बिहारका मुख्यमन्त्री नीतीश कुमारले बिहीबार राज्यसभाका लागि उम्मेदवारीको घोषणासँगै यसबारेमा केही दिनदेखि चलिरहेको अनुमान सही साबित भएको छ । नीतीशको यस कदमले बिहारमा नयाँ मुख्यमन्त्रीको नियुक्तिको बाटो खुला हुनेछ । आगामी नेतृत्व नीतीश नेतृत्वको जनता दल युनाइटेड(जेडियू)को सत्ता सहयोगी दल भारतीय जनता पार्टी (भाजपा)बाट हुने अनुमान उच्च छ । यद्यपि, नीतीशको राजीनामा र उनको उत्तराधिकारीको शपथग्रहणको सही समयरेखा अझै स्पष्ट भने गरिएको छैन । भाजपा नेताहरूले यससम्बन्धी अन्तिम टुंगो आगामी केही हप्ताभित्र लाग्ने बताएका छन् ।
बुधबारदेखि पटनाको राजनीतिक वृत्तमा नीतीशले आफ्नो उत्तराधिकारीका लागि बाटो खोल्न केन्द्रीय संसद्को माथिल्लो सदन राज्यसभामा जान सक्ने चर्चा सुरु भएको थियो । मार्च १६ मा हुने राज्यसभा चुनावका लागि उम्मेदवारी दर्ता गर्ने अन्तिम मिति बिहीबार थियो । अन्तत: अनुमानलाई सही साबित गर्दै राज्यसभा सदस्यका लागि उम्मेदवारी दर्तापछि मुख्यमन्त्रीले बिहीबार ट्विटरमा लेखे, ‘दुई दशकभन्दा लामो समयदेखि, तपाईंहरूले निरन्तर ममाथि आफ्नो विश्वास र समर्थन कायम राख्नुभएको छ । त्यही विश्वासको बलमा, हामीले बिहार र तपाईंहरू सबैको पूर्ण समर्पणका साथ सेवा गर्न सक्यौँ । तपाईंको विश्वास र समर्थनको कारणले गर्दा नै बिहार आज विकास र मर्यादाको नयाँ पहिचान प्रस्तुत गरिरहेको छ । यसका लागि म धेरै–धेरै कृतज्ञता व्यक्त गर्दछु ।’
मुख्यमन्त्रीको पदबाट राजीनामाको अड्कलबाजीपछि बिहीबार बिहानदेखि ठुलो संख्यामा जेडियू कार्यकर्ता र समर्थकहरू नीतीश कुमारको घर बाहिर भेला भएका थिए । तिनले नीतीश कुमारलाई मुख्यमन्त्री नत्याग्न आह्वान गरिरहेको सुनिन्थ्यो । नीतीश कुमारको बिहार राजनीतिबाट बहिर्गमनसँगै राज्यमा नीतीश, लालु प्रसाद र रामविलास पासवानको युगको अन्त्य भएको केहीले विश्लेषण गरेका छन् ।
नीतीश कुमारले बिहारको मुख्यमन्त्रीको पदमा रेकर्ड १० पटक शपथ लिए । उनी सन् २००५ देखि सो पदमा छन् । सन् २०१४ को लोकसभा चुनावपछि छोटो समयका लागि जितनराम माझी मुख्यमन्त्री भएको बाहेक समय प्राय: उनी नै मुख्यमन्त्री रहे । तर, पछिल्लो केही समयदेखि भाजपाले बिहारको मुख्यमन्त्री पद आफूले पाउनुपर्ने माग गर्दै आएको छ । गत वर्ष भएको बिहार विधानसभा चुनावमा एनडिएले गरेको सिट बाँडफाँट सूत्र घोषणामा जेडियू र भाजपाले बराबर संख्यामा सिट बाढेका थिए । त्यस बाँडफाटमार्फत दुई दलले आफूहरू दुवै राज्यमा समान हैसियतको रहेको सन्देश दिन खोजेका थिए ।
