भारत तेस्रोपटक टी–२० विश्वकप च्याम्पियन

२५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभरमा १५९ रनमा समेटिँदा भारत ९६ रनको फराकिलो अन्तरले विजयी

सोमबार, २५ फागुन, २०८२
डिजिटल संस्करण

भारतले तेस्रोपटक आइसिसी टी–२० विश्वकप क्रिकेट उपाधि जितेको छ । १०औँ संस्करणको आइतबार अहदमाबाद रंगशालामा भएको फाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ९६ रनको फराकिलो अन्तरले पराजित गर्दै ट्रफी हात पारेको हो । तीनपटक विश्वकप ट्रफी जित्ने भारत पहिलो राष्ट्र बनेको छ । यसअघि भारत, इंग्ल्यान्ड र वेस्ट इन्डिज समान दुईपटक विश्वविजेता बनेका थिए । भारतले चारमध्ये तीन फाइनल आफ्नो नाममा लेखाउँदै उपाधि हात पारेको हो । सन् २०१६ को विश्वकप फाइनलमा मात्र भारत श्रीलंकासँग पराजित भएको थियो । टी–२० विश्वकप उपाधि रक्षा गर्ने भारत पहिलो राष्ट्र बनेको छ । घरेलु मैदानमा पहिलो ब्याटिङ गरेको भारतले २० ओभरमा पाँच विकेट गुमाएर २५५ रनको विशाल योगफल खडा गरेको थियो । भारत कीर्तिमानी रूपमा एकै विश्वकपमा लगातार तीन खेलमा २५० रनको योगफल कटाउन सफल भयो ।

यसअघि सुपर ८ को समूह ‘१’ मा जिम्बावे र सेमिफाइनलमा इंग्ल्यान्डविरुद्धको प्रतिस्पर्धामा भारतले २५० रनभन्दा माथिको योगफल बनाएको हो । टी–२० विश्वकप फाइनलमा पहिलो ब्याटिङ गरेको टोलीले २५० रनमाथिको योगफल खडा गरेको थियो । कीर्तिमानी रूपमा २५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभरमा सबै विकेट गुमाएर १५९ रनमा समेटियो । लक्ष्य रक्षा गरेको इनिङ्समा जसप्रीत बुमराहले धारिलो प्रदर्शन गरे । उनले चार ओभरको बलिङमा १५ रन मात्र खर्चेर चार विकेट हात पारे । यसैगरी अक्षर पटेलले तीन ओभरमा २७ रन दिएर तीन विकेट लिए । हार्दिक पान्ड्या, वरुण चक्रबर्थी र अभिषेक शर्माले समान एक विकेट लिए । 

टिम र मिचेल मात्र टिके
न्युजिल्यान्डको ब्याटिङमा दुई ब्याट्सम्यानले मात्र भारतविरुद्ध डटेर ब्याटिङ गरेका थिए । ओपनर टिम सेफर्टले २६ बलमा पाँच छक्का र दुई चौका प्रहार गरी सर्वाधिक ५२ रनको योगदान दिए । कप्तान मिचेल साटनरले ३५ बल खेलेर दुई छक्का र तीन चौकाको सहयोगमा ४३ रन जोडेका थिए । इनिङ्सको ८.१ ओभरमा सेफर्टले विकेट गुमाएका थिए । उनी आउट हुँदा न्युजिल्यान्डले ७२/५ को प्रदर्शन गरेको थियो । भारतले भने आवश्यक परेका वेला विकेट लिँदै न्युजिल्यान्डमाथि दबाब बनाएको थियो । कप्तान मिचेलले १७.३ ओभरमा आफ्नो विकेट गुमाउँदा न्युजिल्यान्ड फराकिलो हारतर्फ उन्मुख भयो ।

तीन ब्याट्सम्यानका अर्धशतक
ब्याटिङ पिचमा भारतका ब्याट्सम्यान आक्रामक रूपमा प्रस्तुत भए । ओपनर सन्जु सामसन र अभिषेक शर्माले पहिलो विकेटका लागि ७.१ ओभरमा ९८ रनको साझेदारी गर्दै भारतलाई सानदार सुरुवात दिलाए । दुवैले पावर प्लेमा कीर्तिमानी रूपमा ९२ रन जोडेका थिए । अर्धशतकीय इनिङ खेलेलगत्तै ओपनर अभिषेकले आफ्नो विकेट गुमाए । उनले २१ बलमा ५१ रन जोड्न तीन छक्का र ६ चौका प्रहार गरेका थिए । अभिषेकले केवल १८ बलमा ५० रन बनाए । १०औँ विश्वकपमा कम बलमा अर्धशतक लगाउने उनी अगाडि रहे । 

सन्जुले ईशान किसनसँग दोस्रो विकेटक लागि १०५ रनको साझेदारी गर्दै भारतलाई १५.१ ओभरमा २०३/२ को बलियो अवस्थामा पुर्‍याए । भारतले इनिङ्सको १५औँ ओभरमा तीन विकेट गुमाउँदा न्युजिल्यान्डले खेलमा फर्किने प्रयास गरेको थियो । जेम्स निसिमले भारतका मुख्य ब्याट्सम्यान सन्जु, ईशान र सूर्यकुमार यादवको विकेट लिँदा भारत एकैपटक २०३/२ बाट २०४/५ को अवस्थामा पुगेको थियो । सन्जु पुन: एकपटक शतकीय इनिङ्स खेल्न चुके । उनले ४६ बलमा आठ छक्का र पाँच चौकाको सहयोगमा ८९ रन जोडे । ईशानले २५ बलमा समान चार चौका र छक्का प्रहार गरी ५४ रन जोडे । त्यसपछि शिवम दुबेले आठ बलमा तीन चौका र दुई छक्का प्रहार गरी २६ रन जोडे । न्युजिल्यान्डका लागि निसिमले ४६ रन खर्चेर तीन विकेट हात पारे ।

सामसन म्यान अफ दी सिरिज र बुमराह म्यान अफ दी म्याच
१०औँ टी–२० विश्वकपमा तेस्रोपटक विश्व च्याम्पियन बनेको भारतका खेलाडी नै उत्कृष्ट खेलाडी बनेका छन् । लगातार तीन खेलमा भारतको जितमा प्रमुख निर्वाह गरेका ओपनर सन्जु सामसन म्यान अफ दी सिरिज भएका छन् । उनले पाँच खेलमा पाँचैपटक ब्याटिङ गरी ३२१ रन जोडेका थिए । सामसनले जिम्बावेसँगको सुपर ८, इंग्ल्यान्डविरुद्ध सेमिफाइनल तथा न्युजिल्यान्डसँगको उपाधि भिडन्तमा अर्धशकीय योगदान दिएका थिए । विकेटकिपिङका क्रममा उनले तीन क्याच लिएका छन् । 

यसैगरी, मुख्य बलर जसप्रीत बुमराह फाइनलका म्यान अफ दी म्याच बनेका छन् । उनले १५ रन खर्चेर चार विकेट हात पारेका थिए । इकोनोमी रनरेटमा बुमराहले भारतकै वरुण चक्रबर्थीलाई पछि पार्दै सर्वाधिक विकेट लिने सूचीको शीर्ष स्थानमाथि कब्जा जमाए । बुमराह र वरुणले समान १४ विकेट लिएका छन् । 

सुझावित समाचार