चुनावका वेला सुनसान बनेको उत्यकामा चहलपहल बढ्न थालेको छ । ट्राफिक प्रहरीहरू पनि नियमित ड्युटीमा फर्किन थालेका छन् । प्रतिनिधिसभा निर्वाचनका कारण निर्वाचन सुरक्षामा खटाइएका सबै ट्राफिक प्रहरी पूर्ववत् अवस्थामै ड्युटीमै फर्किएका हुन् ।
मतदान गर्न बाहिरिएका अघिकांश मानिसहरू उपत्यकामा फर्किइसकेका छन् । निर्वाचनको वेला करिब नौ लाख २० हजार मानिसले उपत्यका छाडेका थिए । उपत्यका बाहिरिएकाहरू फर्किएपछि सडकमा ट्राफिक जाम र भिडभाड बढ्न थालेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार उपत्यकाका तीन जिल्लामा खटिने ट्राफिक प्रहरी संख्या एक हजार ६५० हो । सबै ट्राफिक प्रहरी फर्किसकेको उनले बताए ।
‘सीमित प्रहरीबाहेक सबैलाई निर्वाचनका वेला निर्वाचन सुरक्षामा केन्द्रित गराएका थियौँ, अधिकांश सडकमा निर्वाचन प्रहरीको भरमा ट्राफिक व्यवस्थापन थियो, तर आइतबारदेखि नै सबै ट्राफिकहरू नियमित ड्युटीमा खटिएका छन्,’ उनले भने, ‘उपत्यकाबाट बाहिरिनुभएकाहरू उपत्यकामा भित्रिइसक्नुभएको छ, उपत्यकाका सडकको भिड पुरानै अवस्थामा पुग्न थालेको छ, बाहिरिनेहरूको संख्या कम हुँदै जाँदा भित्रनेहरूको संख्या बढिरहेको छ ।’
अधिकारीका अनुसार मतदान गर्न गएकाहरू चुनावको साँझदेखि नै फर्किनेक्रम बढेको थियो । यसअघि ठुलो संख्यामा यात्रु र सवारीसाधन ओहोरदोहोर गरे पनि सडक दुर्घटना भएन । निर्वाचनको वेला ओहोरदोहोर गरेका यात्रुहरूले यातायातमा कठिन र सास्ती नखेपेको नेपाल राष्ट्रिय यातायात महासंघले जनाएको छ । महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौंलाले चुनाव यात्रा निकै सहज र व्यवस्थित भएकोले दुर्घटनाहरू नभएको बताए ।
‘चुनावको बेला उपत्यका बाहिरिनेको संख्या लाखौं थियो, बाटाघाटो सहज भएकोले पनि त्यस्तो कुनै अप्रिय घटना भएन,’ उनले भने, ‘निर्वाचनको बेला धेरैजसो रिर्जभ गाडि चलेका थिए ।’ उनका अनुसार अन्य समयमा उपत्यकाबाट बाहिरिनेभन्दा भित्रिने यात्रुहरूको संख्या बढी हुन्छ । तर चाडर्वाड र चुनावको बेला बाहिरिने यात्रुहरू बढी हुन्छन् ।
२८ फागुनदेखि बिदाइ हुँदै छन् निर्वाचन प्रहरी
निर्वाचनलक्षित सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई २८ फागुनमा बिदाइ गरिने भएको छ । निर्वाचन सम्पन्न भइसकेकाले उनीहरूलाई बिदाइ गर्न लागिएको हो । सरकारले निर्वाचलक्षित एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गरेको थियो । त्यसमध्ये काठमाडौं मात्रै तीन हजार ८५४ जना, ललितपुरका एक हजार ५९६ जना र भक्तपुरमा एक हजार ९३ जना निर्वाचन प्रहरी खटिएका थिए । निर्वाचन प्रहरी राख्दा उनीहरूलाई दिइने तलब र अन्यमा गरी सात अर्व १३ करोड रुपैयाँ खर्च भएको छ ।
जेन–जी आन्दोलनका वेला उपत्यकाभित्र ४४ स्थानमा ट्राफिक लाइट सञ्चालनमा थिए । तर, त्यसमध्ये नौ स्थानबाहेक सबै ट्राफिक लाइट तोडफोड भयो । जेन–जी आन्दोलनभन्दा पहिले ट्राफिक लाइट जम्मा ६६ स्थानमा राखिएको थियो । तर त्यतिवेला ४४ स्थानका मात्रै सञ्चालनमा थिए । हाल ५१ स्थानका ट्राफिक लाइट सञ्चालनमा ल्याइसकिएको छ । यसले उपत्यकाको ट्राफिक व्यवस्थापनमा सहजता मिलेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीले बताए ।
‘जेनजी आन्दोलनका बेला अधिकांश ट्राफिक लाइट र सिसिक्यामेरा तोडफोड भएका थिए, हाल ५१ ठाउँमा ट्राफिक लाइट बल्छन्, कतिपय मर्मत पनि भइरहेको छ,’ उनले भने, ‘अहिले उपत्यकाका मुख्य सडकआसपासमा २६७ स्थानमा सिसिक्यामेरा छन्, ट्राफिक लाइट र सिसिटिभी सडक सुरक्षाको मुख्य माध्यम हो, प्रविधिमैत्री सडक सुरक्षामा सबैले ध्यान दिनुपर्छ ।’