सुदूरपश्चिममा गाउँभन्दा सहरमा मत बदर धेरै

बिहिबार, २८ फागुन, २०८२
डिजिटल संस्करण
सुदूरपश्चिममा गाउँभन्दा सहरमा मत बदर धेरै

धनगढीस्थित स्वास्थ्य तालिम केन्द्रमा मतगणना गर्दै कर्मचारी । फाइल फोटो

  • विकट हिमाली जिल्ला बाजुरामा प्रत्यक्षतर्फ २.९८ प्रतिशत मत बदर हुँदा कैैलालीको धनगढीमा ५.४८ प्रतिशत बदर 

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा गाउँभन्दा सहरी क्षेत्रमा मत बदर धेरै देखिएको छ । निर्वाचन आयोगका अनुसार सुदूरपश्चिममा प्रत्यक्षतर्फ ५.८४ प्रतिशत र समानुपातिकतर्फ ४.७१ प्रतिशत मत बदर भएको छ । 

विकट हिमाली जिल्ला बाजुरामा प्रत्यक्षतर्फ २.९८ प्रतिशत मत बदर हुँदा प्रदेशको अस्थायी राजधानी र प्रदेशकै प्रमुख व्यापारिक केन्द्र पर्ने कैैलाली ५ मा ५.४८ प्रतिशत मत बदर भएको छ । कैलाली ५ मा धनगढी उपमहानगरपालिकाका १९ वटै वडा र कैलारी गाउँपालिकाका वडा नम्बर ६ र ९ पर्छन् । क्षेत्र नम्बर ५ मा ६५ हजार ७५२ मत खसेकोमा तीन हजार ६०५ मत बदर भएका प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।

कैलाली ५ मा एक लाख १० हजार ६२९ मतदातामध्ये ५९.४८ प्रतिशत मतदानमा सहभागी भएका थिए । प्रदेशको एक मात्र उपमहानगर धनगढीमा सहरी क्षेत्र र सहरी क्षेत्रसँगै जोडिएका बस्ती र ग्रामीण बस्ती छन् । यो क्षेत्रमा समानुपातिकतर्फ ४.२३ प्रतिशत मत बदर भएको छ । समानुपातिकतर्फ ६६ हजार २९५ मत खसेकोमा दुई हजार ८०७ मत बदर भएका निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीले बताए ।

महेन्द्रनगर बजारसमेत पर्ने कञ्चनपुर ३ मा प्रत्यक्षतर्फ सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी ८.०१ प्रतिशत मत बदर भएको छ । एक लाख तीन हजार ८७ मतदाता रहेको यो क्षेत्रमा ५८ हजार २०९ जना मतदानमा सहभागी भएका थिए । त्यसमध्ये चार हजार ६६३ मत बदर भएको छ । क्षेत्र नम्बर ३ मा भीमदत्त नगरपालिका, दोधारा–चाँदनी नगरपालिका र वेदकोट नगरपालिकाको वडा नम्बर ८ सहित सबै नगरपालिकाभित्रकै बस्ती पर्छन् । यहाँ समानुपातिकतर्फ पनि ५८ हजार ५४३ मत खसेकोमा तीन हजार ३९९ मत बदर भएको छ, जुन ५.८१ प्रतिशत हो । 

‘मतदाता शिक्षा नपुगेर सहरी क्षेत्रमै धेरै मत बदर भएको देखियो,’ जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख हरिदत्त जोशीले भने । उनका अनुसार महेन्द्रनगर बजार र बजारसँगै जोडिएका वडामा बदर मत संख्या धेरै छ । बदर मतको प्रकृति हेर्दा एउटै मतपत्रमा तीनवटासम्म छाप हानेको, सही ठाउँमा छाप नहानेको र कतिपय मतपत्रमा ल्याप्चेसमेत लगाएको देखिएको जोशीले बताए ।

कैलाली १ मा प्रत्यक्षतर्फ ७.२१ र समानुपातिकतर्फ ५.४९ प्रतिशत मत बदर भएको छ । यो क्षेत्रअन्तर्गत ठुलो संख्यामा मतदाता रहेको टीकापुर बजार तथा सँगै जोडिएका पालिका पर्छन् । क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ खसेको ५८ हजार ४३३ मतमध्ये चार हजार २१४ मत र समानुपातिकतर्फ खसेको ५९ हजार ३११ मतमध्ये तीन हजार २५८ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

