मध्यपूर्वका १६४ नेपाली लिएर फ्लाई दुबईको काठमाडौं उडान

बुधबार, २० फागुन, २०८२
डिजिटल संस्करण

मध्यपूर्वका १६४ नेपाली नागरिक लिएर फ्लाई दुबईले काठमाडौं उडान भरेको छ । नेपाली समयअनुसार बुधबार ५ बजेर ५६ मिनेटमा उडेको एफ जेठ ५७३ कलसाइनको विमान काठमाडौंस्थित त्रिभुवन बिमानस्थलमा राति ११.५८ मा अवतरण हुने कार्यतालिका रहेको फ्लाई दुबईको वेबसाइटमा उल्लेख छ।

उक्त विमानमा ९ जना बिजनेस क्लासमा र १ सय ५५ जना इकोनोमी क्लासमा बसेर उडान भरेको त्रिभुनव बिमानस्थल कार्यालयका प्रवक्ता सन्तुष्ट बस्नेतले जानकारी दिए। ‘फ्लाई दुबईको एउटा विमान काठमाडौं विमानस्थलका लागि उडान भरेको छ, त्यसमा १ सय ६४ जना यात्रु रहेको जानकारी प्राप्त भएको छ’ उनले भने ।

फ्लाई दुबईको त्रिभुवन बिमानस्थलस्थित ‘एयरपोर्ट सर्भिस म्यानेजर’ नरनारायण पक्वानले पनि नेपाली नागरिक लिएर दुबई इन्टरनेसनल एयरपोर्टबाट काठमाडौंका लागि विमान उडेको पुष्टि गरे। ‘एउटा विमान काठमाडौंका लागि उडान भरेको छ, यस विषयमा थप जानकारी नागरिक उड्डयन प्राधिकरणबाट लिन सक्नुहुन्छ,’ उनले भने।

इजरायल–अमेरिका र इरानबिचको युद्धका कारण मध्यपूर्वका उडान गत शनिबारदेखि रोकिएको थियो। त्यसयता पहिलोपटक फ्लाई दुबईले काठमाडौं अवतरणको कार्यतालिका बनाएको हो। मध्यपूर्वबाट नेपाल आउनका लागि करिब १ हजार नेपाली ट्रान्जिटमा फसेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

ट्रान्जिटमा रहेका नेपालीहरूलाई सम्बन्धित विमान कम्पनीले बसोबासको व्यवस्थापन गरेको परराष्ट्रले जनाएको छ।

सुझावित समाचार