय तहमा पुग्ने निर्णय भनेको स्थानीय निर्वाचनमा केन्द्रित हुँदै गएका छौँ भन्ने नै हो ।’

स्थानीय तह चुनावमै केन्द्रित हुने उद्देश्यसहित रास्वपाले केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा ‘हामी आउँदै छौँ’ अभियान पनि सञ्चालन गर्ने भएको छ । आगामी २० देखि २७ असोजसम्म केन्द्रीय सदस्य तथा सांसदहरूले ७७ जिल्लाका ७५३ पालिका पुगेर जनता, पार्टी तथा सरोकारवालासँग छलफल तथा सुझाव संकलन गर्नेछन् । प्रवक्ता खरेलका अनुसार केन्द्रीय समिति बैठकले सबै केन्द्रीय सदस्य तथा सांसदहरूलाई अनिवार्य रूपमा परिचालित हुन निर्देशन गरेको छ ।

बैठकले केन्द्रीय विभागहरूमा प्रमुख, उपप्रमुख तथा सदस्य मनोनयन गरेको छ । जसअनुसार प्रमुख मनोनीत भएकामा प्रवास सम्पर्क विभागमा मनीष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान, कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य, सामाजिक न्याय, लैंगिक समानता तथा समावेशिता विभागमा रुविना आचार्य, सुशासन तथा राज्य व्यवस्था विभागमा सुदीप ढकाल, विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल छन् । त्यस्तै, कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता, श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभागमा दीपककुमार साह (महोत्तरी), आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल, विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागमा आनन्दबहादुर चन्द, संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डा. धनञ्जय रेग्मी प्रमुख मनोनीत भएका छन् । रेग्मी प्रमुख रहेको विभागमा सम्राट बुढाथोकी सदस्य मनोनीत भएका छन् । त्यस्तै, वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म केसी र सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागमा रिमा विश्वकर्मा प्रमुख मनोनीत भएका छन् । उपप्रमुखमा भने अभियान तथा प्रचारप्रसार विभागमा आनन्द मिश्र र अर्थ विभागमा डिल्लीश्वर कार्की (रोहन) नियुक्त भएका छन् ।

मधेश प्रदेशबारे सचिवालयले निर्णय गर्ने 
रास्वपा मधेश प्रदेशका संगठनको समस्या तथा समाधानको सम्बन्धमा सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा गठित कार्यदलले विस्तृत प्रतिवेदन बुझाएको छ । केन्द्रीय समिति बैठकमा पार्टी सभापति लामिछानेलाई प्रतिवेदन बुझाएको हो । उक्त प्रतिवेदनको अध्ययनपछि पार्टी सचिवालयले आवश्यक निर्णय लिने प्रवक्ता खरेलले जानकारी दिए ।

पार्टी कार्यालय खरिद गर्ने 
रास्वपाले पार्टी कार्यालयका लागि जमिन वा घर किन्ने भएको छ । प्रवक्ता खरेलले केन्द्रीय कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता महसुस गर्दै पार्टीका लागि जमिन/घर किन्न काठमाडौं उपत्यकाको पायक पर्ने स्थानमा खोजी गर्न पार्टीका सदस्य तथा शुभेच्छुकहरूलाई केन्द्रीय समिति बैठकले अनुरोध गरेको छ ।

बैठकमा सभापति रवि लामिछानेको निर्देशन– जनता र पार्टीको सम्बन्ध सुदृढ गर्नुस्, गुनासो सुन्नुस् र सम्बोधन गर्नुस् 
सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै जनता र पार्टीको सम्बन्ध सुदृढ गर्न नेता, सांसद र मन्त्रीहरूलाई दिर्नेशन दिएका छन् । जनताले मत दिएर रास्वपालाई ठुलो पार्टी बनाएको भन्दै उनले पार्टी विस्तारित मात्रै होइन, बलियो बनाउनुपर्ने बताए । अब स्थानीय तहमा केन्द्रित हुन र परिणाम देखिने गरी काम गर्न लामिछानेले निर्देशन दिए ।

‘हामीलाई जनताले विश्वास गरे । जनताको सानोभन्दा सानो काम पार्टी, सरकार र संसद् जहाँबाट भए पनि सम्बोधन गर्नुपर्छ । हेल्लो सरकारमा, पार्टीमा, सांसदहरूलाई आएका गुनासा, सुझाव र अनुरोधलाई जसरी पनि सम्बोधन गर्नुपर्छ । पार्टी र जनताबिचको, सरकार र जनताबिचको सम्बन्ध मजबुत बनाउने गरी तपाईंहरू आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुहोस्,’ सभापति लामिछानेको निर्देशन उद्धृत गर्दै प्रवक्ता जगदीश खरेलले भने ।

उनले चिनजान भएका र पहुँच भएकालाई मात्रै नभई, सिंहदरबार वा आफूकहाँ पुग्ने जोकोहीलाई पनि सहज रूपमा भेट्न मन्त्रीहरूलाई निर्देशन दिए । ‘चिनजान भएकालाई भेट्ने कुराले मात्र भएन, सुझाव बोकेर, माग बोकेर, घण्टौँ लगाएर, कैयौँ दिन लगाएर सिंहदरबार पुगेका सर्वसाधारण सबैलाई सहज रूपमा भेट्नुस्, उहाँहरूका गुनासा सुन्नुस् र सम्बोधन गर्नुस्,’ प्रवक्ता खरेलका अनुसार सभापति लामिछानेको निर्देशन छ, ‘जनतासँग हाम्रो सम्बन्ध टुटेको दिन हामीसँग केही पनि रहँदैन । संसद्, सरकार वा पार्टी र जनताबिच सम्बन्ध सुदृढ बनाउन र कुनै पनि ग्याप हटाउन उहाँहरूको सुझाव सुनेर कार्यान्वयन गर्नुस् । जनताले अनुभूति हुने गरी उहाँहरूसँग संवाद गर्नुस् ।’

बैठकमा सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग आफ्नो अत्यन्तै राम्रो सम्बन्ध रहेको, निरन्तर संवाद भइरहेको उल्लेख गर्दै सरकारलाई सहयोग गर्न पनि निर्देशन दिए । ‘प्रधानमन्त्री र मेरो सम्बन्ध एकदमै राम्रो छ । सबै कुराहरू सेयरिङ भएको छ । ६ महिनामा सरकारले सुशासनमा राम्रो काम गरेको छ । परिणाम देखिन अर्को ६ महिना लाग्न सक्छ,’ उनले बैठकमा भनेका थिए, ‘सरकार सही बाटोमा छ, हामी सबैले सहयोग गर्नुपर्छ ।’ 
 

सुझावित समाचार