नौ लाख २० हजार बाहिरिँदा सुनसान काठमाडौं

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण
नौ लाख २० हजार बाहिरिँदा सुनसान काठमाडौं

सुन्धाराअगाडि सडकको बुधबार दिउँसोको दृश्य । तस्बिर : अमुल थापा/नयाँ पत्रिका

  • काठमाडौंको ठुलो जनसंख्या अस्थायी बसोबासी छ, चुनावसँगै होलीका कारण सार्वजनिक बिदा लम्बिँदा मतदानका लागि गृहजिल्ला जाने बढे

देश चुनावको उत्सवमा रहेका वेला काठमाडौं उपत्यकाका सडक भने सुनसान बनेका छन् । एक सातामा सवा नौ लाख काठमाडौं उपत्यकाबाट बाहिरिनुका साथै सार्वजनिक बिदाका कारण सडकको मुभमेन्ट घटेको हो । 

मतदाता नामावली रहेको गृहजिल्लामा मतदान गर्न फर्कँदा बजार, सडक र चोक खालीजस्ता देखिएका छन् भने सार्वजनिक बिदाका कारण सरकारी कार्यालय, विद्यालय, कलेज बन्द हुनुका साथै व्यापारिक केन्द्र, मल, पसल आंशिक रूपमा बन्द हुँदा दैनिक आवागमन घटेको हो ।

यसपटक चुनावको चार दिनअघि होली पर्व पर्नुका साथै चुनावलगत्तै नारी दिवसको बिदा रहेकाले स्कुल, कलेजमा एक साता बिदा भयो भने सार्वजनिक बिदा लम्बिएको छ । यही अवसरमा आफ्नो मतदाता नामावली रहेको गृहजिल्लामा मतदान गर्न मतदाता फर्किएका हुन्् । खासगरी, काठमाडौं उपत्यकासहित सहरी क्षेत्र, प्रदेश राजधानी र जिल्ला सदरमुकाममा रोजगारी, व्यवसाय तथा अध्ययनका सिलसिलामा अस्थायी बसोबासीको संख्या उल्लेख्य छ ।  पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया पनि मतदान गर्नुपर्छ भने बुझाइ बढेको बताउँछन् । ‘चुनावलाई एउटा पर्वकै रूपमा लिएर यसअघि पनि मानिस बाहिरिन्थे । तर, यसअघिका चुनावजस्तो यसपटक धेरै नाराजुलुस भएन । मानिस गाउँगाउँ पुगेका छन्, ’ उनले भने, ‘मौसन पनि राम्रो भयो । अर्को कुरा मतदान गर्नुपर्छ भने बुझाइ बढेको लाग्छ ।’

१४ फागुनयता बुधबारसम्म दैनिक सरदर पाँचदेखि ६ हजार यात्रुवाहक सवारीसाधन उपत्यकाबाट बाहिरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले बताए । यो हिसाबअनुसार बुधबार रातिसम्म नौ लाख २० हजार यात्रुले उपत्यका छाडेका छन् । ‘बुधबार मध्यरातिपछि सवारीसाधन चलाउन रोक लगाइएकाले लामो दूरीका गाडी मंगलबार नै छुटिसकेका थिए । बुधबार मध्यम र छोटो दूरीका बस उपत्यकाबाट बाहिरिएका छन्,’ उनले भने । उनका अनुसार चुनावको समयमा धेरै मतदाता रिजर्भ गाडीमा गएका छन् । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले लाखौँ नागरिक आ–आफ्नो जिल्ला पुगिसकेको र ट्राफिक प्रहरी पनि निर्वाचनमा केन्द्रित भएको बताए । ‘लाखौँ यात्रुले उपत्यका छाडेका छन्, तर हामीले बुधबारदेखि तथ्यांक अद्यावधिक गर्न छाडेका छौँ, किनभने हाम्रो जनशक्ति निर्वाचनमा केन्द्रित भइरहेको छ,’ उनले भने । 

लगातार बिदाले मतदातालाई सहज
यसपटक चुनावका वेला लगातार बिदा परेको छ । जसकारण मतदातालाई आआफ्नो निर्वाचन क्षेत्र जान सहज भएको हो । बुधबारदेखि आगामी आइतबारसम्म बिदा छ । बिहीबार हुने चुनावका लागि सरकारले बुधबार, बिहीबार र शुक्रबार गरी तीन दिन सार्वजनिक बिदा दिएको छ । त्यसलगत्तै शनिबार सार्वजनिक बिदा छ भने आइतबार नारी दिवसको बिदा हो । चुनावअघि १८ फागुनमा होली पर्वको बिदा थियो भने त्यसको भोलिपल्ट तराई क्षेत्रमा होली पर्वको बिदा थियो । त्यसैले, प्राय: दसैँ–तिहारको वेला सुनसान बन्ने काठमाडौं उपत्यका सडक यसपटक निर्वाचनको माहोलसँगै सुनसान बनेका हुन् । कौशलटारका नरेन्द्र पौडेलले यसअघिको चुनावमा भन्दा यसपटक काठमाडौंबाट धेरै मानिस बाहिरिएको बताए । मतदानका दिन आज बिहीबार साँझसम्म सार्वजनिक यातायात चल्नेछैन भने सवारी पासबाहेकका निजी सवारीसाधन पनि गुड्न पाउनेछैनन् । त्यसकारण बिहीबार सडकमा सीमित सवारीसाधन मात्रै गुड्ने काठमाडौैं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले बताए । ‘धेरै यात्रु बाहिरिनु र सडक सुनसान बनेका कारण ट्राफिक प्रहरी पनि धेरै खटिनुपरेको छैन,’ उनले भने, ‘अधिकांश चोकमा ट्राफिक प्रहरीको साटो निर्वाचन प्रहरी खटिएका छन् ।’

सुझावित समाचार