कर्णाली प्रदेशस्तरीय डिजेल र पेट्रोलको भण्डारण डिपो सुर्खेतमा बनाइने भएको छ । नेपाल आयल निगमले कर्णाली प्रदेशको कार्यालय सुर्खेतपरिसरभित्रै करिब १४ करोड लागतमा प्रदेशस्तरीय डिपो बनाउने गरी बोलपत्र आह्वान गरेको हो ।
०८४ सालभित्र डिपो निर्माण गरिसक्ने गरी टेन्डर आह्वान भएको निगम कर्णाली प्रदेशस्तरीय कार्यालयका वरिष्ठ सहायक माधवप्रसाद भट्टले बताए । ‘अहिले सुर्खेतमा हवाई इन्धन र मट्टीतेल मौज्दात राख्ने डिपो भए पनि डिजेल र पेट्रोल भण्डारण गर्ने डिपो छैन,’ उनले भने, ‘जसका कारण नेपालगन्जबाट ट्यांकीमा ल्याएर सोही दिन नै डिलरलाई बिक्री गर्नुपर्ने अवस्था छ ।’
अहिले कार्यालयमा मट्टीतेल ४५ हजार लिटर र हवाई इन्धन ६० हजार लिटर मात्रै भण्डारण हुने गरेको छ । प्रस्तावित इन्धन भण्डार डिपोमा दुई लाख ८० हजार लिटर डिजेल र एक लाख ४० हजार लिटर पेट्रोल भण्डारण हुने भट्टले बताए । अहिले कार्यालयपरिसर रहेको एक बिघा क्षेत्रफलभित्रै नयाँ डिपो बनाउने तयारी रहेको उनले जानकारी दिए ।