पूर्वबाट उदायो हर्क साम्पाङको श्रम संस्कृति

सोमबार, २५ फागुन, २०८२
डिजिटल संस्करण

रास्वपामा उर्लिएको जनउभारले देशभर पुराना दलका ‘किल्ला’ भत्काउँदा चार महिनाअघि मात्रै जन्मिएको हर्क साम्पाङको श्रम संस्कृति पार्टी भने पूर्वबाट उदाएको छ । धरान उपमहानगरपालिकाका निवर्तमान मेयर साम्पाङ नेतृत्वको दलले कोशी प्रदेशका २८ मध्ये तीन सिटमा जित निकालेको हो । 

कोशीमा रास्वपाले १६ सिट जित्दा कांग्रेस, एमाले र श्रम संस्कृतिले तीन–तीन सिट आफ्नो पक्षमा पारेका छन् । साम्पाङ आफैँ सुनसरी १ बाट निर्वाचित भएका छन् भने भोजपुरमा धु्रवराज राई र खोटाङमा आरेन राई विजयी भएका हुन् । तीन क्षेत्रमा मतगणना जारी छ । तर, मतको ट्रेन्ड हेर्दा यी क्षेत्रमा श्रम संस्कृति जितको दाबेदार प्रतिस्पर्धामा भने देखिँदैन ।

समानुपातिकमा २८ लाख ५० हजार मतगणना हुँदा एक लाख ५५ हजार मत पाएको श्रम संस्कृति थ्रेस होल्ड कटाएर राष्ट्रिय दल बन्ने सम्भावना पनि बलियो छ । तीन प्रतिशत थ्रेस होल्ड कटाउँदा उसले समानुपातिकमा कम्तीमा तीन सिट पाउँछ । 

श्रम संस्कृतिले रास्वपाको सुनामीअगाडि जित निकाल्दा ०७९ को चुनावमै मधेशबाट उदाएको सिके राउत नेतृत्वको जनमत र पश्चिम तराईको शक्ति बनेको रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति भने निल भएका छन् । रेशमपत्नी रन्जिताले नागरिक उन्मुक्तिलाई नेकपासँग विलय गराए पनि रेशमले नयाँ दल नागरिक उन्मुक्ति नेपाल खोलेका थिए । तर, पश्चिम तराईका जिल्लामा रास्वपाले क्लिन स्विप गर्दा केही जोर चलेन । 

यो अवस्थामा श्रम संस्कृति उदाउनुलाई पूर्वमा पहिचानवादी आन्दोलनको प्रभाव रहेको देखिएको झापाका युवा विश्लेषक सागर सिवाकोटीले बताए । बालेनको पक्षमा आएको आँधीहुरीले मधेशमा पकड बनाएका मधेशवादी दलसहित अन्य साना पार्टी बढारिँदा पनि श्रम संस्कृति भने विकल्प खोजिरहेका पहिचानवादीको मतसहितले उदय भएको उनको विश्लेषण छ । ‘कोशी नामांकनसम्म चलेको पूर्वको पहिचानको आन्दोलन र आन्दोलन पक्षधरहरूले हर्क साम्पाङमा नेतृत्वको फेस देखेको कारण उनको स्वीकार्यता यो तहमा पुगेको हो । यदि उनको बोलीमा केही नियन्त्रण भएको भए स्वीकार्यताको दायरा अझै फराकिलो हुन सक्थ्यो । पहिचानवादीले हर्कलाई लिडिङ फेसको रूपमा हेरे । त्यसकारण यतिको मत आयो,’ उनी भन्छन्, ‘पूर्वमा पहिचानवादी आन्दोलनमा लागेकाले स्विकार गर्दा नेटवर्क विस्तार गर्दै पार्टीलाई यो अवस्थामा ल्याउन सहज भयो ।’ 

पार्टी खोलेको चार महिनामै तीन सिट जित्नु सकारात्मक भएको श्रम संस्कृति पार्टीका सहमहासचिव समीर तामाङले बताए । पार्टीले कोशी प्रदेशभित्र पकड जमाएको र अब संसद्मा प्रतिपक्षीको भूमिका निर्वाह गर्दै देशभर पार्टी निर्माणमा लाग्ने उनले बताए । ‘रास्वपाको ह्विम आएको वेलामा यतिको उदय हुनु हाम्रा लागि सकारात्मक पक्ष हो । श्रम संस्कृति पार्टी भुइँ फाटेर निस्किएको छ । मुख्य गरी कोशी प्रदेशमा प्रभाव देखिएको छ । छोटो समयमा यतिको प्रभावले हामी सन्तुष्ट छौँ । हामीले पार्टी संगठन बनाउन नपाई चुनावमा जानुपर्यो । केन्द्रीय समितिले पनि पूर्णता पाएको छैन । कोशी प्रदेशमा चाहिँ श्रमदान अभियान पहिलाबाट नै सञ्चालन भएकाले पकड राम्रो रह्यो,’ उनले भने, ‘हामीलाई जनताले संसद्मा पहरेदारको रूपमा पठाएका छन् । राम्रा काममा सरकारलाई समर्थन र नराम्रा काममा खबरदारी गर्दै अघि बढ्छौँ । धर्म र वर्गभन्दा माथि उठेर पार्टी निर्माण गरेर काम गर्छौँ । श्रमदान अभियान अब दार्चुलामा तुइन हटाएर सुरु गर्छौँ ।’

सुझावित समाचार