बिहारका मुख्यमन्त्री पदबाट नीतीश कुमारको प्रस्थान एक न एक दिन हुनु नै थियो, कहिले भन्ने मात्र प्रश्न थियो । अन्ततः त्यो मिति पनि आयो । गत बिहीबार ७५ वर्षीय नीतीशले राज्यसभा चुनावका लागि आफ्नो मनोनयन पत्र दर्ता गराएसँगै दुई दशकपछि उनले मुख्यमन्त्री पद त्याग्ने निश्चित भएको छ । यस्तोमा नीतीश कुमारको निकट प्रस्थानले राजनीतिक वृत्तमा धेरैलाई आश्चर्य पारेन । बरु, प्रस्थानको समयले भने कैयौँ छक्क परे । हुन पनि दसौँपटक मुख्यमन्त्रीको शपथ लिएको साढे दुई महिनापछि उनले राज्य सभा सदस्यमा उम्मेदवारी दिए ।
उसो त नीतीशलाई सम्मान गरेर यति लामो समयसम्म उनकै दल ‘जनता दल (संयुक्त)’ जद(यू) र भारतीय जनता पार्टी (भाजपा) धैर्य गरेकै हुन् । तर, यति लामो समय पदमा रहन सक्नुमा उनको राजनीतिक चालबाजीले प्रमुख भूमिका खेल्यो । हुन पनि यस अवधिमा उनले धेरै गठबन्धन बदले । सन् २०२० को चुनावपछि २४३ सदस्यीय बिहार विधानसभामा जद(यू) का केवल ४३ विधायक थिए । तैपनि पाँच वर्षको अवधिमा दुई पटक सत्तासाझेदार बदलेर उनी उनी मुख्यमन्त्री पदमा कायम रहिरहे ।
यस पटक विधानसभामा जद(यू) का ८५ र भाजपाका
८९ विधायक छन् । सत्तासाझेदारबिच लगभग समानजस्तो सिट संख्या भएका वेला नेतृत्व त्याग्न उनलाई केले बाध्य पार्यो ? खासमा पछिल्लो समय नीतीशपछाडि आफ्नै पार्टीको पूर्ण समर्थन थिएन । जद(यू)का कैयाँै शीर्ष नेताले स्वास्थ्यका कारण नीतीश अब शासन गर्न सक्षम नभएको विचार राख्दै आएको देखिन्थ्यो । अब नीतीशको कमजोर स्वास्थ्य गोप्य कुरा रहेन । विशेषतः कमजोर मानसिक स्वास्थ्यका कारण उनले विभिन्न अवसरमा आफ्नै पार्टीका नेता तथा सहकर्मीलाई समेत चिन्न नसकेको घटना बाहिरिरहेका छन् । विभिन्न सार्वजनिक कार्यक्रममा उनले गरेका व्यवहारले उनी अझै मुख्यमन्त्री कायम रहन सक्छन् त भन्ने बहस सुरु भएको थियो ।
थप कमजोरी बाहिरिनबाट जोगाउन उनीनजिकका सहयोगीले लामो समयदेखि उनको सार्वजनिक उपस्थिति नियन्त्रण गर्दै आएका थिए । मिडियासँगको उनको अन्तत्र्रिmया पछिल्लो समय निकै कम छ । सार्वजनिक सभामा उनले लिखित भाषण पढ्न थालेको पनि धेरै भयो । उनका नजिकका सहयोगीले नेतृत्व त्यागेर छोरा निशान्तलाई उत्तराधिकारीका रूपमा अघि बढाउन मनाइरहेको समाचार आइरहेका थिए । नयाँ सरकार र पार्टीमा निशान्तको भूमिकाबारे चर्चा भइरहँदा निकट भविष्यमा बिहारमा भाजपाको पहिलो मुख्यमन्त्री हुने सम्भावना बढेको छ ।
‘अटो पाइलट’को सरकार
खासमा नीतीश कुमारले पहिले नै मुख्यमन्त्री पदबाट राजीनामा दिनुपथ्र्यो । उसो त सन् २००५ देखि २०१० बिचको उनको कार्यकाल उल्लेखनीय थियो । त्यसवेला उनले बिहारको रूपान्तरणका लागि गरेको कामका कारण ‘विकास पुरुष’को उपमा पाएका थिए । तर, पछिको उनको कार्यकाल भने त्यति सम्झनलायक रहेन । खासमा त्यस अवधिमा उनको मुख्य ध्यान जसरी पनि आफ्नो पद जोगाउनमा केन्द्रित भयो । बढ्दो उमेर र स्वास्थ्य समस्याको असर शासनमा पर्नुअघि नै विहारको शासन राजनीतिक नेतृत्वभन्दा कर्मचारीतन्त्रले समहालेको थियो । एक हिसाबमा सरकार ‘अटो पाइलट’स्वचालित रूप)मा चलिरहेको थियो । उसो त बिहारका जनता नीतीश कुमारप्रति धेरै ऋणी छन्, तर अब राज्यलाई नयाँ मुख्यमन्त्रीको आवश्यकता छ, जसले दीर्घकालीन दृष्टिकोण र बिहारका लागि स्पष्ट योजना अघि सार्न सकोस् ।