नीतीश कुमार राज्यसभामा गएसँगै आगामी मुख्यमन्त्री आफ्नो दलको हुने भाजपाको आशा छ । उसो त हिन्दीभाषी क्षेत्रमा भाजपाले कहिल्यै मुख्यमन्त्री बनाउन नसकेको एक मात्र राज्य बिहार मात्र हो । भाजपा बिहारमा जतिसक्दो चाँडो नेतृत्व परिवर्तन चाहन्छ । बिहार विधानसभा चुनावपछि अहिले भाजपासँग ८९ विधायकहरू छन् भने जेडियूसँग ८५ । भाजपाले नीतीश कुमारको स्वास्थ्य पनि केही बिग्रिएकाले राज्यमा उनले नेतृत्व भाजपालाई दिएर सम्मानजनक बिदाइ लिनुपर्ने बताउँदै आएको छ ।
विधानसभा चुनावअघिदेखि ७५ वर्षीय नीतीशको स्वास्थ्यबारे विभिन्न अड्कलबाजी हुन थालेका थिए । जेडीयुले नीतीशसँगको भेटघाट निक्कै घटाएको थियो । पार्टीभित्रका सिमित नेताबाहेक बाहिर नदेखिने नीतीशले पछिल्लो समय मिडियालाई कुनै अन्तर्वार्ता दिएनन् । उनले पहिलेजस्तो आममतादातासँग पनि भेटेको पाइँदैन ।
एक भाजपाका वरिष्ठ नेताले आफूहरूले मुख्यमन्त्री पाउनुपर्ने कारणबारे बताउँदै भने, ‘नीतीश कुमारको स्वास्थ्यको चिन्ता पनि छ । साथमा एनडीए गठबन्धनभित्र हाम्रो ठुलो सिट संख्याको पनि कुरा छ । भाजपाले समान संख्यामा सिटमा चुनाव लड्ने निर्णय गर्यो । अघिल्लोपटक बिहार राज्य विधानसभामा हाम्रो पार्टीको प्रदर्शन जेडियूभन्दा राम्रो थियो । तैपनि, हामीले गठबन्धनको धर्म निभाएर नीतीशलाई मुख्यमन्त्री बनाएका थियौँ । यसपटक पनि हाम्रो संख्या बढी आएको छ । हामीले अहिलेसम्म केही भनेनौँ । तर, नीतीश कुमार ७५ वर्ष पुग्नुभएको छ र लामो समयदेखि मुख्यमन्त्रीको रूपमा सेवा गर्नुभयो । अब नीतीशलाई ‘सम्मानजनक बिदाइ’ गर्दा उनी र उनको पार्टीले प्रस्ताव स्वीकार गर्नुपर्छ ।’
यसबिच नीतीश कुमारका छोरा निशान्त कुमार चाँडै नै औपचारिक रूपमा जेडियूमा सामेल हुने चर्चा पनि छ । छोरालाई सक्रिय राजनीतिमा स्थापित गराउन पनि नीतीशले भाजपामासँग कुनै खालको सम्झौता गर्न सक्ने विश्लेषण पनि छ । मार्च १८ मा हुने राज्यसभा चुनावपछि नयाँ मन्त्रिपरिषद्मा उपमुख्यमन्त्री नियुक्त हुन सक्ने चर्चा पनि छ । जेडियूका वरिष्ठ नेता तथा बिहारका मन्त्री श्रवण कुमारले मंगलबार यसबारेमा बोल्दै निशान्त ‘सक्रिय राजनीतिमा’ प्रवेश गर्ने पुष्टि गरे ।
(जामिया मिलिया इस्लामी विश्वविद्यालयबाट विद्यावारिधि गरेर १७ वर्षदेखि पत्रकारिता गर्दै आएकी पाण्डे राजनीति तथा नीतिबारे लेख्छिन्)
द प्रिन्टबाट