जनकपुरमा भएको दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ भने इन्स्पेक्टर घाइते भएका छन्। जनकपुरधाम उपमहानगरपालिका–४ स्थित विश्वकर्माचोकमा मुरली चोकबाट जिरोमाइलतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क ०१०४ नं को टिपरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ७३५२ नं.को मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा २६ वर्षीय प्रहरी जवान चन्द्रकला कुमारीको मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकलचालक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर दरबन्दी भई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषामा कार्यरत प्रहरी निरीक्षक विजयकुमार यादव घाइते भएका छन् ।
मृत्यु हुने प्रहरी जवान जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीमा कार्यरत थिइन्। टिपरचालक धनुषाको मिथिला नगरपालिका- २, आनन्दपुर बस्ने ३० वर्षीय सुनीलरवि दासलाई प्रहरीले पक्राउ गरेको छ।