एकै दिन कांग्रेसका चार र रास्वपाका दुई चुनावी सभा

शनिबार, १६ फागुन, २०८२
डिजिटल संस्करण
  • चुनाव आउन एक साताभन्दा कम समय बाँकी रहँदा कांग्रेसले शुक्रबार बुटवल, कपिलवस्तु, बागलुङ र पोखरा तथा रास्वपाले चितवन र तनहुँको दमौलीमा चुनावी सभा गरेर मत मागे

कांग्रेस सभापति गगन थापाले कांग्रेसको सरकारले शक्तिशाली आयोग बनाएर हरेक काण्डको छानबिन गर्ने अठोट व्यक्त गरेका छन् । पोखरामा आयोजित चुनावी सभालाई शुक्रबार सम्बोधन गर्दै सभापति थापाले अब कांग्रेस नेतृत्वको सरकारले आफू र निवर्तमान सभापति शेरबहादुर देउवाबाटै सम्पत्तिको छानबिन गर्ने घोषणा पनि गरे ।

‘सरकारको पहिलो काम शक्तिशाली आयोग गठन गर्छ, त्यसले ०४६ पछि प्रधानमन्त्री हुनुभएका शेरबहादुर देउवाको सम्पत्ति, मन्त्री भएको गगन थापाको सम्पत्ति, सबैभन्दा पहिला त्यहाँबाट छानबिन सुरु गर्छ । आफ्नो ‘बा’ भए पनि छाड्दैन, एउटा–एउटा कुराको, काण्डको छानबिन गर्छ,’ उनले भने, ‘भविष्यमा त्यस्तो कुनै काण्ड हुन दिँदैन, त्यसका लागि आवश्यक कानुन र संस्था बनाउँछ ।’

सभापति थापाले निर्वाचनपछिको परिणामले दुईथरी अतिवादलाई पक्षपोषण गर्न सक्ने खतरा रहेको औँल्याए । ‘एउटा अतिवाद जसले भदौ २३ र २४ को घटनाको अवमूल्यन गर्छ, त्यो हुँदै होइन भन्छ, युवाहरूको सहभागिता देख्दैन, त्यो केवल षड्यन्त्र भयो भन्छ, युवाहरूको असन्तुष्टि भएको देख्दैन । त्यस्तै, अर्को खतरनाक अतिवाद छ, जो त्यो मौका छोपेर सिंहदरबार जलाउन पनि लगाउँछ, मौका पर्दै गर्दा आफैँ जेलबाट पनि भाग्छ,’ थापाले भने, ‘यो दुवै अतिवाद हिजो पनि देख्यौँ, भोलि पनि यो अतिवाद आउन सक्छ ।’ 

थापाले सरकार चलाउनेबारे आफूले सात वर्षदेखि तयारी गरेको र सरकारमा गएकै दिनदेखि के–के गर्ने भन्ने खाकामा स्पष्ट रहेको बताए । ‘सरकारमा गएर मात्रै सिक्ने, योजना बनाउनेलाई दिने भनियो भने देश फेरि पछाडि धकेलिन्छ, सिकेर तम्तयार भएको टिमलाई देश हाँक्ने जिम्मा दिनुपर्छ, त्यस्तो टिम नेपाली कांग्रेससँग मात्रै छ,’ उनले भने । 

त्यसअघि बुटवलमा आयोजित चुनावी सभामा थापाले कांग्रेसले आगामी पाँच वर्ष एकछिन पनि विश्राम नलिई देश र जनताको पक्षमा काम गर्ने दृढता व्यक्त गरेका थिए । मुलुकमा चर्का कुरा गरेर नहुने भन्दै उनले सबैलाई मिलाउन, गाउँ–सहर जोड्न, पुराना नयाँ पुस्तालाई मिलाउँदै, छरछिमेकबिच सन्तुलन मिलाएर अगाडि बढ्न कांग्रेसले जित्नुपर्ने बताए ।

उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस देशलाई सम्हाल्ने गरी बदलिएर आएकाले साथ दिन आग्रह गरे । ‘२३ भदौअघि देशमा सबै कुरा ठिकठाक थिए, थियो र केही पनि भएन भन्नु दुवै भाष्य गलत हुन्,’ उनले भने, ‘देशलाई अबको पाँच वर्षभित्र गति दिन र लिन सक्ने संकल्प गरी कांग्रेस आएको छ । यसपटक मौका दिनुहोस् ।’ 

चुनावी सभामा सभापति थापालाई कास्कीका सहकारीपीडितले ज्ञापनपत्र बुझाए । सहकारीपीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले सहकारीबाट अपचलन भएको बचतकर्ताको रकम फिर्तासँगै समस्या समाधानलगायत माग समेटिएको ज्ञापनपत्र थापालाई बुझाएका हुन् ।

रविको आक्रोश– सिंहदरबार जलाउने र गोली हान्ने एउटै समूह
रास्वपा सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकामाथि गोली हान्ने घटना एउटै समूहसँग जोडिएको आरोप लगाएका छन् । शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले जेन–जी आन्दोलनका क्रममा बालबालिकामाथि गोली प्रहार गरिएपछि सिंहदरबार जलेको दाबी गरे । ‘पहिले गोली हानियो, त्यसपछि संरचना जलेका हुन्,’ उनले भने । 

