‘यो चुनाव कसैलाई जिताएर पठाउने मात्र होइन, सन्तानको भविष्य बनाउने निर्णय हो’
प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा भोट हाल्नु भनेको केवल चुनाव चिह्नमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र नभई आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय भएको बताएकी छिन्। सोमबार देशवासीको नाममा सम्बोधन गर्दै उनले निर्वाचनमा सरिक हुन सबैलाई आग्रह गर्दै कठिन संक्रमणलाई व्यवस्थापन गर्दै, हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ देशलाई डोर्याउनु र संविधानको बाटोमा फर्काउनु पहिलो कर्तव्य भएको बताएकी छिन्।
वसन्तपुरमा होलीको रौनक [तस्बिरहरू]
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थलमा भेला भएर फागुपूर्णिमा पर्व नमनाउन आग्रह गरे पनि काठमाडौंको वसन्तपुरमा ठुलो संख्यामा मानिसहरू भेला भएका छन्।
प्रशासनले आसन्न निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै सार्वजनिक स्थलमा भेला भएर पर्व नमनाउन आग्रह गरेको थियो। अघिल्ला वर्षहरूको भन्दा कम भए पनि ठुलो संख्यामा मानिसहरू जम्मा भएका छन्।
निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउन आयोगको निर्देशन
निर्वाचन आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न गराउन अनुगमन अधिकृतहरूलाई निर्देशन दिएको छ।
आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, र भयमुक्त वातावरणमा सम्पन्न गर्न कडाइका साथ आचारसंहिता कार्यान्वयन गर्न निर्देश गरेको हो। मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने आचरण परिपालनालाई आयोगले जोड दिँदै आएको छ।
‘...आचारसंहिता तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ विपरीतका कार्य गरेको पाइएमा ऐनको अधीनमा रही जिल्ला आचारसंहिता अनुगमन समितिसमेतको सहकार्यमा अनुगमनकर्ताको अधिकारको प्रयोग गरी निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न गराउन निर्देशन गरिएको छ,’ आयोगले विज्ञप्तिमा भनेको छ।
युएईमा मारिएका नेपालीको परिचय खुल्यो
इरानले युएईमा गरेको हवाई हमलामा मारिएका नेपाली नागरिकको परिचय खुलेको छ।
ज्यान गुमाउने नेपाली गोर्खाका २९ वर्षीय दिवस श्रेष्ठ रहेका अबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ। श्रेष्ठ मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए।
अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि जवाफमा इरानले अमेरिकी सेनाको बेस रहेका देशहरूमा प्रत्याक्रमण गरेकाे थियाे। इरानले दुबई र अबुधाबीको विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण गरेको थियो।
रामेछाप दुर्घटनाः घाइते भएका मतदान अधिकृतको मृत्यु
रामेछापमा सोमबार दिउँसो भएको दुर्घटनामा घाइते भएका मतदान अधिकृतको मृत्यु भएको छ। मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
उनी रामेछाप नगरपालिका–३ स्थित साँघुटार मतदान केन्द्रको रुद्राक्षश्वर माध्यमिक विद्यालय ‘ख’ मतदान केन्द्रका लागि खटिएका थिए।
सो दुर्घटनामा दुर्घटनामा असइ पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो। रामेछाप नगरपालिका २ स्थित सिरुबारीमा मन्थलीबाट मतदान केन्द्र कालिकादेवी मावि र देउराली माविको निर्वाचन सामग्री लिई कर्मचारीसहित जाँदै गरेको सवारीसाधन सडकबाट करिब दुई सय मिटर तल झरेको थियो। दुर्घटनामा घाइते भएका अन्य ६ कर्मचारीलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ।
निर्वाचनमा खटिएका कर्मचारीको दुर्घटनामा परी मृत्यु
मोटरसाइकल दुर्घटनामा परी निर्वाचनमा खटिएका एक कर्मचारीको मृत्यु भएको छ । मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २ खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटनामा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर २ को झोङस्थित जनप्रिय आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा खटिएका सुनील घतानेको मृत्यु भएको हो ।
चुनावका कारण पेट्रोल खपत दोब्बर
