बारामा २ बजेसम्म ९६ हजार २७० मत खस्यो

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा जिल्लामा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी रहेको छ। जिल्लाभर सञ्चालन भइरहेको मतदानमा दिउँसो २ बजेसम्म ९६ हजार २७० मत खसेको छ। उक्त मत जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा खसेको हो। प्राप्त विवरणअनुसार हालसम्म खसेको मतमध्ये पुरुष ५० हजार ८७८ र महिला ४५ हजार ३९२ रहेका छन्।

निर्वाचन कार्यालयका अनुसार बारा जिल्लामा कुल चार लाख ६५ हजार ७८४ मतदाता रहेका छन्। हालसम्म खसेको ९६,२७० मत कुल मतदाताको करिब २०.६७ प्रतिशत हुन आउँछ। मतदान बिहान ७ बजेदेखि सुरु भएको हो। बिहानैदेखि मतदाताहरू मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। केही मतदान केन्द्रहरूमा मतदाताको उल्लेखनीय उपस्थिति देखिएको छ भने कतिपय स्थानमा लाइन लागेर मतदाता मतदान गरिरहेको दृश्य पनि देखिएको छ।

जिल्लाका सबै मतदानस्थल र मतदान केन्द्रहरूमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको बारा प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिएका छन्। उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा पारिएकोसमेत बताए। निर्वाचनलाई लक्षित गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायका सुरक्षाकर्मीहरू मतदान केन्द्र र संवेदनशील स्थानहरूमा परिचालन गरिएको छ। सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन मोबाइल गस्ती तथा निगरानीसमेत बढाइएको जनाइएको छ।

बारा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चारवटा निर्वाचन क्षेत्र रहेका छन् र ती सबै क्षेत्रमा बिहानदेखि नियमित रूपमा मतदान भइरहेको छ। हालसम्म कुनै ठुलो अवरोध वा अप्रिय घटना नदेखिएको सुरक्षा निकायले जनाएको छ। मतदान प्रक्रिया साँझसम्म जारी रहने भएकाले कुल मतदान प्रतिशत अझै बढ्ने अपेक्षा गरिएको छ। निर्वाचन अधिकारीहरूका अनुसार दिउँसोपछि मतदाताको सहभागिता अझ बढ्ने अनुमान गरिएको छ।

See More On

सुझावित समाचार