धनकुटामा प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी पूरा

बुधबार, १३ फागुन, २०८२
डिजिटल संस्करण

फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी धनकुटामा लगभग पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय धनकुटाले एक कार्यक्रमको आयोजना गरी निर्वाचनको सम्पूर्ण तयारी करिब पूरा भएको जनाएको हो ।

जिल्ला प्रशासन कार्यालय धनकुटामा आयोजित निर्वाचन र आमसञ्चार विषयक एक दिवसीय अन्तर्क्रिया कार्यक्रमको आयोजना गरी निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न अहिलेसम्म सबै प्रकारका तयारी गरिएको जनाएको छ ।

आयोगले अहिलेसम्म धनकुटामा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै प्रकारको तयारी गरिरहेको जनाएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत धनकुटाका न्यायाधीश हरिषचन्द्र इङ्नामले धनकुटामा निर्वाचन सम्पन्न गर्नका लागि सबै मतदान केन्द्रहरूमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र कार्यालय सहयोगीको नियुक्ति गरी सकिएको बताए । 

 प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले निर्वाचन सामग्री मतदान केन्द्रमा पठाउनका लागि आवश्यक सुरक्षा तयारी अवस्थामा रहेको बताए । निर्वाचन सामग्री निर्वाचन कार्यालयबाट मतदानस्थलसम्म पठाउने कामदेखि लिएर मतदान सकिएर मत गणनास्थल ल्याउने वेलासम्म जिल्लाका सबै सुरक्षा निकायबाट सुरक्षा तैनाथ अवस्थामा बताए ।

जिल्ला निर्वाचन कार्यालय धनुकटाका निर्वाचन अधिकारी माधवकुमार अधिकारीले निर्वाचन आयोगको केन्द्र र जिल्लाले हालसम्म गरेका कार्यबारे जानकारी गराएका थिए । 

जिल्ला निर्वाचन कार्यालय धनकुटाले आसन्न निर्वाचनका लागि मतदाता शिक्षादेखि लिएर कार्यालयले गर्ने अन्य गतिविधि डिजिटल सामग्री प्रयोग गरेको बताएको छ ।

जिल्लाका ६० वटै वडामा मतदाता शिक्षा चलिरहेको र उक्त काम धेरैजसो डिजिटल प्लाटफर्ममार्फत गरिरहेको पनि उनले बताए । धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत लक्ष्मीप्रसाद रेग्मीले अहिलेसम्म जिल्लामा छिटफुटबाहेक आचारसंहिता उल्लंघनका घटना नभएको बताए ।

सुझावित समाचार