नेपाली कांग्रेसका सभापति गगन थापाले जेन–जी आन्दोलनपछि देशलाई स्थिरतामा राख्नका निम्ति चुनाव अनिवार्य सर्त भएको बताएका छन्। बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन्।
‘योभन्दा अर्को विकल्प थिएन र अहिले छैन। त्यस कारणले गर्दा डे वानबाट, चुनाव घोषणा भएको दिनबाट दायाँबायाँ नगरीकन, चुनावको परिणामको चिन्ता नगरीकन चुनावलाई सफल बनाउनका निम्ति नेपाली कांग्रेस लागेको छ,’ उनले भने, ‘चुनावको सन्दर्भमा हामीले भदाै २३ र २४ लाई बिर्सिएर हुँदैन।’
फागुन २१ मा चुनाव यसरी आउँछ भन्ने कल्पना नगरेको उनले बताए। ‘यसमा दुईवटा प्रवृत्ति छ। एउटा इन्कार गर्छ, र भन्छ– भदौ २३ गते र २३ गतेअगाडि देश ठिकठाक थियो। सब ठिकठाक छ। सबले दुधभात खाएका थिए, केही बिग्रेको छैन,’ उनले भने, ‘अर्को प्रवृत्ति छ– बोल्दैन, भन्दैन। तर २३ र २४ गते दनदनी बलेको आगोमा आफ्नो राजनीतिको रोटी सेक्छ। यो दुईवटै सोचले नेपालमा २३ र २४ को अवस्था आएको हो। नेपाली कांग्रेस यो दुवै सोचभन्दा भिन्न छ।’
सभापति थापाले निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको सरकारले ०४६ पछिका सबै काण्डको छानबिन गरेर कारबाही गर्ने बताए। ‘०४६ सालपछाडि भएका भनिएका र सुनिएका प्रत्येक काण्डहरूको छानबिन गर्ने मात्र होइन, त्यो काण्डमा संलग्न मेरै परिवारको सदस्य रहेछ भने पनि त्यो एकजना मानिस पनि बच्दैन,’ उनले भने, ‘पाँच वर्षको कार्यकालमा कांग्रेस सभापतिको हैसियतले भन्दै छु एउटा काण्ड पनि नेपाली कांग्रेसको सरकारले गर्याे भन्ने कुरा एउटा नागरिकले पनि सुन्नुपर्दैन।’