बदलियो प्रचार शैली, खुम्चियो चुनावी सामग्रीको व्यापार

भर्चुअल माध्यमबाट भोट माग्दै उम्मेदवार

बिहिबार, १४ फागुन, २०८२
डिजिटल संस्करण

चुनावी प्रचारप्रसारमा प्रविधिको बढ्दो प्रयोगसँगै भौतिक रूपमा प्रयोग हुने प्रचारप्रसार सामग्रीको माग ह्वात्तै घटेको छ । पार्टी र उम्मेदवारले डिजिटल प्लाटफर्मलाई चुनावी प्रचारप्रचारको प्रमुख माध्यम बनाउँदा छापेर प्रयोग हुने चिह्नअंकित झन्डा, पर्चा, पम्प्लेट, टिसर्ट, टोपी, ब्याचलगायतका सामग्रीको व्यापार खस्किएको हो । 

विगतका निर्वाचनहरूमा उम्मेदवार भोट माग्न जनताको घरदैलोमा पुग्दा ठुलो परिमाणमा पार्टी र चुनाव चिह्नअंकित झन्डा, पर्चा र पम्प्लेटजस्ता प्रचार सामग्री धेरै बोक्थे । मतदातालाई समेत पार्टीको चुनाव चिह्न भएको टोपी र टिसर्ट बाँड्थे । बाटोघाटो र चोक–चोकमा प्रचारप्रसार सामग्री छरिएका हुन्थे । कसैले भित्ता–भित्तामा झन्डा गाडेर छाड्थे । 

तर, अहिले प्रचारप्रसारको त्यो शैली निकै साँघुरिएको छ । दल र उम्मेदवारले सकेसम्म धेरै डिजिटल माध्यमलाई प्रमुख प्रचारप्रचारको माध्यम बनाएका छन् । उम्मेदवारहरू सीमित मात्रामा मात्र झन्डा, टिसर्ट, टोपी र ब्याचलगायतका प्रचार सामग्री बोकेर मतदाताकहाँ पुग्ने गरेका छन् । भौतिक प्रचारप्रसारका सामग्रीको माग ह्वात्तै घटेको छापाखाना, स्टेसनरी र आर्ट व्यवसायीहरू बताउँछन् ।

उनीहरूका अनुसार यसपटकको चुनावमा निकै कम संख्यामा भौतिक रूपमा प्रयोग हुने प्रचारप्रसार सामग्रीको माग भइरहेको छ । लगनखेलस्थित रोजी आर्टका सञ्चालक रोशन श्रेष्ठले यसअघिको चुनावको तुलनामा अहिले भौतिक रूपमा प्रचार सामग्रीको प्रयोग कम हुन थालेको बताए । यसअघि चुनावमा प्रचार सामग्री बेचेर राम्रो आन्दानी गरेका उनको यसपटक भने आन्दानी खासै भएको छैन । ‘डिजिटल प्रचारप्रसार बढेपछि भौतिक वस्तुको प्रयोग कम हुन थालेको छ । केही दलले सीमित संख्यामा मात्र झन्डा छाप्न भनेका थिए । ब्याच र टोपीको माग पनि निकै कम छ,’ उनले भने, ‘०७४ र ०७९ को चुनावमा प्रचार सामग्री तयार पार्न भ्याइनभ्याई हुन्थ्यो । अहिले बजार खुम्चिँदो छ । कतिपयले डिजाइन मात्रै गर्नुहुन्छ, प्रिन्ट गर्नुहुन्न । समग्रमा असर हाम्रो व्यापारमा परिरहेको छ ।’

श्रेष्ठका अनुसार यसअघिको चुनावमा पर्चा, पम्प्लेट, ब्यानर, झन्डा, टिसर्ट, टोपी, ब्याच, माइक, स्पिकरजस्ता सामानको बढी माग हुन्थ्यो । तर, अहिले ती सामग्रीको माग न्यून छ । यद्यपि स्पिकर र माइकको भने माग केही बढेको छ । अन्य प्रचारप्रसार सामग्रीको माग घटनुको मुख्य कारण प्रचारप्रसारमा प्रविधि प्रयोग हुनु नै रहेको श्रेष्ठको बुझाइ छ । 

