१६ वर्षमुनिलाई सामाजिक सञ्जालमाथि प्रतिबन्धको तीन महिना : अस्ट्रेलियाको कस्तो रह्यो अनुभव ?

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

बेलायत सरकारले आफ्ना देशाक किशोर–किशोरीहरूका लागि सामाजिक सञ्जाल प्रतिबन्धबारे छलफल सुरु गरेको छ । अस्ट्रेलिया सरकारले १६ वर्षमुनिका नागरिकहरूको सामाजिक सञ्जालमाथिको पहुँच प्रतिबन्ध लगाएपछि सुरु भएको लहरमा जोडिने पछिल्लो देश बनेको छ, बेलायत । 

अस्ट्रेलियाले उक्त कदम कार्यान्वयनमा ल्याएको पनि तीन महिना भएको छ । अहिले अस्ट्रेलियालीहरूलाई बारम्बार सोधिने प्रश्न हो : प्रतिबन्धको कार्यान्वयन कस्तो भइरहेको छ ? ‘अहिले कार्यान्वयनको प्रभावबारे थोरै मात्र तथ्यांक उपलब्ध भएका छन्,’ मानसिक स्वास्थ्य संगठन ‘हेडस्पेस’की राष्ट्रिय क्लिनिकल सल्लाहकार क्यारोलिन थाइनले भनिन्,‘ हामीले आत्मविश्वासका साथ केही भन्नुअघि अझै केही महिना पर्खिनुपर्ने हुन्छ ।’

हेडस्पेस केन्द्रहरूमा आउने १० मध्ये एक किशोर–किशोरीले मनोपरामर्थ सहायता खोज्ने कारणमा सामाजिक सञ्जाल प्रतिबन्ध बताउने गरेको उनले बताइन् । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सामाजिक सञ्जालमाथि प्रतिबन्ध कार्यान्वयनको सफलताबारे कुरा गर्दा यसलाई बन्द खाताहरूको संख्याबाट मापन गर्ने गर्छन् । १० डिसेम्बर २०२५ देखि १० समाजिक सञ्जाल प्लाटफर्मबाट ४७ लाख खाता डिएक्टिभेट गरिएका छन् । यसअन्तर्गत टिकटक, युट्युब, इन्स्टाग्राम, फेसबुक र ट्विट्जस्ता प्लाटफर्ममा रहेका अस्ट्रेलियाली किशोर–किशोरीका बन्द गरिएका संख्या मात्र समेटेको छ । उसो त शक्तिशाली सामाजिक सञ्जाल कम्पनीलाई प्रतिबन्धको पालना गराउन सक्नु आफैँमा सानो उपलब्धि थिएन । तथापि, बृहत्तर तस्बिर भने केही फरक छ ।

प्रतिबन्ध कार्यान्वयनको तीन महिनामा गत हप्ता ई–सेफ्टी कमिस्नर जुली इनम्यान ग्रान्टले प्रतिबन्धको असरबारे मूल्यांकन गर्न एक अध्ययन सुरु भएको घोषणा गरिन् । अध्ययनअन्तर्गत दुई वर्षभन्दा बढी समयसम्म ४,००० भन्दा बढी बालबालिका र तिनका परिवारहरूलाई पछ्याउनेछ । अध्ययनका क्रममा विभिन्न सर्वेक्षण गरिनेछ । स्मार्टफोन प्रयोगलाई ‘ट्रयाकिङ’ गरिनेछ । मोबाइल चलाएर बिताएको समयबारे जानकारी संकलन गरिनेछ । मूल्यांकनमा विद्यार्थीले विद्यालय परीक्षामा हासिल गरेका नतिजा, तिनको स्वास्थ्य चाँज र त्यस क्रममा दिइएका औषधिको प्रिस्क्रिप्सनका तथ्यांक पनि समेटिनेछ । 

‘अध्ययनले विभिन्न परिणामको अन्वेषण गर्नेछ । विशेषत: बालकल्याण र मानसिक स्वास्थ्य, अनलाइन जोखिमको खतरामा आएको घटबड र बालबालिकाको डिजिटल आनीबानीमा आएको परिवर्तन मुख्य हुनेछ,’ कमिस्नर इनम्यान ग्रान्टले भनिन् ,‘त्यसबाहेक अध्ययनले आवश्यक पर्दा सहयोग खोज्ने प्रवृत्ति, पारिवारिक सम्बन्ध र अभिभावकका अनुभव र १६ वर्षमुनिका युवाको अनुभव तथा प्रभावको पनि जाँच गर्नेछ ।’ अध्ययनका निष्कर्ष यसै वर्षको अन्त्यदेखि क्रमश: सार्वजनिक गरिने पनि ग्रान्टले बताइन् ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्धपछि विद्यालयहरूले थोरै परिवर्तन महसुस गरेका छन् । उसो त धेरै स्कुलले पहिले नै विद्यालय समयमा मोबाइल उपकरणमाथि प्रतिबन्ध लगाएकाले पनि यस्तो न्यून परिवर्तन रेकर्ड भएको हुन सक्छ । यस्तोमा ई–सेफ्टीको अध्ययनको निष्कर्ष नबाहिरिएसम्म कुनै पनि सफलताको मापन अनुमान मात्र हुनेछ । गार्जियनले प्रतिबन्ध लागू भएको दुई महिनामा कुरा गरेका किशोर–किशोरीहरूले फरक–फरक विचार व्यक्त गरेको थियो ।

