इंग्ल्यान्डले न्युजिल्यान्डलाई चार विकेटले हराएपछि आइसिसी टी–२० विश्वकपमा पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कायमै भएको छ । इंग्ल्यान्डको जितको कामना गरेको पाकिस्तानले मैदानबाहिरै रहेर सोचेजस्तै नतिजा पायो । अब, अन्तिम खेलमा सहआयोजक श्रीलंकालाई ठुलो अन्तरले पराजित गरे मात्रै पाकिस्तान सेमिफाइलनमा पुग्नेछ । यदि पाकिस्तान श्रीलंकासँग पराजित भए वा सानो स्कोरको जित निकाले न्युजिल्यान्ड नै अन्तिम चारमा पुग्नेछ ।
सुपर एटको समूह–२ मा इंग्ल्यान्ड भने लगातार तेस्रो जित निकाल्न सफल भयो । उसले तीन खेलबाट ६ अंक जोड्दै शीर्ष स्थान सुरक्षित गरेको छ । न्युजिल्यान्डको तीन खेलबाट तीन अंक छ । टोली दोस्रो स्थानमा छ । पाकिस्तानको एक अंक रहँदा श्रीलंकाले अंक जोड्न सकेको छैन । कोलम्बोमा सुरुमा ब्याटिङ गरेको न्युजिल्यान्डले सात विकेट गुमाउँदै एक सय ६० रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा इंग्ल्यान्डले ६ विकेट गुमाउँदा तीन बलअघि जित निकालेको हो ।
इंग्ल्यान्डको जितमा टम बान्टोनले ३३, विल ज्याक्सले अविजित ३२, कप्तान ह्यारी ब्रुकले २६, साम करनले २४ तथा ज्याकोव बेथेलले २१ रन बनाएका थिए । इग्ंल्यान्डको जितमा ज्याक्स र रेहान अहमेदले १६ बलमा अविजित ४४ रनको साझेदारी गरेका थिए । यसअघि ब्रुक र बेथेलले ४८ रनको साझेदारी गरेका हुन् ।
न्युजिल्यान्डका रचिन रवीन्द्रले सर्वाधिक तीन विकेट लिएका थिए । म्याट हेनरी र लोकी फर्गुसन तथा ग्लेन फिलिप्सले समान एक विकेट लिए ।
यसअघि प्रेमादासा मैदानमा टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ३९ रन बनाए । उनले २८ बलमा चार चौका र एक छक्का हिर्काएका थिए । ओपनर टिम सेइफर्टले २५ बलमा २५ रन बनाएका हुन् । फिन एलेनले २९ रनको योगदान गरेका हुन् ।
इंग्ल्यान्डका लागि आदिल रसिद, विल ज्याक्स र रेहान अहमदले समान दुई विकेट लिएका थिए । लिआम डावसनले एक विकेट लिएका हुन् ।