सबइन्जिनियर हत्या प्रकरण : लोकसेवाका प्रतिस्पर्धीको योजनामा हत्या, तीन आरोपी पक्राउ

आइतबार, १७ फागुन, २०८२
डिजिटल संस्करण

सिराहाको सुखीपुर नगरपालिका– ९, बैसखा गाउँ घर भई सर्लाहीको जिल्ला सदरमुकाम मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत रहेकै वेला हत्या गरिएका करिब ३७ वर्षीय सबइन्जिनियर प्रमोदकुमार यादवको हत्या लोकसेवा आयोगका प्रतिस्पर्धीको योजनामा भएको खुलेको छ । 

सबइन्जिनियर यादवको हत्या भएको नौ दिनपछि १२ फागुनमा हत्याका मुख्य योजनाकार मानिएका महोत्तरीको रामगोपालपुर नगरपालिका– ५ घर भई सर्लाहीको बरहथवा नगरपालिका– ९, शान्तिटोलमा डेरा गरी बस्दै आएका करिब ३४ वर्षीय गणेशकुमार महतोलाई पक्राउ गरेपछि थप दुईजनालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार महतोको योजनाअन्तर्गत हत्यामा परिचालित सर्लाहीको बसबरिया गाउँपालिका– २, मानपुर घर भई बरहथावामा मुख्य आरोपी महतोको छिमेकी रहेका करिब २२ वर्षीय चन्द्रकिशोर कुशवाह र महोत्तरीको रामगोपालपुर– ५ का करिब २२ वर्षीय विजयकुमार महतो पक्राउ परेका छन् । 

सर्लाही प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार चन्द्रकिशोर र विजयलाई १३ र १४ फागुनमा अलग–अलग ठाउँबाट पक्राउ गरी मुख्य आरोपी महतोसहित तीनजनालाई १४ फागुनदेखि लागू हुने गरी सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद लिई अनुसन्धान भइरहेको छ । 

काजकिरिया सकेर फर्किएकै दिन हत्या

गत १४ माघमा बैसखा गाउँमा दाजुसँग बस्दै आएका ७१ वर्षको उमेरमा वृद्ध बाबु लक्ष्मी यादवको निधन भएपछि गाउँ आएका प्रमोद २५ माघमा काजकिरिया सकेर ३ फागुनको दिउँसो श्रीमती पुनम र दुई वर्षीया छोरी अनायासहित मलंगवा फर्किएका थिए ।

सहोदर दाजु मनोजकुमार यादवका अनुसार भाइ शुद्धि भोजपछि घरमा पूजा गरेर फर्किने योजना रहेको भए पनि कार्यालयबाट हाजिर हुन फोन आउनुका साथै आफन्तकोमा सुतक परेपछि मलंगवा फर्किएका थिए । 

‘मलंगवा पुगेपछि दिउँसो करिब पौने ४ बजेतिर भाइले आफूहरू सकुशल डेरा आइपुगेको फोनमार्फत सुनाएको थियो,’ उनले भने, ‘तर, त्यसको चार घण्टा नबित्दै साँझ निमर्मतापूर्वक हत्या भयो ।’ ‘मोबाइलमा नम्बरसमेत सेभ रहेको व्यक्तिले फोन गरेको भन्ने सुनेको छु,’ प्रमोदको हत्यालगत्तै उनले भनेका थिए, ‘भाइले नजिकबाट चिनेकै व्यक्तिले नै हत्या गरेको हुन सक्छ ।’ उनको आशंकालाई प्रहरीले हत्यामा संलग्न भएका लोकसेवाका प्रतिस्पर्धीसहितका व्यक्तिहरुको पक्राउले पुष्टि गरेको छ । 

सबइन्जिनियर प्रमोद लोकसेवा आयोगले सिफारिस गरेपछि नियुक्ति लिएर मलंगवा नगरपालिका– १०, देवीटोलमा दुर्गानन्द यादवको घरमा नाबालिका छोरी र श्रीमतीसहित बस्दै आएका थिए ।

प्रदेश लोकसेवा आयोगको ४ फागुन ०८१ को निर्णयअनुसार मधेश प्रदेशको विज्ञापन नम्बर ११८।०७९–८० (खुला), इन्जिनियरिङ सेवा, सिभिल समूह, बि. एन्ड आर. उपसमूह, सहायक पाँचौँ तह, सबइन्जिनियरमा सिफारिस भएपछि ८ फागुनमा पूर्वाधार विकास कार्यालय मलंगवामा नियुक्ति लिएका थिए ।

प्रदेश लोकसेवाको सिफारिसमा सोही पदमा हत्याका मुख्य आरोपी गणेश वैकल्पिकमा परेका थिए । ‘यादवको हत्यापछि वैकल्पिकमा रहेको आफूले स्वतः नियुक्ति पाउने लोभले हत्याको योजना बनाएको देखिन्छ,’ प्रहरीले भनेको छ । 

अनुसन्धानमा संलग्न चार प्रहरी पुरस्कृत
घटनालगत्तै स्थानीय प्रशासनले तत्काल सुरक्षाकर्मी परिचालन गरी अनुसन्धान तीव्र बनाएको साता दिनपछि नै मुख्य योजनाकारसहित हत्यामा संलग्न व्यक्तिहरू पक्राउ परेका हुन् । पक्राउ परेकाहरूसँग लिइएको बयानमा हत्यामा संलग्नतासमेत स्वीकारेको प्रहरीले जनाएको छ । 

सर्लाही प्रहरीले सबइन्जिनियर यादवको गोली प्रहार गरी भएको हत्या र फरार भएकाहरूको खोजी तथा सफल अनुसन्धानमा संलग्न चार प्रहरीलाई शनिबार पुरस्कृत गरेको छ ।

उक्त घटनाको अनुसन्धान र फरार प्रतिवादीहरुको खोजी गरी पक्राउ गर्न सफल भूमिका खेलेका प्रहरी निरीक्षकद्वय विशालबहादुर बुढाथोकी र प्रहरी निरीक्षक वीरेन्द्र विसी, प्रहरी नायब निरीक्षक सुजन पुडासैनी तथा प्रहरी जवान अजय सहनीलाई पुरस्कृत गरिएको सर्लाही प्रहरीले जनाएको छ । 

सुझावित समाचार