- बोरिकले गल्ती भएको अवस्थामा मार्ग परिवर्तन गर्ने इच्छाशक्ति देखाए, जुन अघिल्लो पुस्ताका वामपन्थी नेताहरूमा प्राय: देखिँदैनथ्यो
दक्षिण अमेरिकी देशहरूमा भएको पछिल्ला राष्ट्रपति चुनावहरूमा दक्षिणपन्थी शक्तिले एकपछि अर्को जित हासिल गरेको देखिन्छ । अझ यस भेगका केही दक्षिणपन्थी अनुहार तुलनात्मक रूपमा निकै युवा छन्, जसमा साल्भाडोरका राष्ट्रपति नयिब बुकेले र इक्वेडरका राष्ट्रपति डेनियल नोबोआ पनि समावेश छन् । तथापि, चिलीका निवर्तमान युवा राष्ट्रपति गेब्रियल बोरिक तीभन्दा फरक वामपन्थी धारमा उभिएर पनि सफल रहे । बोरिकले आफ्नो देशमा नवउदारवादको ‘चिहान’ खन्ने वाचासाथ चुनावी अभियान सुरु गरेका थिए । सोही सफल अभियानमार्फत सन् २०२२ मा ३६ वर्षको उमेरमा उनले पदभार ग्रहण गरे । र, बुधबार बोरिक नवनिर्वाचित दक्षिणपन्थी उत्तराधिकारीलाई सत्ता हस्तान्तरण गरेर बिदा हुँदै छन् ।
सन् २०१९ मा उठेको विशाल सरकारविरोधी प्रदर्शनपछि बोरिक धेरैको नजरमा परेका थिए । त्यसपछि निरन्तर राजनीतिक कद बढाउँदै उनले आफूलाई राष्ट्रपतिका उम्मेदवार बन्ने हैसियत बनाए । राष्ट्रपति पदका लागि चुनावी अभियानका क्रममा बोरिकले सो पदमा रहँदा चिलीको तानाशाही युगमा बनेको संविधान पुनर्लेखन गर्ने महŒवाकांक्षी परियोजनालाई यथार्थमा बदल्ने वाचा गरेका थिए । सो वाचाअनुरूप दुईवटा संविधानसभा बने तैपनि नयाँ संविधान लेखिएन । पुरानो संविधान उल्ट्याउने प्रयास असफल भए पनि बोरिकको शासनकालले ल्याटिन अमेरिकी वामपन्थीका लागि नयाँ मानक तय गर्यो, जुन उनको कार्यकालपछि पनि प्रतिध्वनित भइरहन सक्छ । ‘बोरिकले अधिनायकवादी वामपन्थी र प्रजातान्त्रिक वामपन्थीबिच भिन्नता रहेको सबैलाई बुझाए,’ अर्जेन्टिनाका राजनीतिक वैज्ञानिक एन्ड्रेस मालामुडले भने । यस्तो भिन्नता जनाउन उनले बोरिकको शासनलाई भेनेजुएलाको शासनसँग तुलना गरे ।
सन् १९८० र १९९० को दशकमा ल्याटिन अमेरिकामा वामपन्थीले मानव अधिकारलाई मूल नारा बनाएका थिए । तर, हालैका वर्षमा, धेरै वामपन्थीले क्युवा, निकारागुआ र भेनेजुयलाका वामपन्थी सरकारलगायत विश्वका अन्य भागमा वामपन्थीले लिएको अधिनायकवादी बाटोको आलोचना गर्न अस्वीकार गरेका थिए । यस सन्दर्भमा, युक्रेनमा रुसी आक्रमण र भेनेजुएलामा भइरहेका मानवअधिकार उल्लंघनको निन्दा गरेर बोरिकले आफूलाई अरूभन्दा फरक देखाए । एकपटक ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले बोरिकलाई यस्ता टिप्पणीका लागि आलोचना गर्दै उनलाई अन्तर्राष्ट्रिय कूटनीतिमा अनुभवहीन ‘अल्लारे केटा’ भनेका थिए । यसका बाबजुद भेनेजुएलामा बोरिकको अडानले क्षेत्रीय प्रगतिशीलमाझ उनी प्रशंसित पात्र बने ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोप्रति पुराना वामपन्थी नेताको नरमपनले अलमल्लमा परेका प्रगतिशीलहरूले बोरिकमार्फत फरक बल पाए । मदुरो यस भेगमा यति अलोकप्रिय थिए, एक मतसर्वेक्षणमा ६० प्रतिशत ल्याटिन अमेरिकीले मदुरोलाई जनवरीमा अमेरिकाले अपहरण गरेकामा खुसी व्यक्त गरेका थिए । (लुला पनि पछि मदुरोको आलोचना गर्न थालेका थिए ।)
