अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न रहेको अभियोगमा तीनजनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका– १४, कलंकी बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका– ५ घर भएका २६ वर्षीय फपेन्द्र न्यौपाने, जुम्ला तिला गाउँपालिका– ८ घर भएका ३६ वर्षीय धनराज बस्नेत र कास्की माछापुच्छ्रे गाउँपालिका– ७ घर भएका ४२ वर्षीय शिवबहादुर घर्ती रहेका छन् ।
काठमाडौं महानगरपालिका– १२, टेकुस्थित शिवबहादुरले सञ्चालन गरेको रोडलाइन प्यालेस होटेलमा पीडितलाई बन्धक बनाई कुटपिट गरी घाइते बनाएको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले पीडितको सकुशल उद्धार गरेको छ ।