अखिल नेपाल फुटबल संघ (एन्फा)ले इटालियन गुग्लिएलमो एरिनालाई नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। बिहीबार एरिनालाई एन्फा महासचिव किरण राईले नियुक्तिपत्र दिएका हुन्।
एरिना अघिल्लो साता मात्रै नेपाल आएका थिए। कागजी प्रक्रिया समयमै नहुँदा एन्फाले उनलाई सार्वजनिक गरेको थिएन। म्याट रसले राजीनामा दिएपछि नेपाली टिम प्रशिक्षकविहीन थियो। त्यसपछि हरि खड्काले अन्तरिम प्रशिक्षकको रूपमा काम गरेका थिए।
एएफसी प्रो लाइसेन्स प्रशिक्षक एरिनासँग चार महादेशका विभिन्न क्लब अनि राष्ट्रिय टोली सम्हालेको अनुभव छ। उनले पछिल्लोपटक लाओसको सिनियर र युवा राष्ट्रिय टोली सम्हालेका थिए।
एरिनाको नेतृत्वमा नेपालले यही चैत १२ गते हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलका लागि लाओसको भ्रमण गर्नेछ।
प्रशिक्षक एरिनाले एन्फासँग छलफलपछि आफ्नो स्टाफहरू थप्नेछन्।