चुनावले गाउँमा चहलपहल

चाडबाडमा फर्किनेहरू मत हाल्नकै लागि गाउँ पुगेका छन्, चियापसलदेखि चौतारीसम्म राजनीतिक बहस

बुधबार, २० फागुन, २०८२
डिजिटल संस्करण

नेता–कार्यकर्ता एक महिनाअघि नै गाउँघर केन्द्रित भएका वेला मतदाता पनि मतदान गर्न धमाधम पुग्न थालेका छन् । अध्ययन, रोजगारी, व्यवसाय तथा अस्थायी बसोबासका रूपमा जिल्ला सदरमुकाम, काठमाडौं, पोखरा, विराटनगरलगायत सहरबजार तथा विदेशमा रहेका मतदाता अहिले आफ्नो क्षेत्रमा फर्किरहेका छन् । जसकारण दसैँ–तिहारबाहेक वर्षभर सुनसानजस्तै रहने गाउँघरमा चहलपहल बढेको छ । ठिक उल्टो सहरबजारमा चहलपहल घटेको छ । 

उदयपुरको कटारी नगरपालिका– ४ मा रहेको कटारीमा चुनावी गफ गर्दै स्थानीय

सुनसानजस्तै देखिने उदयपुरका पहाडी क्षेत्रका गाउँघरमामा बिहान–बेलुका चिया पसल, चौतारी र आँगनमा चुनावी बहस गर्माएको छ । रोजगारीका लागि गाउँ छाडेकाहरू मतदान गर्न घर फर्किन थालेपछि चाडपर्व लागेजस्तै भएको कटारी नगरपालिका– ११ का पूर्ववडाध्यक्ष सरोज बुढाथोकीले बताए । ‘पहिलेजस्तो गाउँ सुनसान छैन अहिले । चाडपर्वमा मात्र देखिने अनुहार अहिले मतदानकै लागि धमाधम गाउँ आइरहेका छन्,’ उनले भने, ‘मतदानको मिति नजिकिएसँगै गाउँमा राजनीतिक बहस बढेको छ । युवाले पनि आफ्नो धारणा खुला रूपमा राख्न थालेका छन् ।’ 

कटारी नगरपालिका– ११ कै धु्रवबहादुर कटुवाल मलेसियाबाट बिदा मिलाएर मतदान गर्न गाउँ आइपुगेका छन् । ‘मतदान हाम्रो अधिकार मात्र होइन, जिम्मेवारी पनि हो,’ उनले भने, ‘पार्टीको भिजन र उम्मेदवारको मिसन हेरेर मत दिनुपर्छ । यसपटक सचेत भएर निर्णय गर्ने सोचमा छु ।’ विदेश तथा काठमाडौं, विराटनगर, इटहरीलगायत सहरमा बस्ने उदयपुरका पहाडी क्षेत्रका मतदाता फर्कन थालेका हुन् । 

उदयपुरगढी गाउँपालिका– ७ का स्थानीय होमबहादुर बस्नेतका अनुसार अहिले गाउँमा देखिएको चहलपहल दसैँ–तिहारकै झल्को दिने खालको छ । ‘पहिले चाडबाडमा मात्र फर्किनेहरू अहिले मत हाल्नकै लागि आएका छन्,’ उनले भने, ‘चियापसलदेखि चौतारीसम्म राजनीतिक बहस चलिरहेको छ ।’

कटारी–गहुँबारी रुटमा बोलेरो जिप चलाउँदै आएका बद्री बुढाथोकीले सहरदेखि गाउँ आउने बढेपछि स्थानीय रुटमा पनि यात्रु बढेको बताए । ‘१५ फागुनयता यात्रुहरू बाक्लै पाउन थालिएको छ । दसैँ–तिहारजस्तै भएको छ,’ उनले भने । उदयपुरगढी गाउँपालिका– १ का रत्नबहादुर खत्री भन्छन्, ‘चुनाव आएसँगै गाउँमा नयाँ रौनक आएको छ । सहर र विदेशमा बस्ने आफन्त पनि आइपुगेका छन् ।’ उदयपुरमा प्रतिनिधिसभा सदस्यका दुई निर्वाचन क्षेत्र छन् । 

जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्र भगतका अनुसार निर्वाचनले ग्रामीण अर्थतन्त्रमा अस्थायी गतिशीलता ल्याएको छ । ‘मतदानका लागि गाउँ फर्किने क्रम बढेसँगै आर्थिक कारोबार पनि बढेको छ,’ उनले भने, ‘मैले जिल्लाका विभिन्न पालिकामा पुग्दा बजार चलायमान देखेँ । साना व्यवसायी उत्साहित छन् ।’ 

