मलाई हटाउँदा देश ड्राइभरविनाको गाडीजस्तो हुन्छ : ओली

सोमबार, ११ फागुन, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूलाई हटाउँदा देश डाइभरविनाको गाडीजस्तो हुने बताएका छन् । झापाको दमकमा नेसनल भोलेन्टिर्यस फोर्स कोशीको घोषणा कार्यक्रममा ओलीले आफू सरकारमा आउना साथ देश कुद्ने बताए ।

‘मलाई सरकारबाट हटाउँदा डाइभरविनाको गाडीजस्तो हुन्छ देश,’ उनले भने, ‘म सरकारमा आउनेबित्तिकै देश कुद्छ । म सरकारबाट हटेपछि जहाँको त्यहीँ हुन्छ ।’ उनले देश विकास गर्ने पार्टी एमाले भएको बताए । ओलीले देश विकासको जिम्मा आफू र एमालेलाई दिन पनि आह्वान गरे । देशमा धेरै विकास भएको र केही बाँकी रहेको बताउँदै ओलीले बाँकी रहेको काम एमालेले पूरा गर्ने बताए ।

अहिले एमालेले गरेको विकासमा उभिएर एमालेको विरोध भइरहेको ओलीको दाबी छ । ‘यही दमकले हेरोस् रतुवा र मावामा एउटा मात्रै  पुल थियो । कालोपत्रे हेर्न राजमार्ग आउनुपर्थ्याे । घरअगाडि कालोपत्रे छ, बिजुलीका खम्बा छ । घरघरमा बिजुली छ,’ उनले भने, ‘कालोपत्रे सडकको छेउमा उभिएर अहिलेसम्म के भयो भनेको सुनिन्छ ।’

झापा ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका ओलीले एमालेलाई प्रश्न उठाउने ठाउँ नभएको बताए । ‘एमालेले गर्भमा हुँदादेखि अन्तिम संस्कारसम्म कुन मानव जातिका लागि के काम गरेको छैन ? किसान, मजदुर, प्रहरीका लागि, व्यापारी उद्यमीका लागि, निर्माण व्यवसायी, यातायात व्यवसायी, बालबालिकाका लागि, युवाका लागि, जागिर खाने युवाका लागि, पढ्ने उमेरका बालबालिकाका लागि, वृद्धवृद्धाका लागि, अनाथका लागि कसका लागि काम गरेको छैन ?’

उनले एमाले शान्तिपूर्ण, निष्पक्ष, धाँधलीरहित भयरहित चुनावको पक्षमा रहेको बताए । मतदाताले स्वतन्त्र ढंगले मत खसाल्न पाउनुपर्ने पक्षमा एमाले रहेको उनको भनाइ छ । उनले कसैले बुथ कब्जाको कल्पना पनि नगरे हुने चेतावनी दिए । 

ओलीले नेसनल भोलेन्टिर्यस् फोर्स चुनावका लागि मात्र नभई सधैँका लागि स्थापना भएको बताए । फोर्सले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सहयोग गर्ने दाबी गरे । 
 

सुझावित समाचार