प्लास्टिक कपमा नपिऔँ तातो पेय

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण
  • कसैले प्रतिदिन पोलिथिनबाट बनेको कपमा ३०० मिलिलिटर कफी पिउँछ भने उसले प्रत्येक वर्ष ३,६३,००० टुक्रा माइक्रोप्लास्टिक कण निल्न सक्छ

अहिले बिहानको ७ः४५ बजेको छ । तपाईं आफ्नो स्थानीय क्याफेबाट रेडिमेड कफी लिनुहुन्छ, न्यानो कपको वरिपरि हात बेर्नुहुन्छ, एक चुस्की लिनुहुन्छ, र अफिसतिर लाग्नुहुन्छ । हामीमध्ये धेरैजसोलाई त्यो कप हानिरहित लाग्छ । त्यसो त कप आफैँमा क्याफिन डेलिभरीका लागि एक सुविधाजनक साधन पनि हो । यद्यपि, यदि त्यो कप प्लास्टिकबाट बनेको छ वा प्लास्टिकको स्तर पातलो छ भने यसले तपाईंको पेय पदार्थमा सिधै हजारौँ साना प्लास्टिकका टुक्रा खसाल्ने उच्च सम्भावना हुन्छ ।

अस्ट्रेलियामा मात्र हामी प्रत्येक वर्ष १.४५ अर्ब तातो पेय पदार्थ राखिने कप प्रयोग गर्छौँ, साथै लगभग ८९ करोड प्लास्टिकका ढक्कन पनि प्रयोग गर्छौँ । विश्वव्यापी रूपमा त्यो संख्या वार्षिक रूपमा अनुमानित ५०० अर्ब कप पुग्छ । मैले सहलेखन गरेको नयाँ अनुसन्धानमा हामीले यी कपहरू तातो हुँदा कसरी प्रतिक्रिया जनाउँछन् भनेर हेर्याैँ । सन्देश स्पष्ट छ, तातो पदार्थ कुनै पनि माइक्रोप्लास्टिक रिलिजको प्राथमिक चालक हो र तपाईंको कपको सामग्री तपाईंले सोचेभन्दा बढी महत्वपूर्ण छ । जर्नल अफ ह्याजर्डस मटेरियल्स ः प्लास्टिकमा प्रकाशित उक्त अध्ययनमा अन्य धेरै कुरालाई समेटिएको छ ।

के हुन् माइक्रोप्लास्टिक ?
माइक्रोप्लास्टिक भनेको प्लास्टिकका टुक्रा हुन् जुन लगभग एक माइक्रोमिटरदेखि पाँच मिलिमिटरसम्मका हुन्छन् । लगभग धुलोको कणदेखि तिलको दानाको आकारसम्म । ठुला प्लास्टिकका वस्तुहरू टुक्रिएपछि तिनीहरू उत्पन्न हुन सक्छन् वा सामान्य प्रयोगको क्रममा उत्पादनबाट सिधै निस्कन सक्छन् । यी कणहरू हाम्रो वातावरण, हाम्रो खाना र अन्ततः हाम्रो शरीरमा पुग्छन् ।

हाल, हाम्रो शरीरमा त्यो माइक्रोप्लास्टिक कति बाँकी रहन्छ भन्ने बारेमा हामीसँग निर्णायक प्रमाण छैन । यस विषयमा गरिएका अध्ययन प्रदूषणका लागि अत्यधिक संवेदनशील छन् र मानव तन्तुमा यस्ता साना कणहरूको स्तर सही रूपमा मापन गर्न साँच्चै गाह्रो छ । यसबाहेक, वैज्ञानिकहरू अझै पनि दीर्घकालीन रूपमा मानव स्वास्थ्यका लागि माइक्रोप्लास्टिकको अर्थ के हुन सक्छ भनेर थप अध्ययनको तयारीमा छन् । थप अनुसन्धान तुरुन्तै आवश्यक छ, तर यसबिचमा हाम्रो दैनिक जीवनमा सम्भावित माइक्रोप्लास्टिकका स्रोतबारे सचेत हुनु राम्रो हो ।

तापले राख्छ अर्थ
मेरा सहकर्मीहरू र मैले पहिलोपटक ३० जना सहकर्मीले समीक्षा गरेका अध्ययनबाट डेटा विश्लेषण गर्दै विद्यमान अनुसन्धानको तथ्यांकीय संश्लेषण (मेटा–विश्लेषण) गर्यौँ । हामीले पोलिथिन र पोलिप्रोपाइलिनजस्ता सामान्य प्लास्टिकले फरक–फरक परिस्थितिमा कसरी व्यवहार गर्छन् भनेर हेर्यौँ । अरू सबैभन्दा माथि एउटा कारक देखियो त्यो हो तापक्रम । कन्टेनरभित्रको तरल पदार्थको तापक्रम बढ्दै जाँदा माइक्रोप्लास्टिकको उत्सर्जन पनि सामान्यतया बढ्छ । हामीले समीक्षा गरेका अध्ययनमा सामग्री र अध्ययन डिजाइनमा निर्भर गर्दै प्रतिलिटर केही सय कणहरूदेखि ८० लाखभन्दा बढी कणसम्मको रिपोर्ट गरिएको सार्वजनिक गरियो । चाखलाग्दो कुरा के छ भने पेय पदार्थ कपमा कति समयसम्म रहन्छ भन्ने हो ।