त्यस्तै, सल्यानका गाउँघरमा पनि चुनावको चहलपहल बढेको छ । दुई वर्षदेखि भारतको हिमाञ्चल प्रदेशमा रोजगारी गर्दै आएका सल्यानको शारदा नगरपालिका– ६ का अभिषेक बुढाथोकीले निर्वाचनमा भोट हाल्नकै लागि फर्किएका छन् । इमानदार र योग्य उम्मेदवारलाई जिताउनकै लागि १२ जनाको टोली घर आएको उनले सुनाए । ‘गाउँमा आएपछि साथीभाइ र आफन्तसँग भेट भएको छ । चुनावकै वेला होली पनि मनाउन पाइयो,’ उनले भने । 

दाङ तुलसीपुर बस्दै आएकी सल्यान छत्रेश्वरी गाउँपालिका– १ दमाचौरकी गीता अधिकारी मताधिकार प्रयोग गर्न गाउँ फर्किएकी छिन् । ‘अध्ययनको सिलसिलामा तुलसीपुरमा बस्छु । तर, गाउँको भविष्य आफैँले निर्धारण गर्नुपर्छ भन्ने लागेर भोट हाल्न गाउँ आएकी छु,’ उनले भनिन् । त्यस्तै, शारदा नगरपालिका– ७ का खुमराज बोहराको परिवार पनि भोट हाल्नकै लागि दाङदेखि फर्किएको छ । दाङमा रोजगारी गर्दै आएका बोहरा तीन दिनको बिदा मिलाएर घर फर्केका हुन् । त्यस्तै, भोट हाल्न भनेर बाँके खजुरा गाउँपालिका– २, सीतापुरका सुशील मल्ल जापानबाट आएका छन् । ‘एक भोटको जितहार हुने भएकाले जापान बसिरहन मनले मानेन,’ उनले भने, ‘पैसाभन्दा आफूले मन पराएको उम्मेदवार जिताउने ठुलो लाग्यो ।’

निर्वाचनमा सहभागी हुनकै लागि जुम्लाका वीरबहादुर रावत पनि स्वदेश फर्किएका छन् । भारतको हिमाञ्चलमा बस्दै आएका उनले आफूसँगै १५ जना मतदानका लागि भारतबाट आएको बताए । ‘भोट दिने उम्मेदवारको छनोट गरिसकेका छौँ । सबैले एउटै उम्मेदवारलाई भोट दिन्छौँ,’ उनले भने । बैजनाथ गाउँपालिका– १, चिसापानीका मनोज बुढा पनि भारतबाट आएका छन् ।

होली र चुनावले तान्यो गाउँमा 
होलीको दिन मंगलबार अपराह्न सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– ४ खैरबोना गाउँ पुग्दा ५९ वर्षीय जीवछ मोची घरपरिवार, छिमेकी र छोरा–नातिसँग रङ दलेर खुसी साट्दै थिए । तीन वर्षपछि ११ फागुनमा कतारबाट घर फर्किएका मोचीले भने, ‘यसपल्ट होलीलगत्तै चुनाव पनि पर्‍यो,’ उनले भने, ‘०६४ पछि भोट हाल्न पाएको थिइनँ । यसपल्ट त विशेष कारणले निर्वाचन हुन लागेकाले छुटाउनुहुँदैन भन्ने बिदा मिलाएर आएँ ।’ उनी सप्तरी, धनुषा, महोत्तरीका ६ जना साथीसहित कतारबाट फर्किएका हुन् । 

गोलबजार– ४, निपनियाँका ३५ वर्षीय मोहित महरा भारतको दिल्लीबाट घर फर्किएका छन् । ‘देशमा रोजगारी सिर्जना गर्ने नीति, कानुन बनाउन राम्रा जनप्रतिनिधि छान्न नागरिकको हैसियतले भोट हाल्नुपर्छ,’ उनले भने । पछिल्लो २० वर्षदेखि छोराबुहारीसँग भारतमा बस्दै आएकी सिराहाको धनगढीमाई नगरपालिका– १३, डाबर गाउँकी ५७ वर्षीया आशा श्रेष्ठले पनि भोट हाल्न गाउँ फर्किएको सुनाइन् । 

धनगढीमाई– १३ का वडाध्यक्ष सूर्यमान तामाङले आफ्नो घर रहेको भोर्लेनीमा भोट हाल्नकै लागि १५ जना काठमाडौंबाट फर्किएको बताए । ‘योपल्ट होली त पर्‍यो नै, निर्वाचन पनि पर्‍यो,’ उनले भने, ‘होली त अर्को वर्ष पनि मनाइएला, निर्वाचनले पाँच वर्षका लागि जनप्रतिनिधि छान्ने भएकाले गाउँबाट बाहिर बस्नेहरू घर फर्किएका हुन् ।’

सहरबजारमा घट्यो चाप

सधैँ व्यस्त रहने बुटवलको सडकमा चुनाव लागेसँगै सवारी चाप घटेको छ 

पोखराको पृथ्वीनारायण क्याम्पसमा स्नातकमा अध्ययनरत सुनिता तामाङ १७ महिनापछि मंगलबार आफ्नो घर धादिङ हिँडेकी छिन् । ‘०८१ को तिहारपछि घर फर्किदैछु । पहिलोपटक मतदान गर्न लागेकीले पनि म उत्सुक छु,’ उनले सुनाइन् । 

