भारतद्वारा मध्यपूर्वका सबै उडान स्थगित

शनिबार, १६ फागुन, २०८२
डिजिटल संस्करण

इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि क्षेत्रीय सुरक्षा अवस्था जटिल बन्दै गएको छ। बढ्दो तनावका बिच भारतका दुई ठुला निजी विमान कम्पनी इन्डिगो र एयर इन्डियाले मध्यपूर्वका सबै गन्तव्यमा उडान स्थगित गरेका छन्। 

एयर इन्डियाले सामाजिक सञ्जाल ‘एक्स’मार्फत विज्ञप्ति जारी गर्दै मध्यपूर्वका केही भागहरूमा बढ्दो आक्रमणको अवस्थालाई ध्यानमा राख्दै सुरक्षा प्राथमिकताका आधारमा सबै उडानहरू रोकिएको जनाएको छ। कम्पनीले यात्रु र चालक दलका सदस्यहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको स्पष्ट पारेको छ।

इन्डिगोले पनि समान धारणा सार्वजनिक गर्दै ग्राहक तथा कर्मचारीहरूको सुरक्षालाई ध्यानमा राखी मध्यपूर्वका उडानहरू अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ। कम्पनीले अवस्थाको निरन्तर अनुगमन गरिरहेको र परिस्थिति सामान्य भएपछि उडान सञ्चालनबारे पुनः निर्णय गरिने बताएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी इजरायलको भ्रमणबाट स्वदेश फर्किएको एक दिनपछि इरानमाथि आक्रमण भएको हो। भ्रमणका क्रममा भारत र इजरायलबिच व्यापार तथा रक्षा सहकार्य थप सुदृढ गर्ने सहमति भएको थियो। 

सुझावित समाचार