को हुन् अमेरिका–इजरायलले मुख्य निसाना बनाएका खामेनी ?

अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिएको ट्रम्पको दाबी

आइतबार, १७ फागुन, २०८२
डिजिटल संस्करण
  • यसपटक अमेरिकी–इजरायली आक्रमणको लक्ष्य हेर्दा उनीहरूको उद्देश्य ‘मुख्यत: अहिलेको इरानको मूल राजनीतिक नेतृत्वको समूल नष्ट गर्ने’ देखिन्छ

संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार बिहानदेखि इरानमाथि नयाँ चरणको आक्रमण सुरु गरेका छन् । आक्रमणसँगै इरान र अमेरिकाबिच चलिरहेको आणविक कार्यक्रमसम्बन्धी वार्ता फेरि भाँडिएको छ । अमेरिका र इजरायलले यसपटक इरानका सुरक्षा मुख्यालय र मूल नेतृत्वलाई निसाना बनाएको देखिन्छ । इरानको राजधानी तेहरानमा शनिबार आक्रमणको निसानामा परेका क्षेत्रमध्ये देशका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसँग सम्बन्धित स्थान पनि थिए । खामेनीलाई निसाना बनाउनुको कारण इस्लामिक गणतन्त्रको ‘शिरच्छेदन गर्नु’ रहेको अमेरिका र इजरायलले बताएका छन् । तर, तिनले किन मूल नेतृत्व नै हटाउन खोजिरहेका छन्, यहाँ चर्चा गरिएको छ ?

८६ वर्षीय इस्लामिक धार्मिक नेता खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेता पदमा आसीन छन् । वर्तमान इस्लामिक गणतन्त्रका संस्थापक आयतोल्लाह रुहोल्लाह खामेनीको निधनपछि उनको उत्तराधिकारीका रूपमा अलि खामेनी आएका हुन् । सन् १९७९ मा रुहोल्लाह खामेनीको नेतृत्वमा भएको क्रान्तिले अमेरिकानजिक रहेका तत्कालीन राजा मोहम्मद रेजा पहलवीलाई अपदस्थ गरेको थियो । इरानको शासन संरचनाअनुसार सरकारका सबै शाखा, सेना र न्यायपालिकामाथि सर्वोच्च नेताको अधिकार रहन्छ । राजनीतिक अधिकारका अतिरिक्त सर्वोच्च नेता देशको आध्यात्मिक नेता पनि हुन् । 

इस्लामिक गणतन्त्र स्थापनापछिको दोस्रो सर्वोच्च नेता रहेका खामेनीले आफ्नो शासनकालमा निरन्तर पश्चिमको विरोधको सामना गर्नुपरेको छ । यसअन्तर्गत इरानले कठोर प्रतिबन्ध सामना गर्दा उसको अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ । खामेनीले भने अमेरिकालाई इरानको ‘नम्बर एक शत्रु’ मान्छन् भने इजरायललाई दोस्रो ।

खामेनीलाई शक्तिशाली बनाइराख्न इरानमा दुई प्रमुख सुरक्षा संस्था खडा गरिएको छ । ती हुन्, इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजिसी) र बासिज अर्धसैनिक बल । लाखौँ स्वयंसेवक रहेका यी दुई सैन्य संगठनले देशका राष्ट्रपतिलाई समेत बाइपास गरेर सीधा खामेनीलाई रिपोर्ट गर्ने गर्छन् । खामेनीले लामो समयदेखि आफ्नो देशको आणविक अनुसन्धनको लक्ष्य आणविक हतियार बनाउने नरहेको बताउँदै आएका छन् । आणविक कार्यक्रम केवल नागरिक उद्देश्यका लागि प्रयोग हुने उनको जोड छ । र, अमेरिकी गुप्तचर संस्था र संयुक्त राष्ट्रसंघीय आणविक निगरानी संस्थाले पनि इरान आणविक हतियार बनाउने दिशामा रहेको कुनै प्रमाण फेला पारेको छैन । खासमा यो कुरा इजरायलले र पछिल्लो समय ट्रम्प प्रशासनले जोड दिँदै आएका छन् । 