धनगढी घर भई पोखरामा होटेलमा काम गर्दै आएका विश्वास थारू घर जानका लागि मंगलबार साँझ पोखरा पृथ्वीचोकमा बस कुरिरहेका थिए ।

पोखरामा सरकारी सेवामा रहेका धनकुटाका रमेश थापा श्रीमती र छोरासहित मंगलबार घर लागेका छन् । ‘दुवै छोरा पहिलोपटक मतदान गर्दैछन्,’ उनले भने । वीरगन्जमा बैंकका कार्यरत पोखराका नारायण बराल मंगलबार दिउँसो बसबाट पोखरा ओर्लिए । चुनाव लागेसँगै पाँच दिनदेखि सार्वजनिक तथा निजी सवारीसाधनबाट बाहिरिने बढेको छ । सँगै कास्कीलगायत क्षेत्रका मतदाता फर्किरहेका छन् । 

बिहीबार हुने चुनावका कारण बुधबार मध्यरातिबाट सार्वजनिक यातायात सञ्चालन नहुने र अनुमति लिएबाहेकका निजी गाडी पनि चलाउन नपाइने भएपछि पोखराबाट बाहिरिने लामो दूरीका बसमा यात्रु बढेका छन् । 

पूर्व र पश्चिमका लागि छुट्ने बसमा यात्रुको संख्या बढेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका सञ्चालक बाबुराम दवाडीले बताए । ‘चार–पाँच दिनदेखि पोखराबाट बाहिरिने बढेका छन् । पोखराबाट जानेको तुलनामा आउनेको संख्या कम छ,’ उनले भने । अरू वेला बुटवल, नेपालगन्ज, धनगढीलगायत पश्चिमतर्फ दैनिक १२ वटा बस जाने गरेकामा हाल २० देखि २२ वटा जाने गरेको दवाडीले बताए । त्यस्तै, विराटनगर, धरानलगायत पूर्वतर्फ दैनिक २८ देखि ३० बस जाने गरेकामा हाल ४२ बस पोखराबाट छुट्ने गरेका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका असई दिलीप आलेले पोखराबाट बाहिरिने सवारीचाप १० देखि १२ प्रतिशतले बढेको बताए । पोखरा नयाँबजारका वसन्त श्रेष्ठले भोट हाल्न जाने बढेसँगै बजार क्षेत्रमा पसल पनि बन्द हुन थालेको बताए । ‘पेसा–व्यवसायका लागि पोखरामा रहेकाहरू बाहिरका धेरै छन् । उनीहरू चुनावका लागि जान थालेपछि बजारमा चाप घटेको हो,’ उनले भने । त्यस्तै, रातिसम्म व्यस्त रहने बुटवलका सडकमा अचेल दिउँसो नै सवारीसाधनको चाप घटेको छ । बुटवलमा विशेषगरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जासहित पहाडी जिल्लाका बासिन्दाको अस्थायी बसोबास छ । विद्यार्थीदेखि रोजगारी र पेसा–व्यवसाय गर्न बाहिरी जिल्लाबाट बुटवल आउने गर्छन् । 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले पछिल्ला केही दिनयता चाडपर्वजस्तै बुटवलबाट बाहिरिने बढेको बताए । सार्वजनिक बिदा, होली र चुनावसँगै मतदाता बाहिरिन थालेको उनले बताए । गुल्मीको धुर्काेटका कमल भण्डारी मंगलबार मात्रै बुटवलबाट घर पुगेका छन् । त्यस्तै, गुल्मीका कमल भण्डारी मंगलबार मात्रै बुटवलबाट घर पुगेका छन् । धुर्कोट गाउँपालिकाका भण्डारी योग्य जनप्रतिनिधि छनोटका लागि योगदान पुर्‍याउन घर पुगेका हुन् । बुटवलमा होस्टेल सञ्चालन गर्दै आएका अर्घाखाँची पाणिनीका भागिरथ घिमिरे मतदान गर्नका लागि घर पुगेको बताए ।

विद्यार्थीदेखि रोजगारी तथा व्यवसायको सिलसिलामा सदरमुकाम धनकुटामा बसोबास गर्दै आएकाहरू मतदानका लागि घर फर्किएपछि बजार सुनसान बन्न पुगेको छ । धनकुटामा व्यापार गर्दै आएकी चौबिसे गाउँपालिका– ३ की टीकामाया विश्वकर्माले मतदानका लागि मंगलबार गाउँ पुगेको बताइन् । 

उदयपुरमा विदुर कटुवाल, लहानमा मणिलाल विश्वकर्मा, पोखरामा रोहितराज पराजुली, बुटवलमा विष्णु घिमिरे, सल्यानमा दीपक शर्मा, बाँकेमा विश्वराज पछल्डङ्ग्या, धनकुटामा सन्तोष रुचाल

See More On

सुझावित समाचार