बागबजारस्थित स्मार्ट हाउसका नवीन गौतमका अनुसार दलको झन्डाको तुलनामा राष्ट्रिय झन्डा, त्यसपछि ठुला दलका झन्डा र चुनाव चिह्न भएको प्रचार सामग्रीको माग अलि धेरै छ । तर, अपेक्षाकृत व्यापार छैन । चुनावलाई लक्षित गरेर बनाइएका झन्डा र अन्य प्रचारप्रसार सामग्रीको पनि खासै बिक्री भएको छैन । ‘दैनिक रूपमा हुने व्यापारमा भने अरू वेलाभन्दा अहिले बढेको छ । तर, सन्तोषजनक व्यापार भएको छैन । एकातर्फ प्रविधिको बढ्दो प्रयोग छ भने अर्कातर्फ प्रचारप्रसार सामग्री छाप्ने ठाउँहरू पनि धेरै भएर होला,’ गौतमले भने, ‘यसअघि चुनाव आउनुभन्दा एक महिनाअघिदेखि नै अर्डर आउँथ्यो । तर, अहिले त्यस्तो छैन, निकै कम अर्डर आउने गरेको छ ।’

अर्कोतर्फ निर्वाचन आयोगको प्रचारप्रसारसम्बन्धी आचारसंहिताले पनि सकेसम्म थोरै भौतिक सामग्रीमा जोड दिएको छ । भौतिक रूपमा चुनाव चिह्न भएका सामग्रीहरू बोक्न निर्वाचन आयोगले रोक लगाएको छ । झन्डा र पर्चा–पम्प्लेटबाहेकका अन्य प्रचार सामग्री प्रयोगमा आयोगले रोक लगाएपछि टिसर्ट र टोपीजस्ता वस्तुको माग घटेको छ । 

उम्मेदवारहरूले आफ्ना एजेन्डा छाप्ने र नमुना मतपत्र छाप्ने गरेका कारण त्यसको व्यापार भने केही बढेको व्यापारीको भनाइ छ । ‘अहिले आचारसंहिता अलि कडा छ, त्यही कारण पनि प्रचारप्रसार सामग्रीको माग कम भएको हुनुपर्छ,’ बागबजारस्थित आर्ट तथा चुनावी प्रचारप्रसार सामग्री बेच्दै आएका उत्तम विकले भने, ‘अहिले बढी बिक्री हुने भनेको राष्ट्रिय झन्डा हो । दल र उम्मेदवारका झन्डा अलि कम बिक्री भइरहेका छन् ।’ 

कतिपय पार्टीको चुनाव चिह्न भौतिक रूपमा बोकेर हिँडेका कारण त्यसको समेत व्यापार बढेको छ । अहिले घन्टीको माग पनि बढेको व्यापारी बताउँछन् । ‘अन्य समयमा मानिसले पूजा गर्दा र मन्दिरमा राख्दा वा चढाउँदा घन्ट किन्थे अहिले प्रचारप्रसारमा समेत घन्टीको प्रयोग हुन थालेपछि घण्टीको व्यापार बढेको छ,’ पाटन मंगलबजारका स्थानीय रवीन्द्रराज ताम्राकारले भने, ‘चुनाव चिह्न भएका कारण माग बढेको होला ।’ यद्यपि, आयोगले भौतिक रूपमा बोकेर हिँड्न नपाइने बताएको छ । 

भर्चुअल माध्यमबाट भोट माग्दै उम्मेदवार
अहिले मतदाता र उम्मेदवारको भेट भौतिक रूपमा मात्रै होइन भर्चुअल रूपमा पनि हुन्छ । उम्मेदवारले भर्चुअल रूपमा पनि भोट माग्ने गरेका छन् । कतिपय उम्मेदवारले विदेशमा रहेका नेपालीलाई आफ्नो चुनावी माहोल सहज बनाइदिन भन्दै भर्चुअल माध्यमबाट सम्पर्क गर्ने गरेका छन् । कतिपयले जुम मिटिङ गर्ने वा लाइभ गर्नेजस्ता तरिका अपनाएका छन् । उनीहरूले भर्चुअल माध्यमकै प्रयोग गरेर विदेशमा रहेका मतदातालाई भोट हाल्न बोलाउने गरेका छन् । अधिकांश उम्मेदवारले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूमा प्रचार तीव्र पारेका छन् । अझ युवा उम्मेदवारले चुनावी प्रचारप्रसारमा डिजिटल माध्यमको भरपुर प्रयोग गरिरहेका छन् । उनीहरूले डिजिटल कन्टेन्ट बनाएर त्यहीँबाट मतदाताकहाँ आफ्ना सन्देश पठाइरहेका छन् । 

सुझावित समाचार