प्रारम्भमा लगातार दुइटा विधानसभा चुनाव हारेपछि नीतीश कुमारले राजनीति त्यागेर व्यवसाय गर्ने सोच रोखेको बताइन्छ । त्यति वेला उनकी श्रीमतीले आफूले जोगाएर राखेको बीस हजार भारु दिएर अन्तिमपटक चुनाव लड्न प्रेरित गरेको भनिन्छ । सन् १९८५ को त्यस चुनावमा सफलतापछि उनको राजनीतिक करिअरले उडान भर्यो । अहिले चार दशकपछि उनै नीतीश कुमार राजनीतिबाट सन्न्यास लिँदै छन् । नीतीशले छाडेपछि बिहारको राजनीतिमा के होला ? सम्भवतः यो सन् २००३ मा नीतीशको नेतृत्वमा गठन भएको जद(यू)को अन्त्यको सुरुवात हुन सक्छ । नीतीश कुमारका छोरा निशान्तले उपमुख्यमन्त्री वा अरू जुनसुकै भूमिका पाए पनि बुबाको ठाउँ लिन भने सजिलो हुनेछैन । उसो त जद ( यू)सँग अहिले लोकसभामा १२ सिट र राज्यसभामा ८५ सदस्य छन्, तर नीतीश कुमारविना पार्टीले नेतृत्वको ठुलो खाडलको सामना गर्नेछ ।
जद(यू)मा अहिले आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर प्रभाव रहेको कुनै अर्को नेता भेटिँदैनन् । यस्तोमा भोट तान्न सक्ने नेताविना बिस्तारै पार्टीभित्र फुट वा पलायन सुरु हुने सम्भावना बढ्नेछ । भाजपाको नजर पहिलेदेखि नीतीश कुमारको भोट बैंकमाथि भएकाले उनको प्रस्थानले त्यस प्रक्रियालाई तीव्र बनाउन सक्छ ।
विपक्षीका लागि अवसर ?
अर्को सम्भावना, बिहारमा मुख्यमन्त्री बनाउने भाजपाको लामो समयदेखिको सपना पूरा हुन सक्छ । त्यसबाहेक सम्भवतः पार्टीले राज्यमा विस्तार अभियान सुरु गर्नेछ, जसमा पहिलो निसाना नीतीश कुमारको भोटबैंक हुनेछ । बिहारको राजनीतिमा लामो समयतेदखि तीन प्रमुख राजनीतिक दल– भाजपा, जद(यू) र राष्ट्रिय जनता दल (आरजेडी) को प्रभुत्व रहेको छ । यीमध्ये पहिले दुई दल मिलेपछि तेस्रो दलको हार लगभग निश्चित थियो । यद्यपि, भाजपाले अवस्था परिवर्तन गर्ने प्रयास गरिरहेको छ ।
गत वर्षको विधानसभा चुनावअघि केही भाजपा नेता पार्टीको घोषणापत्र तयार गर्न केन्द्रीय गृहमन्त्री अमित शाहसँग भेट गर्न गएका वेलाको कुरा हो । शाहले विहारका नेतालाई आफ्ना चुनावी वाचा ‘महत्वाकांक्षी’ बनाउन आग्रह गरेका थिए । बैठकमा उपस्थित एक नेताले बताएअनुसार शाहले उनीहरूलाई ‘तिमीहरूले सकेकोजति मतदातासँग वाचा गर । केन्द्र सरकारले बिहारको अनुहार परिवर्तन गर्न आवश्यक पर्ने सबै कुरा प्रदान गर्नेछ,’ भनेका थिए । यसले पनि बिहारमा भाजपाको ठुलो विस्तारको योजना बनाएको संकेत गर्छ । अहिलेको सबैभन्दा महŒवपूर्ण प्रश्न भनेको नीतीश कुमारको प्रस्थानले विपक्षीलाई कसरी असर गर्छ भन्ने पनि छ । सिद्धान्तमा, यसले आरजेडीलाई फाइदा पुर्याउनुपथ्र्यो ।
पार्टीले आफ्नो भोटबैंक विस्तार गर्ने आशा गर्न सक्छ, जुन हाल मुख्यतया मुस्लिम र यादवमा सीमित भएको मानिन्छ । उसो त पार्टीले नीतीश कुमारको भोटबैंक मानिने महिला, महादलित, अत्यन्त पिछडिएका वर्ग र कुर्मी समुदायमा पनि प्रभाव पार्ने प्रयास गर्दै छ । तर, आरजेडीका वर्तमान नेता तेजस्वी यादवले अहिलेसम्म आफ्नो पार्टीको सामाजिक आधार विस्तार गर्ने क्षमता वा इच्छाशक्ति प्रदर्शन गर्न सकेका छैनन् । जब,कि छिमेकमा अखिलेश यादवले गत लोकसभा चुनावमा समाजवादी पार्टीका लागि केही हदसम्म त्यस्तो सफलता हासिल गरेका थिए । यस्तो अवस्थाले प्रशान्त किशोरको जनसुरज पार्टीजस्ता नयाँ राजनीतिक खेलाडीका लागि आशा प्रदान गर्न सक्छ । तर, धरातल हेर्ने हो भने यसको सम्भावना पनि कमजोर छ ।
– द प्रिन्टबाट