आचारसंहिताविपरीतका १८२ थान टिसर्ट बरामद

आइतबार, १७ फागुन, २०८२
डिजिटल संस्करण

उदयपुरमा निर्वाचन आचारसंहिताविपरीत उत्पादन तथा बिक्री–वितरण भइरहेको उम्मेदवारका नाम, फोटो र चुनाव चिह्नअंकित टिसर्टहरू बरामद गरिएको छ। होली पर्वलाई लक्षित गरी राजनीतिक प्रचारप्रसारका सामग्रीका रूपमा प्रयोग हुन सक्ने आशंकामा ती टिसर्टहरू नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी निरञ्जन थापाका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का उम्मेदवारहरूको फोटो तथा चुनाव चिह्नसहित छापिएका टिसर्टहरू आचारसंहिताविपरीत रहेको पाइएपछि प्रहरी टोलीले अनुगमनका क्रममा बरामद गरेको हो। ती टिसर्टहरू होली पर्वका लागि भन्दै गाईघाट बजारका विभिन्न पसलहरूमा खुला रूपमा बिक्री–वितरण भइरहेको अवस्थामा फेला पारिएको थियो।

प्रहरीका अनुसार गाईघाट बजारका विभिन्न पसलहरूबाट १८२ थान टिसर्ट बरामद गरिएको छ। यस्तै, बेल्टार र कटारी बजार क्षेत्रका पसलहरूबाट समेत आचारसंहिता उल्लंघन हुने गरी राखिएका टिसर्टहरू नियन्त्रणमा लिइएको बताइएको छ। सम्बन्धित व्यवसायीलाई आगामी दिनमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराइएको प्रहरीले जनाएको छ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुसार राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचारप्रसारका सामग्री वितरण तथा बिक्री गर्दा निर्धारित मापदण्ड पालना गर्नुपर्ने व्यवस्था रहेको छ। यसप्रकारका सामग्री प्रयोग तथा वितरणमा कडाइ गरिने प्रशासनले जनाएको छ।

सुझावित समाचार