निरन्तर खोलौँ ज्ञानचक्षु

शनिबार, ३० फागुन, २०८२
डिजिटल संस्करण

देशमा ००७ सालदेखि गरिएका जनआन्दोलन र सशस्त्र विद्रोह व्यवस्था परिवर्तनका लागि भनिए । जेन–जी पुस्ताले चाहिँ सुशासनलाई नै मूल एजेन्डा बनाएर आन्दोलन गर्नुपरेकाले खोजेको कुरा सुशासन हो भन्ने देखिन्छ । भयरहित स्वच्छ वातावरणमा निर्वाचन सम्पन्न भयो । राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत हासिल गरेको छ । उक्त पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह देशको प्रधानमन्त्री बन्ने भएका छन् ।

भर्खरै सम्पन्न निर्वाचनले विशेष महत्व बोकेको थियो । किनकि यो निर्वाचनको उद्देश्य अहिलेसम्म खडा हुन नसकेको सुशासनको जग शिलान्यास गरी गोलचक्करमा फसिरहेको अवस्थाको अन्त्य गर्नु हो । यो निर्वाचनले युग परिवर्तन गर्ने सामथ्र्य बोकेको हुँदा निर्वाचनको दिन अरू सामान्य दिनजस्तो होइन । त्यसैले यो निर्वाचन नै सुशासनको पहिलो कदम हुन सक्ने सम्भावना थियो र भयो पनि ।

कुनै पनि कुराको महत्वको गहिराइ हाम्रा बाहिरी दुई आँखाबाट मात्र बुझ्न सकिँदैन । किनकि इन्द्रीयहरूको क्षमता सीमित छ । त्यसमाथि झलक्क देखिने कुरामा लोभिन्छ आँखा । गुलिया आश्वासनमा लुटपुटिन्छ मन । स्वार्थ पूरा गर्न अरूले नमस्कार गर्दै दिएको मानमा बल्झिन्छ बुद्धि । कुराको महत्वको गहिराइ मन र बुद्धिभन्दा पर हुने हुँदा मन र बुद्धिले मात्र बुझ्न सकिँदैन । कुनै पनि कुराको महत्वको गहिराइ बुझ्ने क्षमता ज्ञानचक्षुसँग हुन्छ । ज्ञानचक्षु खोल्न बाहिरी दुई आँखा बन्द गर्नुपर्छ । किनकि ज्ञानचक्षु भनेको शुद्ध चेतना हो । बाहिरी दुई आँखामा पनि चेतना त हुन्छ, तर त्यो विषयभोगको चाहना मिसिएको सामान्य र अशुद्ध चेतना हो । ज्ञानचक्षुले आत्मानुभूति गराउँदै अहंकार मेटाइदिन्छ । बाहिरी आँखाले अहंकारको सेवा गर्छ ।

भागवत गीता पन्ध्रौँ अध्याय दशौँ श्लोकमा भनिएको छ ‘उत्क्रामन्तं स्थितं वापि भुंजानं वा गणान्वितम् । विमुढा नानुपश्यन्ति पश्यन्ति ज्ञानचक्षुष ।।’ अर्थात् विषयभोगमा मस्त रहेको विमुढले आफ्नो असली स्वरूप आत्मालाई चिनेको हुँदैन परन्तु ज्ञानचक्षु भएको पुरुषले त्यो आत्मालाई देखेको हुन्छ भनेर प्रस्ट्याएको छ । हुन पनि ज्ञानचक्षुले शरीरको जीवन अवधिभर आत्माले नै सम्पूर्ण अनुभवहरूलाई प्रकाशित गरेको छ भन्ने ज्ञान दिन्छ । यो ज्ञानले हाम्रो नजर सफा राख्छ । सफा नजरले धर्म, जात, थर, गोत्र, भाषा, क्षेत्र, धनी, गरिब, अल्पसंख्यक, बहुसंख्यक र वादजस्ता भाव उत्पन्न गरेर भावको गुलाम बनाउने कुराबाट जोगाउँदै त्यस्ता कुराको आधारमा भेदभाव गर्दैन, कसैप्रति रागद्वेष राख्दैन, सबैप्रति समभाव राख्दछ । किनकि मनुष्यलगायतका प्राणी र वनस्पतिसमेत आफूलाई देख्दछ (यही कुरालाई वेदान्तले अहंब्रमास्मि भन्दछ) र सत्यको पक्षमा उभ्याउँदै आफ्नो आत्माको मूल स्वभाव आनन्दमा स्थित भएर जीवन बिताउँछ ।

