समानुपातिक सिट बाँडफाँट : रास्वपालाई ५७ सिट, कुन दलले कति पाए ?
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएसँगै सिट बाँडफाँट सार्वजनिक गरेको छ। आयोगले बिहीबार वक्तव्य जारी गर्दै प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम नतिजा यसअघि नै सार्वजनिक भइसकेको जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि सबै मतगणना सम्पन्न भई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० अनुसार सिट बाँडफाँट गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदातामध्ये प्रत्यक्षतर्फ एक करोड ११ लाख ६८ हजार ३२ जनाले मतदान गरेका थिए। त्यसमध्ये एक करोड पाँच लाख ५९ हजार १७ मत अर्थात् ९४.५५ प्रतिशत मत सदर भएको छ।
भोलिदेखि आधा ग्यास भरिएको सिलिन्डर वितरण हुने
भारतबाट आयात हुने ग्यास परिमाण घट्न थालेपछि नेपाल आयल निगमको निर्देशनमा उद्योगीले शुक्रबारदेखि आधा ग्यास भरिएको सिलिन्डर बिक्री गर्ने भएका छन्।
निगम सञ्चालक समितिको निर्णयपछि शुक्रबारबाट बजारमा आधा ग्यास भरिएको सिलिन्डर प्रचलनमा आउन लागेको हो। यसअघि कोभिडकालमा पनि आपूर्ति घट्दा आधा ग्यास भरिएको सिलिन्डर प्रयोगमा ल्याइएको थियो।
भरिएको सिलिन्डरमा १४.२ किलो ग्यास हुन्छ। तर, आधा मात्रै राख्ने भएपछि शुक्रबारदेखि ७.१ किलो ग्यास मात्रै उपभोक्ताले पाउनेछन्। मूल्य पनि आधा अर्थात् ९५५ रुपैयाँ प्रतिसिलिन्डर तिर्नुपर्नेछ। भारतले विश्व बजारबाट आपूर्ति कम भएको कारण देखाउँदै नेपाल निर्यात गर्न परिमाण घटाउन थालेको छ।
आगामी दिनमा पनि सामान्य अवस्थाको तुलनामा नेपाल निर्यात हुने परिमाण थप कटौती गर्ने संकेत गरेकाले ग्यास आपूर्ति सहजताका लागि आधा ग्यास भरिएको सिलिन्डर प्रयोगमा ल्याएको आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए। ‘आपूर्ति सहजताका लागि यो निर्णय गरिएको हो,’ उनले भने।
पेट्रोलमा इथानोल मिसाउनेसम्बन्धी आदेश राजपत्रमा प्रकाशित
सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश २०८२ राजपत्रमा प्रकाशित गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउन पाइने बाटो खुला गरेको हो।
पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गरेर बिक्री गर्न स्वीकृति दिने निर्णय गरेको थियो।
स्वदेशी कच्चा पदार्थमा आधारित भई इथानोल उत्पादन गर्ने उद्योगको प्रवर्द्धन गर्दै स्वदेशमा रोजगारी सिर्जना गर्न र पेट्रोलको आयातलाई न्यूनीकरण गर्न इथानोल मिश्रणसम्बन्धी आदेश जारी गरेको बताइएको छ।
पूर्वमन्त्री डा. पुनमाथि अभद्र व्यवहार गरेकाे आरोपमा एक व्यक्ति पक्राउ
पूर्वमन्त्री डा. महावीर पुनमाथि अभद्र व्यवहार गरेकाे आरोपमा एक व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ।
गत सोमबार पोखरा महानगरपालिका– ९, पृथ्वीचोकमा पुस्तक बिक्री गरिरहेका डा. पुनमाथि अभद्र व्यवहार गर्ने पोखरा– १३, बाँझापाटनका ४३ वर्षीय विकास गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।
गुरुङले यसअघि तीनपटक लागुऔषध मुद्दामा सजाय पाएको खुलेको प्रहरीले जनाएको छ। गुरुङलाई बिहीबार पोखरा– ९, महेन्द्रपुलबाट पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
बैठकमा बोल्दाबोल्दै ढलेका एमाले कास्की इन्चार्ज थापाको निधन
नेकपा (एमाले) कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन भएको छ। २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न कास्की क्षेत्र नम्बर १ ले पार्टीको कास्की जिल्ला कार्यालयमा बिहीबार आयोजना गरेको बैठकमा बोल्दै गर्दा एक्कासि ढलेका थापाको उपचारको क्रममा निधन भएको हो।