कुन निर्वाचन क्षेत्रमा कति मत बदर ?
सुदूरपश्चिममा प्रत्यक्षतर्फ आठ लाख ७४ हजार मत खसेकामा ५१ हजार ५६ मत बदर भएको छ । त्यस्तै, समानुपातिकतर्फ आठ लाख ८४ हजार १७७ मतमध्ये ४१ हजार ६२४ मत बदर भएको छ । प्रदेशभरि १७ लाख १६ हजार ६६० मतदाता छन् । अछाम १ मा ३१ हजार ६५६ मतमध्ये एक हजार ३०८ (४.१३ प्रतिशत) मत बदर भएको छ । यहाँ नेकपाका भीमबहादुर रावललाई ५२६ मतान्तरले हराउँदै कांग्रेसका भरतकुमार स्वाँर निर्वाचित भए ।

अछाम २ मा ३२ हजार २१२ मतमध्ये ५.१० प्रतिशत (एक हजार ६४३) मत बदर भएको छ । यहाँ एमालेका यज्ञबहादुर बोगटी नौ हजार ५१८ मत पाएर विजयी हुँदा कांग्रेसका पुष्पबहादुर शाह नौ हजार ४६ मत पाएर निकटम प्रतिस्पर्धी बने । बाजुरामा प्रत्यक्षतर्फ खसेको ४५ हजार २५२ मतमध्ये एक हजार ३४६ मत र समानुपातिकतर्फ खसेको ४५ हजार ६६९ मतमध्ये एक हजार दुई सय (२.६३ प्रतिशत) मत बदर भएको छ । 

बझाङमा प्रत्यक्षतर्फ खसेको ५७ हजार ९९४ मतमध्ये तीन हजार १६१ (५.४५ प्रतिशत) मत, डोटीमा खसेको ५२ हजार १४२ मतमध्ये दुई हजार ९७४ (५.७० प्रतिशत) र डडेल्धुरामा खसेको ४५ हजार ५४३ मतमध्ये दुई हजार ४७६ (५.४४ प्रतिशत) मत बदर भएको छ । दार्चुलामा ४९ हजार ९३७ मत खसेकामा दुई हजार ४७ (४.१० प्रतिशत) मत बदर भएको छ । बैतडीमा प्रत्यक्षतर्फ ७२ हजार ८४३ जनाले मतदान गरेकामा पाँच हजार ११३ मत बदर भएको छ, जुन ७.०२ प्रतिशत हो । कैलाली २ मा प्रत्यक्षतर्फ ६.३५ प्रतिशत, ३ मा ५.५५ प्रतिशत र ४ मा ५.९१ प्रतिशत मत बदर भएको छ । यी तीनै क्षेत्रमा पनि सहरी क्षेत्रमा बसोबास गर्ने मतदाता संख्या उल्लेख्य छ । कैलाली २ मा ५६ हजार २०५ मत खसेकामा तीन हजार ५६८ र कैलाली ३ मा ५९ हजार ७५९ मत खसेकामा तीन हजार ३१६ र कैलाली ४ मा ६१ हजार ९४१ मत खसेकामा तीन हजार ६५८ मत बदर भएको निर्वाचन कार्यालयका सूचना अधिकारी चौधरीले बताए ।

कञ्चनपुर १ मा ६० हजार ७८५ मतमध्ये तीन हजार ७३४ (६.१४ प्रतिशत) र २ मा ६५ हजार ३४७ मतमध्ये चार हजार २३० (६.४७ प्रतिशत) मत बदर भएको छ । 
प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले कैलालीमा बदर भएकामध्ये दुईवटा छाप लगाइएको र खाली छोडिएको संख्या धेरै रहेको बताए । ०७९ को निर्वाचनभन्दा यसपालि प्रत्यक्षतर्फ बदर मत ०.८९ प्रतिशतले घटेको उनले बताए । उनका अनुसार मतदाता शिक्षाका लागि प्रदेशभरि ७३४ वटै वडामा प्रतिवडा एकजनाका दरले मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको थियो ।

सुझावित समाचार