यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रामेछापका अतिसंवेदनशील ४१ मतदानस्थलमध्ये ३१ वटा मतदानस्थलमा सिसिक्यामेरा जडान गरिएको छ।
एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रामेछापमा कुल एक लाख ८७ हजार ९५२ मतदाता छन् भने दुई हजार ४२२ अस्थायी मतदाता छन्। निर्वाचन आयोगले जिल्लामा ९६ वटा मतदानस्थल र २२८ वटा मतदान केन्द्र निर्धारण गरेको छ।
जिल्लाका मतदानस्थलहरूमध्ये ४१ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिले मतदानस्थलहरूमध्ये अघिल्लो निर्वाचनको अवस्था, भौगोलिक बनावट, सुरक्षा अवस्था र पूर्वाधारका आधारमा सामान्य, संवेदनशील र अति संवेदनशील गरी वर्गीकरण गरिएको छ। सोहीअनुसार सुरक्षाको व्यवस्थापन मिलाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए।
उनका अनुसार ४१ वटा अतिसंवेदनशील रहेका मतदानस्थलहरूमध्ये ३१ वटा मतदानस्थलमा सिसिक्यामेरा जडान गरिएको छ। यसबाहेक जिल्लाका ३५ वटा मतदानस्थल संवेदनशील र २० वटा मतदनस्थललाई सामान्य श्रेणीमा विभाजन गरिएको छ। जिल्ला सुरक्षा समितिले कुनै पनि मतदानस्थलमा समस्या भएमा तत्काल दश मिनेटभित्र थप सुुरक्षाकर्मी पुग्ने गरी सुरक्षा व्यवस्था मिलाइएको सुरक्षा समितिले जनाएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रामेछापबाट विभिन्न राजनीतिक दलहरूबाट १४ जना र तीनजना स्वतन्त्र गरी कुल १७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। चुनावी मैदानमा होमिएका सबै राजनीतिक दलका उम्मेदवारहरूले मतदाताहरूसँग आ–आफ्नो चुनावी घोषणापत्रसहित घरदैलो, कोणसभालगायतका कार्यक्रमहरू गर्दै आएका छन्।