ठुला नेता ठुलै मतान्तरले पराजित

रास्वपाको जनलहरमा नेकपाका संयोजक प्रचण्डबाहेक गत वर्ष राष्ट्रिय दल बनेका सबै पार्टीका प्रमुख र पदाधिकारीहरू भएनन् अनुमोदित

मंगलबार, २६ फागुन, २०८२
डिजिटल संस्करण

हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेस, एमाले, नेकपा र मधेशकेन्द्रित दलका शीर्ष नेताहरू नै पराजित भएका छन् । ‘हेभिवेट’का रूपमा विगतमा निर्वाचन जित्दै आएका ठुला नेताहरू यसपटक ठुलै मतान्तरले पराजित भए ।संगठन र प्रभावका कारण उनीहरूले विगतमा जित्दै आएका थिए । तर, योपटक रास्वपाका लहरमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबाहेक गत वर्ष राष्ट्रिय दल बनेका सबै पार्टीका प्रमुख पराजित भए, त्यो पनि धेरै मतान्तरले । गत संसदका दुई ठुला दल कांग्रेस र एमालेका निर्वाचन लडेका सबै पदाधिकारी पराजित भए । त्यति मात्र होइन, पुराना पार्टीका अन्य चर्चित नेताहरू पनि पराजित भएका छन् । यसले राजनीतिक वृत्तमा तरंग सिर्जना गरेको छ । 

कांग्रेसले उम्मेदवार बनाएका सबै पदाधिकारी पराजित भएका छन् । सभापति गगन थापासहित आठ पदाधिकारी उम्मेदवार बनेका थिए । निर्वाचनको मुखमा विशेष महाधिवेशन गरेर पदाधिकारी बनेका सबै उम्मेदवार पराजित भएका हुन् । सभापति थापा सर्लाही ४ बाट रास्वपाका अमरेशकुमार सिंहसँग पराजित भए । सिंहले थापालाई झन्डै ११ हजार मतले पराजित गरेका छन् । रास्वपा उम्मेदवार सिंह ३५ हजार ६८८ मत ल्याएर सांसद निर्वाचित हुँदा थापाले २२ हजार ८३१ मत ल्याएका छन् । 

महामन्त्रीहरू प्रदीप पौडेल र गुरुराज घिमिरे पनि पराजित भएका छन् । पौडेल काठमाडौं ५ मा र घिमिरे मोरङ ४ बाट रास्वपाका उम्मेदवारसँग पराजित भएका हुन् । पौडेल रास्वपाका सस्मित पोखरेलसँग साढे २१ हजार मतान्तरले पछि परे । पोखरेल ३० हजार ७३७ मत ल्याउँदा पौडेल ९ हजार १५९ मतमा सीमित भए । पौडेल गत निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । अर्का महामन्त्री घिमिरे रास्वपाका सन्तोष राजवंशीसँग २८ हजार मतले पराजित भएका छन् । राजवंशीले ४० हजार ८३३ मत ल्याउँदा घिमिरेले १२ हजार ८१८ मतमा सीमित भए । 

कांग्रेसका सात सहमहामन्त्रीहरू पनि पराजित भएका छन् । सहमहामन्त्रीहरूमा फरमुल्लाह मन्सुर, उदयशमशेर राणा, प्रकाश रसाइली स्नेही, योगेन्द्र चौधरी र कर्णबहादुर बुढा पराजित भएका हुन् । मन्सुर बारा ३ बाट रास्वपाका अरबिन्द साहसँग पराजित भए । ४० हजार ६९७ मत ल्याएर साह निर्वाचित हुँदा मन्सुरले जम्मा १० हजार ५२ मत मात्रै ल्याए । राणा ललितपुर १ बाट रास्वपाकै बुद्धरत्न महर्जनसँग पराजित भए । महर्जनले २३ हजार ३७३ मत ल्याएर जित्दा राणाले १३ हजार ५२० मत ल्याए । रसाइली एमालेका ऐनबहादुर महरसँग पराजित भए । महरले १८ हजार ५४३ मत ल्याउँदा रसाइलीले १६ हजार ३०४ मत ल्याए । चौधरी दाङ १ बाट रास्वपाकै देवराज पाठकसँग पराजित भए । पाठकले ४२ हजार ६०२ मत ल्याउँदा चौधरी १५ हजार २८० मतमा सीमित भए । 

