शीर्ष स्थानमा उक्लियो मच्छिन्द्र

बुधबार, २७ फागुन, २०८२
डिजिटल संस्करण

मच्छिन्द्र फुटबल क्लब राष्ट्रिय लिगको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा जनजागृति क्लबलाई ४–० ले हराउँदै मच्छिन्द शीर्ष स्थानमा उक्लिएको हो । जितसँगै मच्छिन्द्रले नौ खेलमा २१ अंक बटुलेको छ । समान खेलमा जनजागृतिले लिगमा अंक बटुल्न सकेको छैन । मच्छिन्द्रलाई जित दिलाउन जोनाथन क्यान्टिलानाले ह्याट्रिक गरेका थिए ।

जोनाथनले खेलको दुवै हाफमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । मच्छिन्द्रका लागि थप एक गोल रेजिन सुब्बाको नाममा रह्यो । यसैगरी, मनाङ मस्र्याङ्दीले चित्लाङ एफसीलाई २–० ले हराएको छ । जितसँगै मनाङ १० खेलमा १२ अंक जोड्दै १२औँ स्थानमा उक्लियो । समान खेलमा ७ अंक जोडेको चित्लाङ पुछारबाट चौथो स्थानमा छ । मनाङको यो तेस्रो जित हो । चित्लाङको भने पाँचौँ हार हो ।

समान खेलबाट चित्लाङले नौ खेलबाट ७ अंक बनाएको छ । खेलको २३औँ मिनेटमा गिडियोन नाह क्येरेमेहले पेनाल्टीबाहिरबाट गरेको लामो प्रहारलाई चित्लाङका गोलरक्षक सन्तोष महतले उत्कृष्ट बचाउ गर्दै टोलीको संकट टारेका थिए । खेलको ४९औँ मिनेटमा शौरभ तामाङको गोलमा मनाङले खेलमा १–० को अग्रता लियो । दोस्रो हाफको इन्जुरी समयमा सुमित मल्लले गोल गर्दै मनाङलाई २–० को सहज जित दिलाए । 

विभागीय डर्बीमा आर्मी विजयी 
राष्ट्रिय लिगमा त्रिभुवन आर्मीले विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई ४–१ ले पराजित गरेको छ । आर्मीको जितमा नीराजन धामीले दुई गोल गरेका थिए । २० अंक जोडेको आर्मी तेस्रो स्थानमा उक्लेको छ । पुलिस १२औँ स्थानमा छ । दशरथ रंगशालमा भएको खेलमा आर्मीका लागि पेम्बा शेर्पा र किरण सुनारले एक–एक गोल गरे । पुलिसका लागि दशरथ गिरीले एक गोल फर्काए । आर्मीको यो छैटौँ जित हो । आर्मीले अर्को विभागीय टोली नेपाल एपिएफसँग अंक दूरी १ अंकमा झारेको छ ।

समान खेलबाट एपिएफ २१ अंकसहित दोस्रो स्थानमा छ । गोलअन्तरमा मच्छिन्द्र शीर्ष स्थानमा रहेको हो । पाँचौँ हार सामना गरेको पुलिसले नौ खेलबाट ८ अंक बटुलेको छ । नीराजनले खेलको ३१औँ मिनेटमा आर्मीलाई १–० अग्रता दिलाएका थिए । दशरथ गिरीले ४३औँ मिनेटमा पुलिसलाई १–१ को बराबरीमा ल्याए । दोस्रो हाफमा आर्मीले तीन गोल गर्यो । पेम्बाले ५७औँ मिनेटमा आर्मीलाई २–१ मा पुर्याए । नीराजनले ७०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । किरणले खेलको अन्तिम इन्जुरी टाइममा गोल गरी आर्मीको जित ४–१ ले पक्का पारे । 

सुझावित समाचार