आत्मा नचिनेको कारणले सामान्यजन सदा दु:ख र अशान्तिबाट घेरिएको छ । मन र बुद्धिका आधारमा मात्र चल्ने मानिसले वस्तुलाई देखे पनि त्यसलाई पूर्ण र यथार्थ रूपमा जान्न सक्दैन । व्यक्तिले कुनै साहित्यिक रचना पढ्न सक्ला । तर, रचनाकारको भावनालाई यथार्थ रूपले बुझेर त्यसबाट पूर्ण आनन्द लिन केवल साहित्यको पारखीले मात्र सक्छ । अर्थात् कुराको महत्वको गहिराइ बुझ्न ज्ञान आवश्यक पर्छ, जो ज्ञानचक्षुबाट मिल्छ ।

चैतन्य आत्माको उपस्थितिले मात्र हामी भन्ने विषय, भावना र विचारलाई अनुभव गर्न सक्ने भएकाले आत्मै नचिन्ने व्यक्तिले ती विषय भावना र विचारहरूको गहिराइ बुझ्न सक्ने कुरै भएन । विषयको गहिराइ बुझ्न ज्ञानचक्षु खोल्नैपर्छ । ज्ञानचक्षु आत्मज्ञानले मात्र खोलिन्छ । आत्मा सबै प्राणी, वनस्पति र कणकणमा सदा सर्वत्र छ । तर, आत्मा चिन्ने क्षमता केवल मनुष्यमा छ । आत्मज्ञानतर्फ अध्यात्मले डोराइदिन्छ । अध्यात्म भनेको सेल्फ नलेज अर्थात् स्वयंको अधिकतम अध्ययन हो, जो अन्य प्राणीले गर्न सक्दैनन् । स्वयं भनेको आफ्नै शरीर, मन र बुद्धि हो । अध्ययन गर्ने भनेको समय केमा बितेको छ, इन्टरनेटमा के सर्च गरियो, संगत कस्ता–कस्तासँग छ र बोली–व्यवहार कस्तो छ भन्ने आफ्नो निरीक्षण गर्ने हो । निरीक्षण गर्दा आफ्ना गतिविधि अशान्ति र तनाव उत्पन्न गर्ने खाले भएको थाहा हुन आउँछ । थाहा पाएपछि हरेक मनुष्यको मूल स्वभाव आनन्दले विद्रोह गर्छ । किनकि जानाजान तनावमा रहन मान्दैन स्वभावले । यसैलाई बोध भनिन्छ । बोध त्यो चिज हो जो घटित हुनासाथ शरीर, मन र बुद्धि स्वतस्फूर्त आचरण सुधार्ने कर्ममा जुटिहाल्छन् । बोध नै आत्मा हो । हिजोभन्दा आज र आजभन्दा भोलि जीवनशैली र व्यवहारमा सुधार आई उन्नत बन्दै जान्छ । 