इजरायल र अमेरिका दुवै देशका अधिकारीले पटक–पटक खामेनीविरुद्ध धम्की दिने गरेको इतिहास छ । गत वर्ष जुनमा इरानमाथि अमेरिका–इजरायलले गरेका १२ दिने आक्रमण र बदलामा इरानी आक्रमणपछि, इजरायलका रक्षामन्त्री इजरायल काट्जले खामेनी ‘बाँचिरहन नहुने’ बताउँदै भनेका थिए, ‘इजरायललाई नष्ट गर्ने भयानक लक्ष्य बोकेका खामेनीजस्तो तानाशाह इरानजस्तो राज्यको प्रमुखका रूपमा रहिरहन सक्दैनन् ।’ सोही महिना, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि इजरायलले खामेनीको हत्या गर्ने प्रयास गरेको हो भन्ने प्रश्नलाई अस्वीकार गरेनन् । खामेनी मारिए अमेरिका र इरानबिचको लामो समयदेखिको द्वन्द्व ‘समाप्त’ हुने नेतन्याहुले त्यतिवेला बताएका थिए ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनीलाई धम्की दिने खालको टिप्पणी गर्छन् । यसै महिनाको सुरुमा ‘एबिसी न्युज’ च्यानलसँगको एक अन्तर्वार्तामा ट्रम्पले इरानका सर्वोच्च नेतालाई ‘अत्यन्त चिन्तित’ भएर बच्न चेतावनी दिँदै अमेरिकाले उनलाई निसाना गरेर यस क्षेत्रमा सैन्य उपकरण जम्मा गरेको बताएका थिए । अर्को एक अवसरमा टिप्पणी गर्ने क्रममा उनले इरानको वर्तमान शासक परिवर्तन ‘सबैभन्दा उत्तम विकल्प’ रहेको बताउँदै परिवर्तनपछि नेतृत्व लिने नेता रहेको बताएका थिए । तथापि, उनको संकेत कोतर्फ थियो भन्ने उनले स्पष्ट पारेका थिएनन् ।

गत वर्ष इरानका आणविक अनुसन्धान केन्द्रमाथि आक्रमणको आदेश दिने क्रममा ट्रम्पले अमेरिकाले चाहेमा खामेनी ‘सहजै निसानामा’ पर्ने दाबी गरेका थिए । ‘हामीलाई थाहा छ कि तथाकथित ‘सर्वोच्च नेता’ कहाँ लुकेका छन् ? हामीले चाह्यौँ भने उनी एक सजिलो लक्ष्य हुन् । तर, अहिलेका लागि उनलाई मार्ने हाम्रो लक्ष्य नभएकाले उनी सुरक्षित छन्,’ ट्रम्पले त्यतिवेला भनेका थिए । 

आक्रमणपछि पहिलोपटक गरिएको टिप्पणीमा ट्रम्पले इरानको नौसेना र क्षेप्यास्त्र स्थलहरूलाई ‘विनाश’ गर्ने वाचा गरे । साथै, उनले इरानीलाई सरकारविरुद्ध अगाडि आएर सत्ता उल्ट्याउन आग्रह गरे । ‘हामीले आफ्नो काम सम्पन्न गरिसकेपछि आफ्नो सरकारलाई कब्जा गर्नुहोस्,’ ट्रम्पले इरानी जनतालाई सम्बोधन गर्दै भने, ‘यो सम्भवत: एक युगमा एकपटक आउने अवसर हुनेछ ।’ 

अमेरिका–इजरायली आक्रमणको निसाना हेर्दा पनि उनीहरूको उद्देश्य ‘मुख्यत: अहिलेको मूल राजनीतिक नेतृत्वको समूल नष्ट गर्ने’ देखिन्छ । तथापि, यो सुरुवाती आक्रमणमा यो कति सफल वा असफल भयो केही दिनपछि मात्र थाहा हुनेछ । 

कहाँ छन् खामेनी ?
सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अवस्थाबारे केही स्पष्ट बताइएको छैन । तथापि, रोयटर्स समाचार एजेन्सीले एक स्रोतलाई उद्धृत गर्दै खामेनी तेहरानमा नभएको र सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताएको छ । उनको अवस्था अज्ञात छ । उनी बंकरभित्र लुकेको आशंका गरिएको छ ।

इरानी मिडियाले अमेरिका–इजरायली आक्रमण देशभरका धेरै स्थानमा भएको रिपोर्ट गरेको छन् । प्राय: धेरै बमबारी भने देशको राजधानी तेहरानका रणनीतिक क्षेत्र रहेको विवरणहरूमा जनाइएको छ । इरानको अर्ध–सरकारी समाचार एजेन्सी तस्निमका अनुसार सातवटा मिसाइल तेहरानको उत्तरी भेग सेमिरनमा अवस्थित राष्ट्रपति दरबारनजिक र खामेनीको आवासनजिकै खसेका थिए । एसोसिएटेड प्रेसले तेहरानस्थित खामेनीको कार्यालयनजिकै पनि आक्रमण भएको बताएको छ ।

– अलजजिराबाट

खामेनी मारिएको ट्रम्पको दाबी

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएको दाबी गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा एक पोस्ट गर्दै खामेनी मारिएको दाबि गरेका छन्।

See More On

सुझावित समाचार