आइसिसी पुरुष टी–२० विश्वकप २०२६ : साबिक विजेता भारतविरुद्ध दक्षिण अफ्रिकाको सानदार जित

१८८ रन पछ्याएको भारत १८.५ ओभरमा १११ रनमा अलआउट हुँदा दक्षिण अफ्रिका ७६ रनले विजयी

सोमबार, ११ फागुन, २०८२
डिजिटल संस्करण

साबिक विजेता भारतले १०औँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर ८ मा कमजोर सुरुवात गरेको छ । सुपर ८ को समूह ‘१’ को पहिलो खेलमा दक्षिण अफ्रिकाले भारतमाथि ७६ रनको सानदार जित निकालेको हो । जितसँगै दक्षिण अफ्रिकाले महत्वपूर्ण २ अंक जोडेको छ । अहमदाबाद रंगशालामा टस जितेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा सात विकेट गुमाएर १८७ रनको मजबुत योगफल बनाएको थियो । 

प्रत्युत्तरमा भारत १८.५ ओभरमा १११ रनमै समेटिँदा दक्षिण अफ्रिका ७६ रनले विजयी भयो । दक्षिण अफ्रिकाले सन् २०२४ को टी–२० विश्वकप फाइनलमा भारतसँग व्यहोरेको हारको बदला लिएको छ । सो विश्वकप फाइनलमा भारतले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । दक्षिण अफ्रिका र भारत आ–आफ्नो समूहका विजेता थिए । उनीहरूले समूह चरणमा कुनै पनि खेल गुमाएका थिएनन् । चालू विश्वकपमा भारतको यो पहिलो हार हो । 

दक्षिण अफ्रिकाले आफ्नो अपराजित खेल संख्या पाँच पुर्‍याएको छ । भारतविरुद्ध सानदार जित दर्ता गर्ने क्रममा दक्षिण अफ्रिका मार्को जानेसनले घातक बलिङ प्रदर्शन गरे । उनले ३.५ ओभरमा २२ रन खर्चेर चार विकेट लिए । उनले १.१ ओभरमा तिलक बर्मा, ४.३ ओभरमा अभिषेक शर्मा, १८.४ ओभरमा शिवम दुबे र १८.५ ओभरमै जसप्रीत बुमराहको विकेट लिँदै दक्षिण अफ्रिकालाई २ अंक दिलाए । यसैगरी स्पिनर केशव महाराजले पनि कसिलो बलिङ गरी भारतका तीन विकेट आफ्नो नाममा लेखाए ।

केशवले १४औँ ओभरमा उत्कृष्ट स्पेल फ्याँकेका थिए । उनले सो ओभरमा तीन विकेट हात पारेका थिए । १४.१ ओभरमा हार्दिक पान्ड्या, १४.३ ओभरमा रिंकु सिंह तथा १४.६ ओभरमा अश्रदीप सिंहको विकेट लिएका थिए । यसैगरी, कोर्बिन बोचले १२ रन दिँदै दुई विकेट लिए । उनले ७.२ ओभरमा वासिंटन सुन्दर र ९.१ ओभरमा सूर्यकुमार यादवको महतवपूर्ण विकेट लिए । 

दक्षिण अफ्रिकाको दमदार ब्याटिङ
यसअघि पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाको सुरुवात कमजोर भएको थियो । भारतीय फास्ट बलर जसप्रीत बुमराहले दुई र अश्रदीप सिंहले एक विकेट लिएपछि दक्षिण अफ्रिका ३.६ ओभरमा २०/३ को नाजुक अवस्थामा रह्यो । समूह चरणमा उत्कृष्ट ओपनिङ गरेका कप्तान एडेन माक्राम र क्विन्टन डी ककले १० रनको साझेदारी गरेका थिए । डी ककले सात बलमा ६ रन जोडे । त्यसपछि कप्तान माक्रामले सात बलमा ४ रन बनाए । रायन रिकल्टनले सात बलमा ७ रन बनाएर आफ्नो विकेट बुमराहलाई दिए । 

सुरुवातमा धरमराएको ब्याटिङ इनिङ्स डेवाल्ड ब्रेभिस र डेभिड मिलरले सम्हाले । दुवैले चौथो विकेटका लागि केवल ५१ बलमा ९७ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकालाई बलियो स्थितिमा पुर्‍याए । ब्रेभिसले आक्रामक ब्याटिङ गर्दै २९ बलमा ४५ रन जोडे । उनले समान तीन चौका र छक्का प्रहार गरेका थिए । उनी शिवम दुबेको ओभरमा अभिषेक शर्माबाट क्याच आउट भए । त्यसपछि मिलरले ट्रिस्टनसँग पाँचौँ विकेटका लागि २१ बलमा ३५ रन बटुलेका थिए । 

क्रिजमा सेट भइसकेका ब्याट्सम्यान डेभिडलाई वरुण चक्रवर्थीले क्याच आउट गराए । डेभिडले ३५ बलमा सात चौका र तीन छक्का प्रहार गरी सर्वाधिक ६३ रनको योगदान दिए । उनी आउट हुँदा दक्षिण अफ्रिका १५.४ ओभरमा १५२/५ को बलियो अवस्थामा रह्यो । ट्रिस्टनले अन्तिमसम्म नटआउट रही दक्षिण अफ्रिकाको रनरेट उकास्ने काम गरे । उनले भारतीय बलरविरुद्ध डेथ ओभरमा आक्रामक हुँदै उत्कृष्ट स्ट्रोक लगाए । उनले २४ बल खेलेर तीन छक्का र एक चौका प्रहार गरी ४४ रनको योगदान दिए । दक्षिण अफ्रिकाले आठौँ विकेटका लागि सात बलमा २० रन जोडेको थियो । भारतले ११ अतिरक्त रन दिएको थियो ।

साबिक विजेताको फितलो ब्याटिङ
१८८ रनको लक्ष्य पछ्याएको भारतले सुरुवातदेखि नै कमजोर ब्याटिङ गर्‍यो । इनिङ्सको ०.४ ओभरमै विकेट गुमाएको भारतले त्यसपछि पुनरागमन गर्न सकेन । दक्षिण अफ्रिकाले निरन्तर विकेट लिँदै गएको थियो । भारतका लागि सर्वाधिक रन शिवम दुबेले जोडेका थिए । उनले ३७ बलमा तीन छक्का र एक चौका प्रहार गरी ४२ रन बनाए । हार्दिक पान्ड्याले १७ बलमा १८ तथा कप्तान सूर्यकुमारले २२ बलमा १८ रन जोडेका थिए । ओपनर ईशान किसन शून्यमा आउटट भए । तिलक बर्माले १ रन जोडे । आक्रामक ब्याट्सम्यान रिंकु सिंह सामना गरेको दोस्रो बलमै पेभेलियन फर्के । 

सुझावित समाचार