एसियन गेम्स फन रन आज

शनिबार, ३० फागुन, २०८२
डिजिटल संस्करण

जापानमा आगामी सेप्टेम्बर–अक्टोबरमा हुने २०औँ एसियाली खेलकुद (एसियाड)को प्रचारप्रसार र खेल भावनालाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल ओलम्पिक कमिटी (एनओसी)ले शनिबार ‘एसियन गेम्स फन रन’ आयोजना गर्दै छ । एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले शनिबार बिहान ७:३० बजे फन रन सुरु हुने बताए । श्रेष्ठका अनुसार फन रन सातदोबाटोस्थित एनओसी भवन परिसरबाट सुरु भई बिएन्डबी अस्पताल गेट, ग्वार्को चोक, प्रभात स्कुल, लुस्सी, कनिबहा चोक, ओकुबहाल, बैना, चक्रबही र हौगल हुँदै पाटन दरबार स्क्वायरस्थित कात्तिक डबली र मंगल बजारमा पुगेर समापन हुनेछ ।

फन रन करिब तीन किलोमिटर दूरीको हुनेछ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)को कार्यक्रमअन्तर्गत आयोजना हुने फन रन एसियाडको खुसियाली मनाउन र खेल भावना, एकता तथा सहभागिताको सन्देश फैलाउन आयोजना गर्न लागिएको श्रेष्ठले बताए । २०औँ एसियाड जापानको आइची र नागोया सहरमा १९ सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म आयोजना हुनेछ । एनओसीले २०औँ एसियाडका लागि नेपालबाट ३२ खेलमा भाग लिने गरी दर्ता गराएको छ । 

चार वर्षमा एकपटक हुने एसियाडमा जापानले ४३ खेलअन्तर्गत ६८ विधाका चार सय ६१ स्पर्धाका लागि ५३ खेलस्थल निर्धारण गरेको छ । जापानले ‘प्याडल’ र ‘टेकबल’ गरी दुई नयाँ खेल थपेको छ । आयोजकले आफ्नो अनुकूल खेल राख्न पाउने प्रावधान छ । एनओसीका सचिव रामकृष्ण श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय आयोजक समिति गठन गरिएको छ । 

सुझावित समाचार