६ ब्याट्सम्यानका शतकीय इनिङ्स

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

आइसिसी पुरुष टी–२० विश्वकप– २०२६

भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको १०औँ संस्करणको आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको दुई फाइनलिस्ट तयार भइसकेका छन् । आगामी आइतबार विश्वकै धेरै दर्शक अटाउने रंगशाला नरेन्द्रमोदीमा साबिक विजेता भारत र न्युजिल्यान्डबिच उपाधि भिडन्त हुनेछ । यी दुईमध्ये एक टोली विजयी हुँदा विश्वकपमा नयाँ रेकर्ड बन्नेछ । भारतले जित्दा सर्वाधिक तेस्रोपटक टी–२० विश्वकप विजेता बन्नेछ । उसले इंग्ल्यान्ड र वेस्ट इन्डिजलाई पछि पार्नेछ । भारतलाई स्तब्ध बनाउँदा न्युजिल्यान्ड पहिलोपटक विश्वकप विजेता हुनेछ । यसकारण फाइनल खेलको जस्तो नतिजा निस्किए पनि रेकर्ड हुनेछ । 

एक महिनासम्म चलेको विश्वकपको फाइनलबाहेक अन्य सबै खेलमा कुनै न कुनै रेकर्ड बनेका छन् । ५५ मध्ये ४४ खेल समाप्तिसम्म ब्याट्सम्यान र बलरले आ–आफ्नो नाममा रेकर्ड राख्न सफल भएका छन् । तर, विश्वकप खेलाडीको क्षमताअनुसार पूर्वअनुमान उनीहरूले प्रदर्शन गर्न सकेनन् । धेरै नाम चलेका ब्याट्सम्यान सोचेजस्तो चल्न सकेनन् । २० टोली सहभागी विश्वकपमा अनपेक्षित रूपमा नयाँ युवा खेलाडी ब्याटिङमा चम्केका छन् । 

विश्वकपको सेमिफाइनलसम्मको नतिजासम्म केवल ७ शतकीय इनिङ्स मात्र बनेका छन् । जसमा पाकिस्तानका साहेबजादा फहरानले एकै विश्वकपमा दुईपटक शतकीय इनिङ्स खेल्न सफल भए । विश्वकपमा यो पनि एक रेकर्ड नै हो । एसोसिएट राष्ट्रबाट युवराज शर्माले एक शतक लगाए । चालू विश्वकपमा इंग्ल्यान्डका दुई खेलाडीले शतकीय इनिङ्स खेले । ज्याकोव बेथेली तथा ह्यारी बुकले महत्वपूर्ण खेलमा सय रन पूरा गरेका थिए । श्रीलंकाका निशंका पनि एक शतक बनाउन सफल भए । विश्वकपमा शतक लगाउन खेलाडीको प्रदर्शन यस्तो रह्यो । 

साहेबजादा फरहान (पाकिस्तान) 
विरुद्ध नामिबिया र श्रीलंका

चालू विश्वकपमा पाकिस्तानको यात्रा सुपर ८ सम्म सीमित भए पनि ओपनर फरहानका लागि अविस्मरणीय रह्यो । उनले टी–२० आई करिअरकै पहिलो शतक मात्र बनाएनन्, विश्वकपमै दुई शतकीय इनिङ्स खेल्दै रेकर्ड राखे । फरहानले विश्वकपको ३५औँ खेलमा नामिबियाविरुद्ध सय रनको योगदान दिए । पहिलो ब्याटिङ गरेको पाकिस्तानले तीन विकेटमा एक सय ९९ रन बनाउँदा फरहानले मात्र एक सय रन जोडेका थिए । यसक्रममा उनले ५८ बलमा ११ चौका र चार छक्का लगाए । यो खेलमा पाकिस्तान एक सय दुई रनले विजयी भयो । पाकिस्तानबाट टी–२० विश्वकपमा बनेको यो दोस्रो शतक थियो । यसअघि अहमद सेहजादले शतक लगाएका थिए । त्यसपछि फरहानले सुपर ८ को समूह ‘२’मा श्रीलंकासँगको महत्वपूर्ण खेलमा अर्को शतक लगाउन सफल भए । 

पाकिस्तान सेमिफाइनलमा पुग्ने वा नपुग्ने खेलको नतिजा नै श्रीलंकाविरुद्ध थियो । श्रीलंकामाथि फराकिलो जित अन्तर निकाल्दा मात्र पाकिस्तान सेमिफाइनलमा पुग्ने समीकरण बनेको थियो । तर, पाकिस्तानले आवश्यक रनरेटअनुसार सुरुवाती ब्याटिङ गरी आठ विकेट गुमाएर दुई सय १२ रन जोडेको थियो । यसमा फरहानले पुन: एकपटक उत्कृष्ट ब्याटिङ गरी ६० बलमा ठ्याक्कै एक सय रन जोडे । यसक्रममा उनले नौ चौका र पाँच छक्का प्रहार गरेका थिए । प्रत्युत्तरमा श्रीलंकाले २० ओभरमा ६ विकेटको नोक्सानीमा दुई सय सात रन बनायो । पाकिस्तान खेलमा पाँच रनले विजयी हुँदा पनि विश्वकपबाट बाहिरियो । तर, फरहानले चालू विश्वकपमा आफ्नो ब्याटिङ क्षमता देखाउन भने सफल भए । विश्वकपमा उनी अहिले पनि धेरै रन बनाउने सूचीको शीर्ष स्थानमा छन् । उनले ६ इनिङ्समा तीन सय ८३ रन जोडेका छन् । 

