कोशी प्राइड प्रालिले आयोजना गर्ने टी–२० कोशी प्राइड लिग (केपिएल) तेस्रो संस्करणको मिति परिवर्तन भएको छ। विभिन्न सात फ्रेन्चाइज टिमले सहभागिता जनाउने लिग अब चैत ८ देखि २० गतेसम्म सुनसरीमा हुनेछ। प्रतिनिधिसभाको निर्वाचनको कारण प्रतियोगिता सारिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको नयाँ मितिलाई नेपाल क्रिकेट संघ (क्यान)ले समेत स्वीकृत गरेको छ। यसअघि फागुन ९ देखि २१ सम्म हुने भनिएको थियो। प्रतियोगितालाई कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ।
प्रतियोगिताका लागि सहभागी टिमले अक्सनबाट समान १२ खेलाडी अनुबन्ध गरिसकेका छन्। यस्तै, हरेक टिमले ड्राफ्टबाट तीनदेखि ६ खेलाडीसम्म अनुबन्ध गरेका छन्। अक्सनमा २३२ खेलाडी समावेश थिए। क्याटगोरी ‘ए’मा ३४, क्याटगोरी ‘बी’मा ९५ तथा क्याटगोरी ‘सी’मा १०३ खेलाडी थिए। २३२ खेलाडीमध्ये ८४ खेलाडी बिक्री भएका हुन्।