मानवजीवनको लक्ष्य अशुद्ध चेतनालाई शुद्ध बनाउनु हो र हुनुपर्छ । शरीरबाट आउने चेतना अशुद्ध हो किनकि यो चेतनामा म र मेरो भन्ने देहभावका कन्टेन्ट (मान प्रतिष्ठा, धनसम्पत्ति र नातागोता) मिसिएका छन् । त्यही अशुद्ध चेतना नै अहंकार हो । शुद्ध चेतना आत्मा हो जो स्वयंमा पूर्ण छ कुनै कन्टेन्ट मिसिन जरुरत पर्दैन । आत्मा सत्य हो जो अजर, अमर र सर्वत्र छ । आत्माले नै बाल्यकालदेखि मृत्युअघि सम्मका सबै कुराको अनुभव र बोध गराएको हुन्छ । बोध हुने कुरा हो प्राप्त गर्ने विषय होइन । प्रकृति जड हो म प्रकृतिभन्दा भिन्न चेतन हुँ भन्नु अहं हो भने अहंले म पनि प्रकृतिको अंश जडचेतन रहेछु भन्ने बोध गर्नु आत्मा हो । आत्मा कुनै वस्तु वा एकाइ होइन, बोध नै आत्मा हो । अष्टावक्र गीताले बोधो अहं भनेर आत्मालाई दर्साउँछ । वेद र गीतामा ब्रह्म, सत्य, बोध र आत्मा भनी उल्लेख भएका शब्दको अर्थ एउटै हो । अहं आत्मामा प्रतिष्ठित हुनु योग हो । अध्यात्म अति आवश्यक र सरल छ । जीवन जिउने कला हो धर्म तर लोकधर्मीले कर्मकाण्डमा सीमित गरी निस्सार बनाएजस्तै अध्यात्मलाई धन्दा बनाउने स्वार्थीहरूले अध्यात्म जटिल र चमत्कारिक विषय बनाइदिएकाले व्यक्ति, समाज, राष्ट्र र विश्व आध्यात्मिक लाभ लिन वञ्चित रहँदा कुशासन र भ्रष्टाचार यत्रतत्र सर्वत्र बढ्न पुग्यो । 

आत्मा सत्य हो बदलिँदैन भनेर ऋषिहरूले सत्य आत्माप्रति शिर झुकाएर प्रेम गर्न सिकाए । झुक्नु पनि अहं घटाउने सूत्र र उपाय हो । आज अहंले झुक्नु हुँदैन भन्ने संस्कृतिको विकास गरेको छ । भ्रष्टाचारीहरू शिर ठाडो पारेर हिँड्ने ज्ञानी झुकेर हिँड्ने उल्टो अवस्था छ ।

व्यक्तिको आत्मा भएजस्तै देशको पनि आत्मा हुन्छ । देशको आत्मा हो सुशासन । सुशासनको प्रतीक हो निर्वाचन । निर्वाचनबाट निर्वाचित प्रतिनिधिले सुशासनका लागि काम गर्छन् । सुशासनले नै देशलाई शान्त र समृद्ध बनाउँछ । देशको संविधान र कानुनले सुशासनलाई अस्तित्वमा ल्याउँदै प्रवद्र्धन र संरक्षण गर्छ । सुशासनका लागि आवश्यक पर्ने संविधान र कानुन व्यक्तिको शरीरले न देख्न सक्छ न लेख्न । के–कस्ता कानुन आवश्यक पर्छन् भन्ने ज्ञानचक्षुले देख्छ र शरीरका ज्ञानेन्द्रिय र कर्मेन्द्रियलाई लेख्न लगाएपछि मात्रै तर्जुमा हुन्छ कानुन । ज्ञानचक्षु सबैसँग हुन्छ । धेरैले बन्दै राखेर अहंकार प्रदर्शित गरेका हुन्छन् । जसको ज्ञानचक्षु खुलेको छ उसले देश र जनताको हितमा आफूलाई समर्पित गरेको हुन्छ नीति, कार्यक्रम र व्यवहारबाट । नयाँ पुरानो, युवा वृद्ध भन्ने कुराले अर्थ राख्दैन । अर्थ कति ज्ञानी छ भन्नेले राख्दछ । पढाइमा अब्बल र विद्यावारिधि गर्दैमा ज्ञानी भइँदैन केवल धेरै भौतिक कुराको जानकारसम्म हुन सक्छ । विज्ञान तथा प्रविधिको विकास चाहिन्छ, तर ज्ञानको अभावले दुरुपयोग हुन पुग्दछ । 

सुझावित समाचार