बुढा डोल्पाबाट आफ्नौ सहोदर भाइ नेकपामा धनबहादुर बुढासँग पराजित भए । धनबहादुरले ६ हजार ८०२ मत ल्याउँदा कर्णबहादुरले २ हजार ९४७ मत ल्याए । कांग्रेसका चर्चित नेताहरू शेखर कोइराला, एनपी साउद, विजय गच्छदार, विमलेन्द्र निधि र मीनेन्द्र रिजाल पनि पराजित भएका छन् । झापा ५ मा एमाले अध्यक्ष केपी ओलीलाई रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले ४९ हजार ६१४ मतले पराजित गरेका छन् । बालेनले ६८ हजार ३४८ मत ल्याउँदा ओली १८ हजार ७३४ मतमा समेटिए । एमाले अध्यक्ष मात्रै होइन, निर्वाचन लडेका तीनैजना उपाध्यक्ष पनि पराजित भएका छन् । रुपन्देही २ बाट उम्मेदवार बनेका उपाध्यक्ष विष्णु पौडेल रास्वपाका सुलभ खरेलसँग भारी मतान्तरले पराजित भए । खरेल ५६ हजार ५५० मत ल्याएर निर्वाचित हुँदा पौडेल १२ हजार ८६१ मतमा रोकिए ।

एमालेका अर्का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लमजुङबाट पराजित भएका छन् । उनी पनि रास्वपाकै धर्मराज केसीसँग पराजित भए । केसीले ३३ हजार ८९८ मत ल्याउँदा गुरुङ १६ हजार ८७६ मतमा खुम्चिए । अर्का उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी २ बाट पराजित भए । उनी भने थोरै मतान्तरले पराजित भए । उनी पनि रास्वपाकै गोविन्द पन्थीसँग पराजित भए । पन्थीले १६ हजार ९६७ मत ल्याउँदा विष्टले १६ हजार ४०६ मत ल्याए ।एमाले महासचिव शंकर पोखरेल दाङ २ बाट रास्वपाकै सहमहामन्त्री विपिन आचार्यसँग भारी मतान्तरले पराजित भए । आचार्यले ४३ हजार ५५९ मत ल्याउँदा पोखरेल १५ हजार २८७ मतमा सीमित भए ।

उपमहासचिवद्वय लेखराज भट्ट र रघुवीर महासेठ दुवै तेस्रो स्थानमा खुम्चिए । भट्टको क्षेत्र कैलाली ४ मा  रास्वपाका खेमराज कोइराला २८ हजार ५५६ मतसहित निर्वाचित भए । दोस्रो स्थानमा कांग्रेसका गोखरबहादुर विष्टले ११ हजार ३०१ मत ल्याए भने भट्टले ९ हजार ४४४ मतमा सीमित भए । महासेठ धनुषा ४ मा तेस्रो हुँदा रास्वपाका राजकिशोर महतोले ४८ हजार २७० मत ल्याएर निर्वाचित भए । दोस्रो स्थानमा आएका कांग्रेसका महेन्द्र यादवले १५ हजार ८०९ मत ल्याए भने महासेठ ११ हजार ५२९ मतमा खुम्चिए ।

सचिव भानुभक्त ढकाल तेह्रथुमबाट पराजित भए । ढकाललाई कांग्रेसका सन्तोष सुब्बाले पराजित गरे । सुब्बाले ११ हजार ५६१ मत ल्याउँदा ढकाल १० हजार ६८२ मतमा रोकिए । अर्का सचिव राजन भट्टराई पनि काठमाडौं ४ बाट पराजित भए । काठमाडौं ४ मा पुकार बम २९ हजार १४२ मत ल्याएर निर्वाचित हुँदा दोस्रो स्थानमा कांग्रेसका सचिन तिमल्सिनाले ८ हजार ८२४ मत ल्याए । भट्टराई भने ५ हजार ७३३ मतमा सीमित भए । 

सचिव महेश बस्नेत भक्तपुर २ बाट रास्वपाका राजीव खत्रीसँग पराजित भए । खत्रीले ४२ हजार ३३४ मत ल्याउँदा बस्नेत १० हजार ९९६ मतमा सीमित भए । अर्का सचिव शेरधन राई भोजपुरबाट पराजित भएका छन् । उनलाई श्रम संस्कृति पार्टीका ध्रुव राईले पराजित गरे । ध्रुवले १६ हजार ६६३ मत ल्याउँदा शेरधन १४ हजार ७५० मतमा सीमित भए ।

पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं ५ बाट रास्वपाकै सस्मित पोखरेलसँग पराजित भए । सस्मित ३० हजार ७३७ मतसहित निर्वाचित हुँदा दोस्रो स्थानमा कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नौ हजार १५९ मत ल्याए । तेस्रो स्थानमा आएका ईश्वर पोखरेल चार हजार ७०१ मतमा रोकिए ।पूर्वउपमहासचिव प्रदीप ज्ञवाली गुल्मी १ बाट रास्वपाकै सागर ढकालसँग पराजित भए । ढकाल २९ हजार ६४२ मतसहित विजयी हुँदा ज्ञवालीले १५ हजार १८१ मत ल्याए । तेस्रो स्थानमा कांग्रेसका चन्द्र भण्डारी १३ हजार ५०५ मतमा रोकिए । झापा २ मा पूर्वसभामुखसमेत रहेका एमालेका देवराज घिमिरेलाई पूर्वउपसभामुख रास्वपाकी इन्दिरा रानामगरले ४८ हजार ७४२ मतान्तरले पराजित गरिन् । ६० हजार ११० मत पाएकी रानामगरले घिमिरेलाई ११ हजार ३६८ मतमै रोकिइन् । 

नेकपाका सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेताहरू नारायणकाजी श्रेष्ठ, भीम रावल, महिन्द्रराय यादव, राजेन्द्र पाण्डे, गिरिराजमणि पोखरेल र शक्ति बस्नेत पराजित भए । रौतहट १ बाट नेपाल रास्वपाका राजेशकुमार चौधरीसँग पराजित भए । नेपालले ७ हजार ६६९ मत ल्याउँदा चौधरी २८ हजार ९४६ मतसहित निर्वाचित भए । सर्लाही ३ बाट श्रेष्ठले १३ हजार ३३८ मत ल्याउँदै रास्वपाका नरेन्द्र साह कलवार ४६ हजार ८९० मतसहित निर्वाचित भए ।

सर्लाही २ बाट यादवले ८ हजार ५२३ मत ल्याउँदा रास्वपाका रविन महतो ४२ हजार ५१२ मतसहित निर्वाचित भए । अछाम १ मा रावलले १० हजार २३३ मत ल्याउँदा कांग्रेसका भरतकुमार स्वार १० हजार ७५९ मतले निर्वाचित भए । धादिङ १ बाट पाण्डेले १४ हजार ७०९ मत ल्याउँदा रास्वपाकी आशिका तामाङ ३९ हजार १२८ मतसहित विजयी भइन् । महोत्तरी १ मा पोखरेलले १२ हजार ६२४ मत ल्याउँदा रास्वपाका प्रमोद महतो ३४ हजार ६३६७ मतसहित विजयी भए । जाजरकोटबाट बस्नेतले १७ हजार ४०७ मत ल्याउँदा कांग्रेसका खड्गबहादुर बुढा २० हजार १४२ मत ल्याएर निर्वाचित भए । 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वअध्यक्ष कमल थापा पनि पराजित भए । झापा ३ बाट लिङ्देनले १७ हजार २९४ मत ल्याउँदा रास्वपाका प्रकाश पाठक ३८ हजार ६७४ मतसहित निर्वाचित भए । काठमाडौं ५ बाट थापाले १ हजार ९२२ मत ल्याउँदा रास्वपामा सस्मित पोखरेल ३० हजार ७३७ मतसहित निर्वाचित भए । 
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष सिके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह पनि पराजित भएका छन् ।

सप्तरी ३ बाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले १५ हजार २३९ मत ल्याउँदा रास्वपाका अमरकान्त चौधरी ३२ हजार ८७५ मतसहित निर्वाचित भए । सर्लाही २ बाट राजेन्द्र महत्तोले ५ हजार ९९२ मत ल्याउँदा रास्वपाका रविन महतो ४२ हजार ५१२ मतसहित विजयी भए । सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतले ९ हजार ८८० मत ल्याउँदा रास्वपाका रामजी यादव २८ हजार ४०४ मतसहित निर्वाचित भए । रौतहट ३ मा प्रभु साहले ९ हजार ८९० मत ल्याउँदा रास्वपाका रवीन्द्र पटेल २७ हजार ३१८ मतसहित निर्वाचित भए ।

सुझावित समाचार