आइसिसी पुरुष टी–२० विश्वकप : विश्वकपमा चम्किएका अनुहारहरू

शनिबार, १६ फागुन, २०८२
डिजिटल संस्करण

भारत र श्रीलंकामा चलिरहेको आइसिसी टी–२० विश्वकपमा सुपर एटका खेल जारी छन् । सुपर एटका तीन खेल सकिएपछि सेमिफाइनल समीकरण पक्का हुनेछ । हालसम्म दुईपटकको च्याम्पियन इंग्ल्यान्ड र दक्षिण अफ्रिका अन्तिम चारमा पुगिसकेका छन् । अब, दुई स्थानलाई चार टिमबिच प्रतिस्पर्धा चलिरहेको छ । २० टिम सहभागी लिग स्वाभाविक रूपमा निकै चर्चामा रह्यो । भारत–पाकिस्तानको भूराजनीतिक तनावदेखि लिएर सुरुको विश्वकपमा केही कीर्तिमान पनि बनेका छन् । एसोसिएट राष्ट्रका खेलाडीले पनि शतक बनाएका छन् । यो विश्वकपमा चार शतक बन्दा पाकिस्तानका साहिबजाद फर्हान सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा छन् । उनले शतक पनि बनाएका छन् । यस्तै, विकेटतर्फ पनि पुराना खेलाडीलाई विस्थापित गर्दै नयाँ खेलाडी शीर्ष स्थानमा आएका छन् । 

साहिबजाद फर्हान (पाकिस्तान)
रन : २८३

पाकिस्तानका साहिबजाद फर्हानले यो विश्वकपमा शतक मात्रै बनाएका छैनन्, सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । त्यसैले पनि यो विश्वकप उनका लागि अविस्मरणीय बनेको छ । उनले आफ्नो करिअरकै पहिलो शतक बनाएका छन् । २९ वर्षीय दायाँहाते ब्याटरले नामिबियाविरुद्ध अविजित एक सय रन बनाएका हुन् । यो विश्वकपमा बनेको तेस्रो शतक हो । पाकिस्तानी खेलाडीबाट ट्वान्टी–२० विश्वकपमा बनाएको यो दोस्रो शतक बन्यो । कोलम्बोमा फर्हानले ५८ बलमै एक सय रन बनाएका थिए । त्यसक्रममा उनले ११ चौका र चार छक्का हिर्काए । फर्हानले हालसम्म पाँच इनिङ्समा एक शतक र दुई अर्धशतकसहित दुई सय ८३ रन बनाएका छन् । 

ब्रायन बेनेत (जिम्बावे)
रन : २७७

प्रतियोगितामा सानदार प्रदर्शन गरेपछि जिम्बावे सुपर एटबाट माथि बढ्न सकेन । अघिल्लो विश्वकपमा छनोटसमेत नभएको जिम्बावेले यो विश्वकपमा सानदार प्रदर्शन गर्यो र सुपर एटको बाटो तय गर्यो । टोलीको लगातार उत्कृष्ट प्रदर्शनमा ओपनिङ ब्याटर ब्रायन बेनेतको प्रभाव देखियो । उनी जारी विश्वकपमा सर्वाधिक दुई सय ७७ रन बनाउने दोस्रो खेलाडी हुन् । उनले तीन अर्धशतक बनाए । सबैभन्दा धेरै भारतविरुद्ध अविजित ९७ रन बनाए । मात्र तीन रनले शतक बनाउने चुकेका थिए । २२ वर्षीय ब्याटरले अस्ट्रेलिया, श्रीलंका र भारतविरुद्ध अर्धशतक बनाएका थिए । ओमानविरुद्ध पनि अविजित ४८ रन बनाएका थिए । 

ऐडन मारक्रम (दक्षिण अफ्रिका)
रन : २६४

दक्षिण अफ्रिका लगातार टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गर्दा कप्तान ऐडन मारक्रमले सानदार प्रदर्शन गरिरहेको छन् । मुम्बईस्थित बिसिसिआईको कार्यालयमा भएको प्रतियोगिताअघिको पत्रकार सम्मेलनमै उनले टिमलाई उपाधि जिताउन खेल्ने बताएका थिए । सोहीअनुसार आफ्नो लय कायम राखेका छन् । विश्वकपमा मारक्रमले तीन अर्धशतकसँगै दुई सय ६४ रन बनाएका छन् । उनी विश्वकपमा धेरै रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा पर्छन् ३१ वर्षीय दायाँहाते ब्याटरले पछिल्लो खेलमा वेस्ट इन्डिजविरुद्ध अविजित ८२ रन बनाएका थिए । त्यसअघि न्युजिल्यान्डविरुद्ध पनि अविजित ८६ र क्यानडाविरुद्ध ५९ रन बनाएका थिए । 

धेरै विकेट लिने खेलाडी
साड्ली भान साल्कविक (अमेरिका)
विकेट : १३

अमेरिकाका बलर साड्ली भान साल्कविक यो विश्वकपमा अप्रत्याशित रूपमा धेरै विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । उनले चार इनिङ्समा १३ विकेट लिएका थिए । उनले पाकिस्तान र भारतविरुद्ध नै समान चार विकेट लिएका थिए । भारतविरुद्ध पहिलो खेलमै चार विकेट लिएपछि सनसनी मच्चाए । तेस्रो खेलमा नेदरल्यान्ड्ससँग तीन तथा चौथो खेलमा नामिबियासँग दुई विकेट लिएका हुन् । उनी विश्वकपको चारै खेलमा विकेट लिने बलर पनि बने । तर, एक सय एक रन खर्चिएका छन् । एसोसिएट क्रिकेटको प्रतिनिधित्व गर्दै टेस्ट राष्ट्रका बलरलाई पछि पार्न सफल भएका छन् ।

ब्लेसिङ मुजाराबानी (जिम्बावे)
विकेट : १२

एसोसिएट राष्ट्रका साड्ली भानपछि विश्वकपमा धेरै विकेट लिने खेलाडीमा जिम्बावेका ब्लेसिङ मुजाराबानी रहेका छन् । उनले पाँच खेल खेल्दा १२ विकेट लिएका हुन् । २९ वर्षीय तीव्र गतिका बलरले विश्वकपका सबै खेलमा विकेट लिएका छन् । उनले अस्ट्रेलियालाई हराउँदै सर्वाधिक चार विकेट लिएका थिए । जुन खेलमा उनले मात्र १७ विकेट लिएका थिए । यस्तै, ओमानविरुद्ध तीन तथा श्रीलंका र वेस्ट इन्डिजविरुद्ध समान दुई विकेट लिएका हुन् । पछिल्लो खेलमा भारतविरुद्ध भने एक विकेट लिएका थिए । तर, उनले उत्कृष्ट प्रदर्शन बाबजुद टिमलाई सेमिफाइनलमा भने पुर्याउन सकेनन् । 

सुझावित समाचार