राष्ट्रिय लिग फुटबल : मच्छिन्द्र र चर्च ब्वाइजलाई उछिन्दै एपिएफ शीर्ष स्थानमा

शुक्रबार, २९ फागुन, २०८२
डिजिटल संस्करण
  • १० खेलबाट २४ अंक बटुलेको एपिएफले मच्छिन्द्र र चर्च ब्वाइजलाई पछि पार्दै शीर्ष स्थानमा २ अंकको अग्रता लियो 

सविन गुरुङको एक मात्र गोलको सहयोगमा बिहीबार नेपाल एपिएफ क्लबले विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई १–० ले हराएको छ । जितसँगै एपिएफ लिगको शीर्ष स्थानमा उक्लिएको छ । एपिएफको यो छैटौँ जित हो । लिगमा १० खेल खेलेको एपिएफले २४ अंक जोडेको छ । मच्छिन्द्र फुटबल क्बल र चर्च ब्वाइजले युनाइटेडले समान २२ अंक बनाएका छन् । 

आर्मीको यो दोस्रो हार हो । आर्मीले १० खेलमा २० अंक हात पारेको छ । आर्मी चौथो स्थानमा छ । एपिएफ र आर्मीबिच पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ७५औँ मिनेटमा सविनले गोल गरी एपिएफलई १–० को अग्रता दिलाए । उनले आर्मीको डिबक्समा विपक्षी खेलाडीले बल नियन्त्रण लिन नसक्दा हुलमुलमा गोल गरेका हुन् । यही गोल नै एपिएफका लागि लिगको शीर्ष स्थानमा उक्लिन काफी रह्यो । आर्मीले खेलमा दबाब राखेको थियो । तर, आर्मीले एपिएफको डिफेन्स तोड्न नसक्दा बराबरी गोल फर्काउन सकेन । 

दशरथ रंगशालामा खेलको १९औँ मिनेटमा आर्मीका दिनेश हेन्जनको कर्नरबाट आएको बललाई एपिएफका गोलरक्षक एन्जल श्रेष्ठले क्लियर गरेका थिए । खेलको २२औँ मिनेटमा एपिएफका महेश लामाले पहेँलो कार्ड पाएका थिए । उनी केही समयपछि चोट लागेर मैदानबाट बाहिरिए । 

संकटाले श्री भगवतीलाई हरायो
लिगअन्तर्गत बिहीबार भएको अर्को खेलमा संकटा क्लबले श्री भगवती क्लबमाथि १–० को जित निकालेको छ । संकटाको जितमा मिडफिल्डर कृष्णबहादुर आलेले निर्णायक गोल गरेका थिए । जितसँगै संकटाले १० खेलमा १३ अंक जोड्दै नवौँ स्थान रक्षा गरेको छ । समान खेल खेलेको श्री भगवती ८ अंकका साथ १३औँ स्थानमा छ । संकटाको यो तेस्रो जित हो । श्री भगवतीले लिगमा छैटौँ हार सामना गर्यो । आक्रामक खेलेको संकटाले भगवतीको रक्षात्मक रणनीतिलाई तोड्न निकै मिहिनेत गर्नुपरेको थियो । खेलको १२औँ मिनेटमा संकटाका नीरज कार्कीले डिबक्सभित्रबाट गरेको प्रहार बललाई श्री भगवतीका गोलरक्षक विवश चौधरीले उत्कृष्ट बचाउ गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा श्री भगवतीका सुवास बमले गरेको लामो प्रहार क्रसबार माथि गएको थियो । खेलको ६८औँ मिनेटमा कृष्णबहादुर संकटालाई अग्रता दिलाए । उनकै गोलमा संकटाले बाजी मार्यो । 

अर्को खेलमा चर्च ब्वाइजले सुर्खेतको काँक्रे बिहार क्लबलाई २–१ ले हराएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा चर्च ब्वाइजलाई जित दिलाउन रिचर्ड विल्सनले दुई गोल गरेका थिए । प्रतिस्पर्धामा दुई गोलले पछि रहेको काँक्रे बिहारका लागि सुदेनविक्रम विश्वकर्माले एक गोल फर्काएका थिए । काँक्रे बिहारको यो आठौँ हार हो । उसले लिगमा १ अंक मात्र बटुलेको छ । 

लिगअन्तर्गत शुक्रबार तीन खेल हुनेछन् । पहिलो खेल प्लानिङ ब्वाइज युनाइटेड र चित्लाङ एफसीबिच हुनेछ । दोस्रो खेलमा नेपाल पुलिसले मच्छिन्द्रको सामना गर्नेछ । लालीगुराँस एसोसिएसनले मनाङ मस्र्याङ्दीसँग खेल्नेछ ।

सुझावित समाचार