मानव अधिकारप्रतिको बलियो अडानका अतिरिक्त बोरिकले गल्ती भएमा मार्ग परिवर्तन गर्ने इच्छाशक्ति देखाए, जुन अघिल्लो पुस्ताका वामपन्थीमा देखिँदैनथ्यो । बोरिकले गरेका दुवै संवैधान पुनर्लेखन प्रयास राजनीतिक ध्रुवीकरणले असफल भयो । ती असफलता पछि, उनले आफ्नो मन्त्रिपरिषद्मा थप मझधारका सदस्य समावेश गरे । त्यसपछि उनले देशमा सुरक्षा र सीमा नियन्त्रणसम्बन्धी थप आक्रामक नीति अपनाए, जुन उनले सुरुवाती चरणमा विरोध गर्थे । यी सुधारका कारण कार्यकालको अन्त्यसम्ममा चिलीमा हत्या र अनियमित बसाइँसराइ दुवै घट्दै गयो ।
‘चिलीको वामपन्थी समूह युवा छ । र, यो आफ्नै गल्तीबाट सिक्न इच्छुक छ,’ चिलीका टिप्पणीकार प्याट्रिसियो फर्नान्डेजले भने, ‘निश्चित रूपमा बोरिकको सरकारले असाधारण काम गरेको भन्ने दाबी गरेको होइन । तर, उथलपुलथको समयमा पनि यसले देशलाई स्थिर राख्न सक्षम भयो ।’
विदेश नीतिमा, बोरिकले केही प्राथमिकतामा निरन्तरता दिए भने केही परिवर्तन अवलम्बन गर्ने । उनले आफ्ना पूर्ववर्तीभन्दा बढी नारीवाद र ऊर्जा संक्रमणमा जोड दिएको चिलीका विदेश मन्त्रालयका वरिष्ठ अधिकारी एन्ड्रेस भिलारले भने । बोरिक प्रशासनले देशको लिथियम क्षेत्रका लागि औद्योगिक नीति पनि सुरु गर्यो । साथै, उनको सरकार ‘हाई सी सन्धि’ अनुमोदन गर्ने दोस्रो देश बन्यो ।
बोरिकको विरासत आंशिक रूपमा उनका उत्तराधिकारी जोसे एन्टोनियो कास्टको कार्यकालमा पनि निर्भर हुने अर्जेन्टिनी राजनीति वैज्ञानिक मालामुडले तर्क गरे । ‘यदि कास्टको सरकारले धेरै राम्रो काम गर्यो भने मानिसले बोरिकलाई ‘आलोकाँचो युवा’ नेताका रूपमा सम्झिनेछन् । तर, कास्टको शासनकाल खराब रह्यो भने बोरिकको शासनकाललाई मिठो सम्झनासाथ स्मरण गरिनेछ,’ मालामुडले भने ।
केही मानिसले बोरिकलाई न्युयोर्क सहरका मेयर जोहरान ममदानीसँग तुलना गरे पनि मालामुडले उनलाई अर्कै अमेरिकी राजनीतिज्ञ पूर्वराष्ट्रपति जिमी कार्टरसँग तुलना गरे । ‘कार्टर पुन: निर्वाचित हुन सकेनन् । तर, अहिले मानिसले उनलाई अमेरिकाको निकट इतिहासको उत्कृष्ट पूर्वराष्ट्रपति मान्छन् । निर्वाचनपछि कार्टर चुनाव अवलोकन कार्यमा सहभागी भए । धेरै युद्धको मध्यस्थता गरे । बोरिकले पनि यस्तै भूमिका खेल्न सक्छन् । अहिले युद्धको बादल मडारिरहेको समयमा यो भूमिका निकै उपयोगी पनि हुनेछ ।’
(ओसबोर्न फरेन पोलिसीका लागि लेख्छिन्)
फरेन पोलिसीबाट