४०० कफी कप परीक्षण
वास्तविक संसारमा कफीमा माइक्रोप्लास्टिकको असरले कसरी काम गर्छ भनेर हेर्नका लागि हामीले ब्रिस्बेनवरिपरि दुई प्रमुख प्रकारका ४०० कफी कप संकलन गर्यौँ । पोलिथिनबाट बनेका प्लास्टिक कपहरू र प्लास्टिकलाइन गरिएका कागज कपहरू जुन कागजजस्तै देखिन्छन्, तर भित्र पातलो प्लास्टिक कोटेड हुन्छ । हामीले तिनीहरूलाई पाँच डिग्री सेन्टिग्रेड (आइस्ड कफी तापक्रम) र ६० डिग्री सेन्टिग्रेड (तातो कफी तापक्रम)मा परीक्षण गर्यौँ । दुवै तरिकाले माइक्रोप्लास्टिक छोडे पनि नतिजाले दुई प्रमुख प्रवृत्ति प्रकट गरे । पहिलो, भौतिक कुरा । प्लास्टिकलाइनिङ भएका कागज कपहरूले दुवै तापक्रममा सबै प्लास्टिक कपभन्दा कम माइक्रोप्लास्टिक छोडे । दोस्रो, गर्मीले उल्लेखनीय रूपमा कण उत्पन्न गर्छ । पूर्णप्लास्टिक कपहरूका लागि चिसोबाट तातोपानीमा स्विच गर्दा माइक्रोप्लास्टिक रिलिज लगभग ३३ प्रतिशतले बढ्यो । यदि कसैले प्रतिदिन पोलिथिनबाट बनेको कपमा ३०० मिलिलिटर कफी पिउँछ भने, उसले प्रत्येक वर्ष ३६३,००० टुक्रा माइक्रोप्लास्टिक कण निल्न सक्छ । तर, तापले किन यति धेरै अर्थ राख्छ ?

उच्च–रिजोलुसन इमेजिङ प्रयोग गरेर हामीले यी कपहरूको भित्री भित्ताको जाँच गर्यौँ र पत्ता लगायौँ कि प्लास्टिकका धर्सा गरिएका कागज कपहरूको तुलनामा सबै प्लास्टिक कपहरूमा धेरै खस्रो सतह थिए । यो खस्रो बनावटले कणलाई टुक्रिन सजिलो बनाउँछ । तापले प्लास्टिकलाई नरम बनाएर र यसलाई विस्तार र संकुचित गरेर यो प्रक्रियालाई तीव्र बनाउँछ, थप सतहमा अनियमितता सिर्जना गर्दछ जुन अन्ततः हाम्रो पेयमा टुक्राटुक्रा हुन्छ ।

जोखिम प्रबन्ध
हामीले बिहानको समयमा पिउने बानी त्याग्नु पर्दैन, तर जोखिम व्यवस्थापन गर्न हामी यसलाई कसरी हेर्ने भन्ने कुरा परिवर्तन गर्न सक्छौँ । तातो पेय पदार्थका लागि सबैभन्दा राम्रो विकल्प भनेको स्टेनलेस स्टिल, सेरामिक वा सिसाबाट बनेका पुनः प्रयोग गर्न मिल्ने कप प्रयोग गर्नु हो, किनकि यी सामग्रीहरूले माइक्रोप्लास्टिक छोड्दैनन् । यदि हामीले डिस्पोजेबल कप प्रयोग गर्नुपर्छ भने हाम्रो अनुसन्धानले सुझाब दिन्छ कि प्लास्टिकलाइन भएका कागजका कपले सामान्यतया शुद्ध प्लास्टिक कपभन्दा कम कण छोड्छन्, यद्यपि दुवै माइक्रोप्लास्टिकमुक्त छैनन् ।

अन्तमा, तातो प्लास्टिक अणु रिलिज हुने कारक भएकाले उमालेको तरल पदार्थ सिधै प्लास्टिकको लाइन भएका कन्टेनरहरूमा नराख्नुहोस् । कपमा पुग्नुअघि हाम्रो कफीलाई थोरै चिसो बनाउन बारिस्टालाई अनुरोध गर्दा प्लास्टिकको मात्रा र समग्र एक्सपोजर कम गर्न सकिन्छ । ताप र सामग्री छनोटले कसरी अन्तत्र्रिmया गर्छ भनेर बुझेर हामी राम्रो उत्पादन डिजाइन गर्न सक्छौँ र हाम्रो दैनिक क्याफिन समाधानका लागि राम्रो छनोट गर्न सक्छौँ ।

(‘द कन्भर्सेसन’मा प्रकाशित लिउ ग्रिफिथ विश्वविद्यालयका रिसर्च फेलो सियाङ्यु लिउको आलेखलाई सुभाष शर्माले अनुवाद गरेका हुन् ।)

सुझावित समाचार