‘मैले नयाँ टिकटक र स्न्यापच्याटमा खाता बनाएको छु । इन्स्टाग्रामको मेरो पुरानो खाता त अझै चलिरहेको छ । त्यसले मलाई नाबालिगको रूपमा ‘फ्ल्याग’ गरेको छैन,’ १४ वर्षीया सराय एडेसले भनिन्, ‘हामीले सोचेभन्दा सहज रूपमा सामाजिक सञ्जाल चलिरहेको छ ।’

‘प्रतिबन्धपछि मलाई हामी कहिलेकाहीँ सामाजिक सञ्जालमा अलि बढी नै निर्भर हुने रहेछौँ भन्ने महसुस भएको छ । सञ्चार गर्ने र मनोरञ्जन प्राप्त गर्ने अरू पनि विभिन्न माध्यमहरू छन्,’ १४ वर्षीया ग्रेस गुओले भनिन् ।

प्रतिबन्ध पक्षधरहरू कुनै पनि परिवर्तनको असर देखिन समय लाग्ने बताउँछन् । ‘द एन्सस जेनेरेसन’ नामक पुस्तकका लेखक जोनाथन हेड्टले ‘हार्ड फोर्क’ नामक पोडकास्टमा बोल्ने क्रममा भने ,‘अबको पाँच वर्षपछि पनि अस्ट्रेलियाली किशोर–किशोरीहरूको मानसिक स्वास्थ्यमा सामान्य सुधार भएन भने म आफैँ सामाजिक सञ्जालमाथिको प्रतिबन्धलाई गलत भन्नेछु ।’ तथापि प्रतिबन्ध राम्ररी लागू गरिएको छ कि छैन भन्नेमा ध्यान दिनुपर्ने हेड्टले भने । हेड्टका अनुसार प्रतिबन्ध प्रभावकारी भएको मान्न कम्तीमा पनि ७० प्रतिशत लक्षित समूहले प्रतिबन्धको पालना गर्न आवश्यक हुन्छ ।

ई–सेफ्टीकी कमिस्नरले सामाजिक सञ्जाल कम्पनीहरूले प्रतिबन्धको पालना कसरी गर्छन् भन्ने कुराको मूल्यांकन गरिरहेका छन् । हेडस्पेसकी क्यारोलिन थाइनका अनुसार सामाजिक सञ्जालमा लागू प्रतिबन्धको किशोर–किशोरीमाथिको असर विभिन्न कुरामा निर्भर गर्ने बताइन् । जस्तो, एउटा किशोर–किशोरीको सम्पूर्ण सामाजिक वृत्त त्यस्ता एपबाट बाहिरिए या बाहिरिएनन् भन्ने कुरा । त्यत्तिकै महत्वपूर्ण अर्को घरका साना बालबालिका सामाजिक सञ्जालबाट बाहिरिँदा तिनका दाजु–दिदी अझै पनि सामाजिक सञ्जाल छन् कि छैनन् भन्ने कुरा । 

थाइन किशोर–किशोरीहरूको एउटा समूहको उदाहरण उद्धृत गर्छिन्, जसले सामूहिक रूपमा ‘स्न्यापच्याट’बाट ‘ह्वाट्सएप’मा सर्ने सहमति जनाए । ह्वाट्सएप प्रतिबन्धमा समावेश छैन । थाइनले अस्ट्रेलियाको प्रतिबन्धलाई पछ्याउन खोज्ने विदेशका सरकारहरूलाई किशोर–किशोरीले भन्दा बढी जानेको नमान्न र नीतिको विकासमा उनीहरूलाई समावेश गर्न आग्रह गर्छिन् । ‘किशोरकिशोरीलाई असर गर्ने क्षेत्रको निर्णय लिँदा उनीहरू आफ्नो जीवनका सन्दर्भमा विशेषज्ञ हुन्छन् मानेर अघि बढ्नुस् र निर्णयको हरेक प्रक्रियामा तिनलाई समावेश गर्नुस् । तपाईं अभिभावक भएकै कारणले मात्र आफूलाई बढी थाहा भएको नसोच्नुस् । खासमा तपाईसँग अहिलेको बालबालिकाको जस्तो जन्मिएदेखि नै उनीहरूजस्तो यी प्रविधिमाझ हुर्किएको अनुभव छैन,’ थाइन्ले भनिन् । 

द गार्जियनबाट

(टेलर प्रविधि रिपोर्टर हुन्)

सुझावित समाचार