जनप्रतिनिधिबाट राजीनामा दिएर संघीय सांसद बन्न दौडेका कोशीका आठमध्ये साम्पाङ मात्र सफल

सोमबार, २५ फागुन, २०८२
डिजिटल संस्करण

स्थानीय तह वा प्रदेशको जिम्मेवारी छाडेर संघीय संसद् पुग्ने लक्ष्यसहित प्रतिनिधिसभा निर्वाचनमा होमिएका कोशी प्रदेशका अधिकांश जनप्रतिनिधिले हार व्यहोर्नुपरेको छ । पदमै रहँदा लोकप्रियता देखाएका धेरै नेता संघीय निर्वाचनमा भने अपेक्षित समर्थन जुटाउन असफल हुँदा पराजित भए ।

स्थानीय तहका वडाध्यक्ष, प्रमुख तथा उपप्रमुखसहित एक प्रदेश सभा सदस्यसहित आठजना पद त्यागेर संघीय सांसद बन्न निर्वाचनमा होमिएका थिए । जसमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) बाहेक सबै पराजित भएका छन् । दुईजना उम्मेदवारले अत्यन्तै कम मत ल्याउँदै जमानतसमेत जोगाउन सकेनन् भने केहीले प्रतिस्पर्धात्मक मत पाए पनि अन्तत: विजय हात पार्न सकेनन् ।

धरान उपमहानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टी खोलेर सुनसरी १ बाट उम्मेदवारी दिएका साम्पाङले जित निकालेका छन् । निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनले ३५ हजार ७४१ मत प्राप्त गर्दै विजय हासिल गरेका छन् । धरान नगरपालिका– १७ का वडाध्यक्ष पद त्यागेर नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिएका सूर्यबहादुर भट्टराई ६ हजार १८५ मत मात्र प्राप्त गर्दै चौथो स्थानमा सीमित भए । उनी पनि हर्कसँगै भिडेका थिए ।

मोरङको रंगेली नगरपालिकाको प्रमुख पद छाडेर एमालेबाट प्रतिनिधिसभा चुनाव लडेका दिलीपकुमार अग्रवालले भने प्रतिस्पर्धात्मक मत पाए पनि जित निकाल्न सकेनन् । मोरङ २ बाट एमालेका उम्मेदवार बनेका उनले १५ हजार ६२४ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेर चित्त बुझाएका छन् । उक्त क्षेत्रमा रास्वपाका उम्मेदवार कृष्णकुमार कार्की ४० हजार ९२४ मत ल्याउँदै विजयी भए ।

इलामको सूर्योदय नगरपालिकाका प्रमुख पद त्यागेर प्रतिनिधिसभा चुनावमा होमिएका रणबहादुर राई पनि सफल हुन सकेनन् । इलाम १ बाट नेकपाका उम्मेदवार बनेका उनी हालसम्मको मतगणनाअनुसार पाँचौँ स्थानमा छन् । उनको जित अनिश्चित बनेको छ । 

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष पद त्यागेर चुनाव लडेका असीम राई पनि पराजित भएका छन् । सोलुखुम्बुमा कांग्रेसका प्रकाशसिंह कार्कीले १३ हजार १६६ मत ल्याउँदै जित हासिल गरेका छन् । असीम राई नौ हजार ४१४ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित भएका छन् । उनी नेकपाबाट लडेका थिए । ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापा पनि प्रतिनिधिसभा निर्वाचनमा सफल हुन सकिनन् । एमालेबाट उम्मेदवारी दिएकी उनले चौथो स्थान मात्र हासिल गरिन् ।

जमानत जफत भएका सिटौला र राई
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष पद छोडेर स्वतन्त्र उम्मेदवार बनेका मेजर राईले अत्यन्तै न्यून मत प्राप्त गरेका छन् । उदयपुर २ बाट उम्मेदवारी दिएका उनले जम्मा ९० मत पाएर जमानतसमेत जोगाउन सकेनन् । आफ्नै गाउँबाट उनले २० भोट पाए । उदयपुर २ मा रास्वपाका उम्मेदवार सूर्यबहादुर तामाङले १४ हजार ८०२ मत ल्याउँदै विजय हासिल गरे । कोशी प्रदेश सभा सदस्य पद त्यागेर झापा ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौला दुई हजार ८० मत ल्याउँदै पाँचौँ स्थानमा सीमित भए । उनको जमानतसमेत जोगिएन । उक्त क्षेत्रमा रास्वपाका उम्मेदवार शम्भुप्रसाद ढकालले ४३ हजार ६३१ मत ल्याउँदै सहज जित हात पारेका थिए । 
 

सुझावित समाचार