इस्लामिक मुलुक इरानले खाडी र मध्यपूर्वका विभिन्न देशस्थित अमेरिकी सैन्य अखडाहरू लक्षित गरी प्रतिआक्रमण गरेपछि नेपाली श्रमिकहरूको सुरक्षा चासो बढेको छ। कतारको दोहास्थित नेपाली राजदूतावासले शनिबार विशेष अपिल जारी गर्दै कतारी अधिकारीहरूले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनहरूको कडाइका साथ पालना गर्न, सकेसम्म घरभित्रै सुरक्षित र सावधानीपूर्वक रहन आग्रह गरेको छ ।
अपिलमा अज्ञात स्रोतबाट आएका अफवाह र अप्रमाणित सूचनाहरूलाई विश्वास नगर्न, अप्रमाणित सूचना, समाचार र भिडियो क्लिपहरू प्रेषित नगर्न, आधिकारिक घोषणा र आपत्कालीन सतर्कता सन्देशहरू पालना गर्न र दोहास्थित नेपाली दूतावाससँग निरन्तर सम्पर्क र सञ्चार कायम गर्न आग्रह गरिएको छ ।
त्यस्तै, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले पनि विषम् परिस्थितिलाई ध्यान दिँदै सम्बन्धित राष्ट्रका सुरक्षा निकाय, स्वास्थ्य संस्था र सरकारी सूचनाहरूलाई पूर्ण रूपमा पालना गर्न आग्रह गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। परिषद्का अध्यक्ष कृष्ण पन्थी र महासचिव विवेक पुलामी मगरद्वारा जारी विज्ञप्तिमा आफ्नो जीवन, परिवार र स्वास्थ्यको सुरक्षालाई प्राथमिकता दिन आग्रह गर्दै सचेत, संयमित र सुरक्षित रही सम्बन्धित राष्ट्रका नियम, सूचना र निर्देशनहरूलाई सम्मानपूर्वक पालना गर्न भनिएको छ ।
मध्यपूर्वको खाडी मुलुक कतारमा करिब तीन लाख ६० हजारदेखि चार लाख नेपाली कामदार कार्यरत रहेको बताइन्छ। कतारको दोस्रो ठुलो प्रवासी समुदायको रूपमा चिनिने नेपाली कामदारहरू विशेषतः सडक, भवन, रंगशाला, आवास निर्माण, सुरक्षा, सवारीचालक, कृषि तथा बगैँचाजस्ता अदक्ष काम र न्यून संख्यामा हस्पिटालिटी, सेवा क्षेत्र र पेसागम काम गरिरहेको परिषद्ले जनाएको छ।