कम्युनिस्ट ‘किल्ला’ भत्काउने कान्छा सांसद : को हुन् प्रशान्त उप्रेती ?

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रशान्त उप्रेती विजयी भएसँगै जिल्लाको राजनीतिमा नयाँ पुस्ताको उदय भएको छ । २५ वर्षीय उप्रेती सम्भवतः प्रतिनिधिसभामा प्रवेश गर्ने सबैभन्दा कान्छा सांसदमध्ये एक बनेका छन् । मकवानपुरको मनहरी गाउँपालिका– ७ का उप्रेतीले ३१ हजार ७२५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का महेश बर्तौलाले १९ हजार ६२४ मत प्राप्त गरेका छन्। उप्रेतीले बर्तौलाभन्दा १२ हजार १०१ मतान्तरले जित निकालेका हुन् ।

उप्रेतीका लागि यो पहिलो संसदीय यात्रा हो । पहिलो प्रयासमै उनले लामो समयदेखि वामपन्थी दलहरूको प्रभाव रहेको क्षेत्रमा विजय हासिल गरेका छन् । मकवानपुर २ लाई ०४८ सालयता वामपन्थी दलहरूको ‘किल्ला’ मानिँदै आएको थियो । प्रतिनिधिसभा तथा संविधानसभा निर्वाचनहरूमा पनि यस क्षेत्रबाट वामपन्थी उम्मेदवारहरू नै विजयी हुँदै आएका थिए ।

०५७ साल जेठ १० गते जन्मेका उप्रेती हाल काठमाडौं विश्वविद्यालयको शिक्षा संकायमा नेतृत्व तथा व्यवस्थापन विषयमा शिक्षाशास्त्र (एमडी) अध्ययनरत छन् । यसअघि उनले नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्टबाट ब्याचलर अफ ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट (बिटिटिएम) उत्तीर्ण गरेका थिए ।उप्रेतीले सन् २०१८ मा ग्लोबल कलेज अफ म्यानेजमेन्ट, काठमाडौंबाट व्यवस्थापन विषयमा दश जोड दुई पूरा गरेका हुन्। उनले माध्यमिक तहको अध्ययन भने मकवानपुरको युनाइटेड सेकेन्डरी इंग्लिस बोर्डिङ स्कुलबाट सन् २०१६ मा पूरा गरेका थिए ।

राजनीतिक रूपमा भने उनी काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहको सचिवालयमा काम गर्दै आएका थिए । सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई मकवानपुर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको थियो। टिकट पाएपछि उनी माघ ४ गते मनहरी फर्किएका थिए। छोरा प्रशान्तले रास्वपाबाट उम्मेदवारी पाएपछि उनका पिता रामचन्द्र उप्रेतीले लामो समयको एमाले आबद्धता परित्याग गरेका थिए ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उप्रेतीले आफ्नो क्षेत्रमा रहेको गरिबी र पछौटेपन अन्त्य गर्न सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  ‘निर्वाचनका क्रममा मतदातासमक्ष गरेका प्रतिबद्धता पूरा गर्न म निरन्तर लागिरहनेछु,’ उनले संक्षिप्त प्रतिक्रिया दिएका छन्। मकवानपुर २ मा यसपटक २२ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। कुल ९१ हजार २४१ मत खसेको यस क्षेत्रमा उप्रेतीले पहिलो प्रयासमै विजय हासिल गर्दै नयाँ राजनीतिक सन्देश दिएका छन् ।

सुझावित समाचार