अस्थायी मतदाता एक लाख ८६ हजार १४२ : निर्वाचनमा खटिने सबै पाँच लाख ५१ हजार ८९० ले मतदान गर्न पाउने

बुधबार, २० फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनमा खटिएका, तर अस्थायी मतदाता नामावलीमा सूचीकृत नभएका कर्मचारी, सुरक्षाकर्मीलाई पनि मतदान गर्न पाउने व्यवस्था गर्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन आयोगका अनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको गुप्तचर र निर्वाचन प्रहरी गरी पाँच लाख ५१ हजार ८९० जनशक्ति चुनावमा खटिएको छ । तर, अस्थायी मतदाता नामावलीमा भने (कैदीबन्दीसहित) एक लाख ८६ हजार १४२ मात्र छन् । अस्थायी मतदाता नामावली सूचीमा कायम भएकाका लागि देशभर १४३ मतदान केन्द्र कायम गरिएको छ, उनीहरूले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउनेछन् ।

निर्वाचनमा खटिएका, तर अस्थायी नामावलीमा नाम नरहेका तीन लाख ६५ हजार ७४८ को हकमा छुट्टै व्यवस्था गरिन लागिएको भट्टराईले बताए । ‘यो जनशक्तिले पनि समानुपातिकतर्फ मतदान गर्न पाउनेछ । अस्थायी प्रकृतिको छुट्टै मतदाता नामावली निर्माण गरिन्छ । सोही आधारमा उनीहरूले खटिएकै ठाउँबाट समानुपातिकतर्फ मतदान गर्न सक्नेछन्,’ उनले भने, ‘यसको टुंगो जिल्लास्थित प्रमुख निर्वाचन अधिकृतले लगाउनेछन् ।’

त्यसअघि जिल्लाभर निर्धारण गरिएका प्रत्येक मतदानस्थलमा खटिने कर्मचारीको नामावली संकलन गरेर अस्थायी मतदाता नामावलीसँग रुजु गरिनेछ । आयोगले अस्थायी मतदाता नामावली संकलनका लागि एक महिना समयावधि राखेर गत १७ पुसमा सूचना जारी गरेको थियो । सूचनाअनुसार निर्वाचनमा खटिने कर्मचारीको नामावली सम्बन्धित संगठनले १८ माघसम्म आयोगमा पेस गरिसक्नुपर्ने भनिएको थियो । सूचनापछि सम्बन्धित संगठनले निर्वाचनमा खटिने मातहतका कर्मचारीको नामावली संकलन गरी आयोगमा पेस गरेको थियो । सोही आधारमा आयोगले निर्वाचनमा खटिने कर्मचारीको अस्थायी मतदाता नामावली निर्धारण गरेको आयोगका प्रवक्ता भट्टराईले बताए । 

काठमाडौंमा चारवटा अस्थायी बुथ 
काठमाडौं जिल्लामा सात हजार ६८७ जनाको अस्थायी मतदाता नामावली सूचीमा नाम छ । चारवटा अस्थायी बुथ कायम छन् । एउटा बुथ भद्रकाली मन्दिरआसपास रहनेछ । जसमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीले मतदान गर्न सक्नेछन् । 

अर्को बुथ बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयपरिसरमा राखिनेछ । सिंहदरबारमा कार्यरत कर्मचारीसहित आसपासका बुथ खटिनेले मतदान गर्न पाउनेछन् । त्यसबाहेकको बुथ डिल्लीबजार कारागार र सुन्धारास्थित कारागार परिसरमा राखिनेछ । उक्त बुथमा सम्बन्धित कारागारका कैदीबन्दी, कर्मचारी र आसपासका बुथमा खटिएका कर्मचारीले मतदान गर्न पाउनेछन् ।

काठमाडौंमा प्रमुख जिल्ला अधिकारी ईश्वराज पौडेलले निर्वाचनमा खटिने कर्मचारीको अस्थायी नामावली टुंगिने क्रम जारी रहेको बताए । ‘निर्वाचन आयोगले निर्वाचनमा खटिने कर्मचारीको अस्थायी मतदाता नामावली पठाएको छ । त्यसबाहेक थप कर्मचारीको पनि अस्थायी मतदाता नामावली बनाउनुपर्नेछ । यसको काम भइरहको छ । शुक्रबारसम्ममा यो कार्य पूरा होला । यसलाई फाइनल गर्ने काम भने प्रमुख निर्वाचन अधिकृतले गर्ने हो । यो प्रक्रियालाई सकेसम्म सहज हुने गरी मिलाउँछौँ,’ उनले भने ।

साढे ६ हजार कैदीबन्दी चुनावी प्रचारप्रसारबाट बाहिर
निर्वाचन आयोगका अनुसार विगतझैँ यसपटक पनि जेलमा रहेका कैदीबन्दीले मतदान गर्न पाउनेछन् । सम्बन्धित कारागारमै मतदान केन्द्र स्थापना गरिनेछ ।कारागार व्यवस्थापन विभागका अनुसार मुलुकभरका ७४ कारागारमा अहिले २५ हजार ९७३ कैदीबन्दी छन् । तर, उनीहरूमध्ये २५ प्रतिशत (६ हजार ४९३) मात्र अस्थायी मतदाता हुन् । तर, उनीहरूकहाँ न राजनीतिक दलका उम्मेदवार पुगेका छन्, न प्रचारप्रसार नै । उम्मेदवारले कारागारभित्र पुगेर चुनावी प्रचारप्रसार गर्न पाउने प्रस्ट कानुन नहुँदा यस्तो हुन पुगेको हो । 

कारागार व्यवस्थापन विभागका प्रवक्ता चोमेन्द्र न्यौपानेले कारागारभित्र चुनावी प्रचारप्रसार गर्न कानुनले नदिने बताए । ‘कारागारभित्रका कैदीबन्दीले पनि निर्वाचनमा मतदान गर्न पाउँछन् । तर, दलका उम्मेदवारले कारागारमा पुगेर चुनावी प्रचारप्रसार गरेका छैनन् । कानुनले पनि यो सुविधा नदिएको जस्तो लाग्छ,’ उनले भने । मतदाता नामावलीमा नाम नभएका कैदीबन्दीले भने मतदान गर्न पाउने छैनन् । आयोगका अनुसार कतिपयको नागरिकता नै नभएको, कतिपयको नागरिकतामा उल्लेख नामसँग परिचित नाम मेल नखाएको र कतिपयले इच्छा नदेखाएको हुँदा मतदाता नामावलीमा नाम कम भएको हो । 

See More On

सुझावित समाचार