सुरक्षा निकायका प्रमुखहरूले यसपटकको निर्वाचन सुरक्षा तयारी विगतका निर्वाचनमा भन्दा मजबुत रहेको प्रधानमन्त्री सुशीला कार्कीलाई ब्रिफिङ गरेका छन् । मंगलबार प्रधानमन्त्रीनिवासमा भएको सुरक्षासम्बन्धी छलफलमा सुरक्षा तयारी सन्तोषजनक रहेको निष्कर्ष निकालिएको हो । बैठकमा सहभागी एक अधिकारीका अनुसार केही निर्वाचनविरोधी समूह सक्रिय भए पनि ठुलो चुनौती नरहेको प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको छ । विगतका निर्वाचनमा भन्दा निर्वाचनविरोधी समूह कम रहेको र सुरक्षाकर्मीको संख्या विगतमा भन्दा धेरै भएकाले सुरक्षा व्यवस्था अहिलेसम्मकै मजबुत रहेको सुरक्षा प्रमुखहरूको भनाइ थियो । यसपटकको निर्वाचनमा तीन लाख ४० हजार सुरक्षाकर्मी परिचालित हुने र विगतको तुलनामा यो धेरै भएको सुरक्षा निकायको ब्रिफिङ छ ।
यद्यपि, निर्वाचनविरोधी समूहले सामाजिक सद्भाव भड्काउने प्रयास गर्न सक्ने भएकाले उनीहरूमाथि निगरानी बढाउने निर्णय भएको छ । ‘खासगरी होलीको समयमा कुनै समूहले योजनाबद्ध रूपमा सामाजिक सद्भाव भड्काउने गतिविधि गर्न सक्छन् भन्ने छ,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘त्यसकारण खासगरी तराईमा थप सुरक्षा सतर्कता अपनाउनुपर्नेमा जोड दिइएको छ ।’ तराईमा १९ फागुनमा होली छ । त्यस दिन मंगलबार परेकाले भोलिपल्ट पनि होली मनाइने र निर्वाचनको अघिल्लो दिन पर्व मनाउने क्रममा झडप हुन सक्ने भएकाले सुरक्षा निकाय त्यस्ता गतिविधि रोक्न चनाखो हुनुपर्नेमा जोड दिइएको छ ।
प्रधानमन्त्री कार्कीले चुनौती सिर्जना गर्न सक्ने सम्भावित व्यक्ति र समूहको पहिचान गरी कडा निगरानी र नियन्त्रणका उपाय अपनाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयद्वारा जारी प्रेसनोटमा उल्लेख छ । बैठकमा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै विभिन्न जिल्लामा जाँदा निर्वाचनका लागि जनतामा उत्साह रहेको सुनाएका थिए ।
हिमाली क्षेत्रमा मौसमको चुनौतीबारे पनि छलफल भएको थियो । जल तथा मौसम विज्ञान विभागले निर्वाचनको दिन सामान्य नै हुने आकलन गरेकाले चुनौती नरहेको गृह मन्त्रालयका अधिकारीले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।
रिजर्भ फोर्स बढाइने
केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनका लागि ‘रिजर्भ फोर्स’ बढाउने निर्णय गरेको छ । निर्वाचन र निर्वाचनको मुखमा हुन सक्ने झडप नियन्त्रणका लागि आकस्मिक रूपमा परिचालन गरिने यस्तो फौजको संख्या बढाउने निर्णय भएको हो । ‘गृह मन्त्रालयमा बसेको बैठकले सुरक्षा व्यवस्थालाई थप मजबुत र प्रभावकारी बनाउनका लागि तीनवटै सुरक्षा निकायबाट शीघ्र परिचालन हुने गरी थप जनशक्तिसहितको जगेडा फोर्सको व्यवस्था गर्ने निर्णय भएको छ,’ गृह प्रवक्ता आनन्द काफ्लेले भने, ‘कतै समस्या आएमा तत्काल परिचालन हुने गरी यस्तो फोर्स बढाउन भनिएको हो ।’
तीन दिन सीमा बन्द हुने र सात दिन मदिरा बेचबिखनमा रोक
प्रतिनिधिसभाको २१ फागुनमा हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको भन्दै चारवटै सुरक्षा निकायका अधिकारीहरूले सुरक्षाबारे आश्वस्त पारेका छन् । निर्वाचन आयोगमा मंगलबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समिति बैठकमा सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीले निर्वाचन तयारीमा ‘हाई अलर्ट’मा रहेको ब्रिफिङ गरेका हुन् ।