ह्यारी ब्रुक (इंल्यान्ड) 
विरुद्ध पाकिस्तान

विश्वकपको सुपर ८ मा पाकिस्तानसँग इंग्ल्यान्डको खेल थियो । पाकिस्तानले पहिलो ब्याटिङ गरी नौ विकेट गुमाएर एक सय ६४ रन बनायो । पाकिस्तानको कसिलो बलिङअगाडि इंग्ल्यान्डले सुरुवातमै विकेट गुमाएको थियो । इंग्ल्यान्डले ७.१ ओभरमा चार विकेट गुमाएर ५८ रन बनाएको थियो । यो अवस्थासम्म पाकिस्तानले खेल पकडमा लिएको थियो । तर, कप्तान ह्यारी बुकले करिअरकै उत्कृष्ट इनिङ्स खेल्दै असम्भव जित टोलीलाई देखाए । क्रिजको एकछेउमा उनको ब्याटबाट चौका र छक्का वर्षा भइरहेको थियो । इंग्ल्यान्डले निरन्तर रूपमा विकेट गुमाइरहँदा बुकले कप्तानी इनिङ्स खेले । उनले केवल ५१ बलमा १० चौका र चार छक्का प्रहार गरी १०० रन जोडे । उनकै शतकीय इनिङ्सको मद्दतमा इंग्ल्यान्डले पाकिस्तानविरुद्ध दुई विकेटको जित निकाले । ह्यारी टी–२० विश्वकपमा शतक बनाउने एक मात्रै कप्तान बनेका हुन् । यसअघि कुनै पनि कप्तानले विश्वकपमा शतक बनाएका छैनन् । २७ वर्षीय दायाँहाते बुकले ५१ बलमै शतक बनाएका हुन् । उनी इंग्ल्यान्डका लागि तीनैवटै फम्र्याटमा शतक बनाउने तेस्रो खेलाडी हुन् । यसअघि डेविड मलान र जोस बटलरले यो कीर्तिमान बनाएका थिए ।

पाथुम निसान्का (श्रीलंका) 
विरुद्ध अस्ट्रेलिया 

श्रीलंकाले समूह चरणको सुरुवातमै उपाधि दाबेदार अस्ट्रेलियासँग सामना गरेको थियो । अस्ट्रेलियाले पहिलो ब्याटिङ गरी एक सय ८१ रन बनायो । कोलम्बोको पिचमा यो योगफल सहजै रक्षा हुने अनुमान थियो । तर, २७ वर्षीय दायाँहाते ब्याट्सम्यान पाथुम निसान्का विश्वकपमा शतक बनाउने पहिलो खेलाडी बन्दा अस्ट्रेलिया आठ विकेटले नराम्रोसँग पराजित भयो । ओपनिङ ब्याट्सम्यान पाथुमले केवल ५२ बलमा अविजित एक सय रन बनाए । त्यसक्रममा उनले १० चौका र पाँच छक्का प्रहार गरेका थिए । अस्ट्रेलियामाथिको सानदार जितले श्रीलंका सुपर ८ मा पुग्यो । विश्वकपमा श्रीलंकाली टोलीबाट सबैभन्दा सफल ब्याट्सम्यान नै पाथुम रहे । उनले सात इनिङ्समा ब्याटिङ गरी दुई सय ११ रन जोडे । यसक्रममा उनले एक अर्धशतकीय इनिङ्ससमेत खेलेका थिए । अस्ट्रेलियाविरुद्ध करिअरकै आक्रामक इनिङ्स खेलेका हुन् । 

ज्याकोव बेथेल (इंग्ल्यान्ड)
विरुद्ध भारत

चालू विश्वकपमा सर्वाधिक रोमाञ्चक खेलका रूपमा भारत र इंग्ल्यान्डबिचको दोस्रो सेमिफाइनल रह्यो । मुम्बईको वानखेडे रंगशालामा भारतले पहिलो ब्याटिङ गरी सात विकेटको नोक्सानीमा दुई सय ५३ रनको विशाल योगफल खडा गर्यो । वानखेडे रंगशालाको पिच स्वाभाविक रूपमा हाइस्कोरिङ हुने किसिमको थियो । यसमा पनि भारतले ब्याक टु ब्याक दोस्रो खेलमा दुई सय ५० रनको योगफल बनाउँदा ड्राइभिङ सिटमा रहेको महसुस गरेको थियो । 