चुनावमा सवारीसाधनको प्रयोग बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोलको खपत दोब्बर भएको छ । आयल निगमको बागमती प्रादेशिक कार्यालय, थानकोट प्रमुख जगदीश यादवका अनुसार सोमबार उपत्यकामा पेट्रोल १३ लाख ३९ हजार लिटर वितरण भएको छ, जुन सामान्य अवधिको तुलनामा दोब्बर हो ।
यादवका अनुसार उपत्यकामा सामान्य अवस्थामा दैनिक ६ लाखदेखि सात लाख लिटर पेट्रोल खपत हुने गरेको छ । चुनावका कारण सवारीसाधनको चहलपहल बढेकाले खपत पनि बढेको हो । ‘अहिले उपत्यकामा पेट्रोलको खपत उच्च छ । पेट्रोल पम्पमा जति माग हुन्छ, त्यति नै वितरण भइरहेको छ,’ यादवले भने, ‘मागेजति बजारमा तेल पठाउन निगमलाई कुनै समस्या छैन ।’ उनका अनुसार आइतबार पनि पेट्रोल १६ लाख ५० हजार लिटर वितरण भएको थियो, जुन यो वर्ष कुनै पनि दिन वितरण भएकोमध्ये उच्च परिमाण हो । आइतबार दिउँसोदेखि रातिसम्म उपभोक्ताहरू पेट्रोलपम्पमा लाइन लागेर तेल लिन बाध्य भएका थिए ।
आगामी निर्वाचनले लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्नेछः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षा, सामाजिक न्यायको प्रवर्द्धन र विकासको यात्रालाई अझ सुदृढ बनाउने संकल्पका साथ आगामी निर्वाचनमा सहभागी हुन नागरिकलाई आह्वान गरेका छन्। सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै आगामी निर्वाचनले लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले भनेका छन्, ‘मलाई विश्वास छ, आगामी निर्वाचनले त्यही भाव धारालाई संस्थागत गर्दै लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्नेछ।’
भ्रष्टाचारमा प्रक्राउ परेका प्रदेश सचिव धरौटीमा छुटे, लमजुङका सिडिओलाई साधारण तारेख
बाँकेको यातायात कार्यालयमा भएको भ्रष्टाचारमा पक्राउ परेका प्रदेश सचिव र प्रमुख जिल्ला अधिकारी अदालतको आदेशमा रिहा भएका छन् । लुम्बिनी प्रदेशको आन्तरिक मामिला मन्त्रालयका सचिव लोकबहादुर सुनार धरौटीमा तथा लमजुङका सिडिओ रहेका सहसचिव उमेश ढुंगाना आइतबार साधरण तारेखमा छुटेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान गत १४ फागुनमा उनीहरुसहित १७ जनालाई नियन्त्रणमा लिएर बिशेष अदालतमा मुद्दा दायर गरेको थियो । बिशेष अदालतका न्यायधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले आइतबार सो मुद्दामा बयानपछि थुनछेक आदेश सुनाएको हो ।
परीक्षाको परिणाम फेरबदल गरिएको प्रकरणमा लुम्बिनीका प्रदेशसचिव लोकबहादुर सुनारसँग १५ हजार तथा चोरीको गाडी दर्ता प्रकरणमा ३० हजार रुपैयाँ धरौटी माग भएको छ । दिनेशसिंह ठाकुर, नरभुपाल पौडेल र पुष्ककराज शर्मासँग जनही एक लाख, ओमराज गिरीसँग ५० हजार धरौटीमा छुटेका छन्।
त्यस्तै, प्रकाश अधिकारी, हरिबहादुर बिष्ट, सूर्यकला पण्डित क्षेत्री घिमिरे, बलीराम यादब, अनिश तामाङ, निता भुर्तेल महर्जन र महेश कुमार नेपालीसँग प्रतिव्यक्ति ५० हजार धरौटी माग गरेको छ ।
त्यस्तै, सहसचिव उमेश ढुंगाना, रमेश गौतम, प्रदिप खनाल र भरतकुमार कार्कीको हकमा साधरण तारेखमा छाड्ने आदेश भएको छ ।
भूमिहीन सुकुमवासीलाई जग्गा चुनावी घोषणापत्रमै सीमित
प्रतिनिसिभा सदस्य निर्वाचन २०८२ को मतदानका लागि तीन दिन मात्र बाँकी रहँदा दल तथा स्वतन्त्र उम्मेदवारहरू अन्तिम चरणको प्रचारप्रसार गरिरहेका छन्। स्थानीय, प्रदेश वा संघको हरेक निर्वाचनमा प्रायः दल तथा उम्मेदवारहरूले आ–आफ्नो घोषणापत्रमार्फत भूमिहीन सुकुमवासीलाई जग्गाधनी दर्ता प्रमाणपत्र दिलाउने वाचा गर्छन्, तर निर्वाचनपछि बिर्सिने गरेको भूमिहीन सुकुमवासीको गुनासो छ।
असुरक्षित रूपमा बस्दै आएका भूमिहीन सुकुमवासीहरूका लागि चुनावका बेला लालपुर्जाको कुरा हुने भए पनि त्यसपछि सेलाउने गरेको उनीहरू बताउँछन्। सिरहाको मिर्चैया– ११, सोनी गाउँका करिब ५५ वर्षीय चन्द्रदेव सदाय भन्छन्, ‘सुकुमवासी भूमिहीनका लागि लालपुर्जाको कुरा चुनावी मुद्दाबाहेक केही बन्न सकेको छैन।’ बहुदलीय व्यवस्था पुनर्स्थापनापछि बनेका भूमि सुधार आयोग, सुकुम्बासी समस्या समाधान आयोग, भूमि समस्या सामाधान आयोगहरुजस्ता सरकारी संरचनाहरुले पनि भूमिहीन सुकुम्बासीहरुबाट निवेदन लिएको, तर जग्गा नदिएको उनले सुनाए। सिरहाका करिब १० हजार घरधुरी गरिब, सुकुम्बासीहरुको गुनासो सदायको जस्तै छ ‘चुनावमा जग्गाको लालपुर्जा दिने मिठा कुरा गर्छन्, चुनावपछि बिर्सिन्छन्।’