बैठकमा छिटपुट घटनाबाहेक सुरक्षाको कुनै चुनौती नरहेको विश्लेषण सुरक्षा निकायबाट आएको निर्वाचन आयुक्त सगुनशमशेर जबराले बताए । उनका अनुसार सुरक्षा अधिकारीहरूले चुनावको सुरक्षाका लागि उच्च सतर्कता अपनाएको र जुनसुकै परिस्थितिका लागि तयार रहेको जानकारी गराएका छन् ।
बैठकमा प्रहरी प्रमुख दानबहादुर कार्कीले मधेशका केही जिल्लामा देखिएको घटना पनि साम्य भइसकेको र सम्भावित घटना रोक्न संवेदनशील जिल्लालाई ‘हाई अलर्ट’मा राखिएको जानकारी गराएका थिए । ‘कोठा–कोठाबाट सानातिना विरोध गर्ने हुन सक्छन् । उच्च निगरानी र अलर्टमा छौँ । निर्वाचनलाई कुनै सुरक्षा समस्या हुँदैन,’ कार्कीले भनेका थिए । मधेशमा घटनाहरू हुन सक्छन् भनेर सुरक्षा निकायले पहिले नै ‘नोटिस’ गरेको र सीमित स्वार्थ समूहले घटनाहरू घटाए पनि नियन्त्रणमा आइसकेको भन्दै सुरक्षा निकायका अधिकारीले यसले समस्या नहुने ‘ब्रिफ्रिङ’ गरेका थिए । छलफलमा राष्ट्रिय अनुसन्धानका प्रमुखले पनि ब्रिफिङ गरेका थिए ।
बैठकमा निर्वाचन सुरक्षाअन्तर्गत नै हेलिकोप्टर स्ट्यान्ड बाई राख्ने, तीन दिन सीमा बन्द गर्ने, सात दिन मदिरा बेचबिखनमा रोक लगाउने विषयमा छलफल भएको छ । सोहीअनुसार निर्वाचन सुरक्षाका लागि नेपाल–भारत सीमा ७२ घण्टा बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय भएको छ । र, मदिरा बिक्री वितरण सात दिन बन्द गर्ने निर्णय गरिएको छ । छलफलमा निर्वाचनका क्रममा हिमाली जिल्लामा आउन सक्ने समस्या सम्बोधन गर्न, मानिसहरू पुर्याउन र ल्याउन हेलिकोप्टर स्ट्यान्ड बाई राख्ने तय भएको छ । यसका लागि सेनाले सिभिल हेलिकोप्टरसमेत प्रयोग गर्ने तयारी छ ।
छलफलमा मतदानस्थलको संवेदनशीलता फेरिन सक्ने सम्भावनाबारे पनि चर्चा भएको थियो । ‘मतदानस्थल संवेदनशीलताको परिवेश फेरिन सक्छ । यो कुरा ख्याल गर्नुपर्नेछ र त्यसमा चनाखो छौँ । अहिलेसम्म वातावरण निर्वाचनमैत्री नै छ भन्ने उहाँहरूको कुरा थियो,’ आयुक्त जबराले भने । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै सुरक्षा चुस्त दुरुस्त हुनुपर्छ भनेर निर्देशन दिएको बताए । ‘उहाँहरू सबै विषयमा सचेत हुनुहुन्छ । शान्तिसुरक्षाको सुनिश्चितता गरे ठिक छ,’ उनले भने । निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति खटिँदै छ । निर्वाचनका लागि निर्वाचन प्रहरीसहित तीन लाख ४० हजार जनशक्ति परिचालन गरिएको छ । कुल १० हजार ९६७ मा ४ हजार ६४२ अतिसंवेदनशील मतदानस्थल छन् ।
रिजर्भ फोर्स बढाइने
आनन्द काफ्ले, प्रवक्ता, गृह
सुरक्षा व्यवस्थालाई थप मजबुत र प्रभावकारी बनाउनका लागि तीनवटै सुरक्षा निकायबाट शीघ्र परिचालन हुने गरी थप जनशक्तिसहितको जगेडा फोर्सको व्यवस्था गर्ने निर्णय भएको छ । कतै समस्या आएमा तत्काल परिचालन हुने गरी यस्तो फोर्स बढाउन भनिएको हो ।
‘हाई अलर्ट’मा सुरक्षा निकाय
तीन दिन सीमा बन्द हुने र सात दिन मदिरा बेचबिखनमा रोक
निर्वाचन आयोगमा मंगलबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समिति बैठकमा सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीले निर्वाचन तयारीमा ‘हाई अलर्ट’मा रहेको ब्रिफिङ गरेका छन् । बैठकमा प्रहरी प्रमुख दानबहादुर कार्कीले मधेशका केही जिल्लामा देखिएको घटना पनि साम्य भइसकेको र सम्भावित घटना रोक्न संवेदनशील जिल्लालाई ‘हाई अलर्ट’मा राखिएको बताए । ‘सानातिना विरोध गर्ने हुन सक्छन् । उच्च निगरानी र अलर्टमा छौँ । निर्वाचनलाई कुनै सुरक्षा समस्या हुँदैन,’ उनले भनेका थिए । नेपाल–भारत सीमा ७२ घण्टा बन्द गर्न सरकारलाई सिफारिस गर्ने र मदिरा बिक्री–वितरण सात दिन बन्द गर्ने निर्णय गरिएको छ ।