अझै पनि सिंहदरबार कसले जलायो भन्ने प्रश्न उठिरहेको उल्लेख गर्दै उनले भ्रष्टाचारका कारण नै सिंहदरबार जलेको दाबी गरे । सिंहदरबार चलाउने र गोली हान्ने समूह एउटै रहेको उनको जिकिर छ । ‘आजसम्म पनि सिंहदरबार कसले जलायो भन्छन् । सिंहदरबार त्यसैले जलायो, जसले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनायो,’ उनले भने, ‘सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै समूह हो, एउटै मानिसहरू हुन् ।’ लामिछानेले अब आफूहरूले सिंहदरबार बनाउने र बदल्ने दाबी पनि गरे । 

लामिछानेले आफूलाई गत वर्ष चैतमा काठमाडौंबाट पक्राउ गर्दा प्रहरीबाट अन्तिम इच्छा सोधिएको प्रसंगसमेत उठाए । आफूविरुद्ध प्रमाण भएको दाबी गर्ने कांग्रेस सभापति गगन थापालाई लक्षित गर्दै उनले भने, ‘चाहिएन प्रमाण, भइगो । मलाई अन्तिम इच्छा सोधिएको पनि थियो । मैले त्यसको जवाफ दिएको थिइनँ । त्यसको जवाफ चितवनवासीले दिनेछन्,’ उनले भने, ‘आज म चितवनबाट भन्न चाहन्छु– मेरो अन्तिम इच्छा के हो, २१ गते मतपत्रमा देखाइदिनुहोला ।’

रास्वपा बन्द उद्योग तथा कारखाना चलाउने पार्टी बन्न चाहन्छ : बालेन
रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेनले रास्वपा बन्द भएका सबै उद्योग तथा कारखाना चलाउने पार्टी बन्न चाहेको बताएका छन् । चितवनमा आयोजित चुनावी सभामा शाहले भने, ‘हाम्रो देश हेटौँडा सिमेन्ट कारखानाजस्तै भएको छ । मेसिन पनि छ । मेनपावर पनि छ, खानी पनि छ, तर बन्द । अब चल्नुपर्यो । नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्रीजस्तै चल्नुपर्यो अब त्यो पनि । पूरै देशभरि चल्नुपर्यो । बन्द भएका सबै उद्योग तथा कारखाना चलाउने पार्टी बन्न चाहन्छौँ हामी ।’

बालेनले किसानले उत्पादन गरेको दुध, तरकारी सडकमा बगाउनुको एउटै कारण सिन्डिकेट रहेको बताए । बिचौलियाको सिन्डिकेट र विदेशबाट अनुदानमा आउने सस्तो तरकारीका कारण नेपाली किसान मर्कामा परेको उनको भनाइ छ । उत्पादन गर्ने किसान र उपभोक्ताबिचको दूरी कम गर्न नीतिगत सुधार आवश्यक रहेको बालेनले बताए । 

नेपालमा वर्षायाममा खेर जाने विद्युत् ऊर्जाको सदुपयोग गर्दै देशैभर ‘कोल्ड स्टोरेज’ (शीतभण्डार) निर्माण गर्नुपर्नेमा उनको जोड छ । सिजनमा सस्तो हुने तरकारी भण्डारण गरेर अभावका वेला बिक्री गर्न सकिने व्यवस्था भए किसान र उपभोक्ता दुवैलाई लाभ पुग्ने उनले दाबी गरे । 

चितवनले देशलाई पर्यटन प्रवद्र्धनको पाठ सिकाउन सक्ने उल्लेख गर्दै उनले यहाँको थारू समुदायको होमस्टे, संस्कृति र स्थानीय खानाको प्रशंसा गरे । तास, घोंगीजस्ता परिकार र स्थानीय परम्पराले पर्यटनको आकर्षण बढाएको उनको भनाइ छ ।

शाहले सरकारी उद्योगहरू मेसिन र जनशक्ति भएर पनि बन्द अवस्थामा रहनु दु:खद भएको बताए । हेटौँडा सिमेन्ट कारखानाजस्ता उद्योग सञ्चालनमा नआउनु राज्यको कमजोरी भएको टिप्पणी गर्दै उनले यस्ता उद्योगलाई निजी क्षेत्रका सफल उद्योगहरूजस्तै व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने सुझाव दिए ।

देशका ४५–५० जिल्ला घुम्दा एउटा जिल्लाको समस्याको समाधान अर्को जिल्लामा भेटिएको अनुभव सुनाउँदै बालेनले रास्वपाले समस्या र समाधानलाई जोड्ने काम गर्ने दाबी गरे । ‘देश टुक्राटुक्रा समस्यामा होइन, एकीकृत समाधानमा अघि बढ्नुपर्छ,’ उनले भने । 

See More On

सुझावित समाचार