विश्वकपमा इंग्ल्यान्डका ब्याट्सम्यान उत्कृष्ट फर्ममा थिए । यस्तो अवस्थामा भारतका खेलाडीले सुरुवाती क्रममा इंग्ल्यान्डबाट लक्ष्य पछ्याउन नसकिनेजस्तो मनोविज्ञान देखाएका थिए । तर, ह्यारी बुकजस्ता खतरनाक खेलाडीको विकेट लिँदै भारतले खेल आफ्नो पक्षमा लिएको थियो । चौथो क्रममा ब्याटिङ गर्न आएका ज्याकोव बेथेलीले मैदानको चारै दिशामा चौका र छक्का प्रहार गरी भारतमाथि इनिङ्सको अन्तिम ओभरसम्म दबाब बनाउँदै कीर्तिमानी जितको आशा इंग्ल्यान्डलाई दिलाइरहे । दुभाग्यपूर्ण रूपमा लक्ष्य पछ्याएको इनिङ्सको १९.१ ओभरमा उनी रनआउट भए । उनी रनआउट हुँदा इंग्ल्यान्डले एउटा सुन्दर र असम्भव जित निकाल्न वञ्चित भयो । भारतले खेलमा सात रनले जित निकाले पनि बेथेलको शतकीय इनिङ्स कसैले बिर्सन सक्दैनन् । उनले ४८ बलमा सात छक्का र आठ चौका प्रहार गरी एक सय पाँच रन जोडेका थिए । उनले १९ बलमा अर्धशतक लगाए । भारतविरुद्ध उनको स्ट्राइक २१८ रहेको थियो । 

फिन एलेन (न्युजिल्यान्ड)
विरुद्ध दक्षिण अफ्रिका

टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा एकपक्षीय हुन्न भनी कसैले सोचेकै थिएन । प्रतियोगितामा दक्षिण अफ्रिका एक मात्र अपराजित टोली थियो । उसका ब्याट्सम्यान र बलर उत्कृष्ट फर्ममा थिए । अपराजित रहँदै दक्षिण अफ्रिकाले विश्वकपको सेमिफाइनल स्थान पक्का गरेको थियो । इडन गार्डेन मैदानमा दक्षिण अफ्रिकाले पहिलो ब्याटिङ गरी न्युजिल्यान्डलाई एक सय ७० रनको लक्ष्य दियो । न्युजिल्यान्ड भने बल्ल सेमिफाइनलमा पुगेको टोली थियो । यस्तोमा न्युजिल्यान्डको ब्याटिङ त्यति बलियो थिएन । तर, अन्तिम चारमा न्युजिल्यान्डले यस्तो ब्याटिङ प्रदर्शन गर्यो । जुन कल्पनाबाहिर थियो । त्यसमा पनि फिनले केवल ३३ बलमा एक सय रनको नटआउट इनिङ्स खेल्दा दक्षिण पुन: एकपटक आइसिसीको प्रतियोगितामा सेमिफाइनलबाटै बाहिरियो । दक्षिण अफ्रिका सेमिफाइनलबाट बाहिरिनुको एक मात्र कारण नै फिनको आक्रामक शतकीय इनिङ्स थियो । उनले ३३ बलमा १० चौका र आठ छक्का लगाएका थिए । जुन टी–२० विश्वकप इतिहासमै सबैभन्दा छिटो शतक थियो । फिनले सन् २०१६ मा वेस्ट इन्डिजका क्रिस गेलले इंग्ल्यान्डविरुद्ध ४७ बलमा जोडेको शतकीय इनिङ्ससमेत तोड्न सफल भए । 

युवराज सिंह (क्यानडा) 
विरुद्ध न्युजिल्यान्ड

क्यानडाका युवराज विश्वकपमा शतक बनाउने कान्छा खेलाडी हुन् । उनले न्युजिल्यान्डजस्तो राष्ट्रविरुद्ध शतक लगाउँदा १९ वर्ष मात्र टेकेका थिए । बायाँहाते ओपनिङ ब्याट्सम्यान युवराजले न्युजिल्यान्डसँगको खेलमा एक सय १० रन बनाएका थिए । उनी टेस्ट राष्ट्रविरुद्ध विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडीसमेत बनेका छन् । चेन्नईमा भएको खेलमा युवराजले ६५ बलमा एक सय १० रन जोडे । यसक्रममा उनले ११ चौका र ६ छक्का प्रहार गरेका थिए । उनको शतक मद्दतमा क्यानडाले एक सय ७४ रनको लक्ष्य दिए पनि न्युजिल्यान्ड आठ विकेटले जित निकाल्यो । विश्वकपमा युवराजले चार खेलमा एक सय ४४ रन बनाएका थिए ।

सुझावित समाचार