बोल्दाबोल्दै ढलेका थापालाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको एमाले कास्कीका सचिव दर्शन लामाले जानकारी दिए। थापाको उपचारमा संलग्न चिकित्सकले हृदयघातका कारण निधन भएको जानकारी दिएका लामाले बताए। बैठकका थापा करिब १० मिनेट बाेलेका थिए। आफ्नो भनाइ राख्ने क्रममै उनी ढलेका लामाले जानकारी दिए।
साढे ४४ लाख जरिवाना र पाँच वर्ष कैद सजाय पाएका व्यक्ति पाँच वर्षपछि पक्राउ
बैंकिङ कसुर मुद्दामा साढे ४४ लाख जरिवाना र पाँच वर्ष कैद सजाय पाएपछि फरार एक व्यक्ति पाँच वर्षपछि पक्राउ परेका छन्।
मोरङ जिल्ला अदालत विराटनगरको फैसलाले पाँच वर्ष कैद र ४४ लाख ६२ हजार आठ सय रुपैयाँ जरिवाना सजाय तोकिएका मोरङ रतुवामाई नगरपालिका– ५ का ४० वर्षीय साजन मियाँलाई इलाका प्रहरी कार्यालय सिजुवाले पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।
एरिना फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त
अखिल नेपाल फुटबल संघ (एन्फा)ले इटालियन गुग्लिएलमो एरिनालाई नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। बिहीबार एरिनालाई एन्फा महासचिव किरण राईले नियुक्तिपत्र दिएका हुन्।
एरिना अघिल्लो साता मात्रै नेपाल आएका थिए। कागजी प्रक्रिया समयमै नहुँदा एन्फाले उनलाई सार्वजनिक गरेको थिएन। म्याट रसले राजीनामा दिएपछि नेपाली टिम प्रशिक्षकविहीन थियो। त्यसपछि हरि खड्काले अन्तरिम प्रशिक्षकको रूपमा काम गरेका थिए।
दशौँ नेपाल फर्मा एक्स्पो– २०२६ आजदेखि भृकुटीमण्डपमा सुरु
दशौँ नेपाल फर्मा एक्स्पो– २०२६ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । नेपालमा उत्पादन भएका औषधिको बजारीकरण गर्न र विश्व बजारमा औषधि उत्पादनका लागि प्रयोग भएका आधुनिक उपकरण, ज्ञान प्रविधिलाई नेपालसँग जोड्न तथा यसको आदान–प्रदान गर्न एक्स्पो आयोजना गरिएको हो। स्वास्थ्यमन्त्री सुधा शर्माले फर्मा एक्स्पोको उद्घाटन गर्दै नेपालमा औषधि उत्पादनमा सरकारले सहयोग गर्ने बताइन्।
बागमतीमा मन्त्रालय आठमा झार्ने प्रस्ताव, ७०१ कर्मचारी दरबन्दी कटौतीको सुझाव
बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाएर आठमा सीमित गर्ने तथा ७०१ कर्मचारी दरबन्दी कटौती गर्ने प्रस्ताव गरिएको छ। प्रदेश प्रशासनिक पुनर्संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिले यस्तो सुझावसहितको प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको हो ।
समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित आठवटा मन्त्रालय मात्रै आवश्यक रहेको औँल्याउँदै प्रशासनिक संरचना पुनर्संरचना गर्न सरकारलाई सुझाव दिएको छ । समितिका संयोजक तथा नेपाल सरकारका पूर्वसचिव विमल वाग्लेले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र उच्चस्तरीय प्रदेश प्रशासनिक पुनर्संरचना निर्देशक समितिका संयोजक तथा कृषिमन्त्री मधुसुदन पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
मुख्यमन्त्री शाहले घुस मागेको आरोपबारे छानबिन गर्न प्रतिपक्षीको माग
सुदूरपश्चिममा प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीले मुख्यमन्त्री कमलबहादुर शाहमाथि लागेको घुस मागेको आरोपबारे छानबिन हुनुपर्ने माग गरेको छ। नेकपा संसदीय दलले बिहीबार धनगढीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा दलका नेता खगराज भट्टले मुख्यमन्त्रीमाथिको आरोपबारे न्यायिक निकायबाट छानबिन हुनुपर्ने माग गरे।