देशका सरदर ७० प्रतिशत उद्योगी–व्यवसायी थप लगानीका लागि ‘पर्ख र हेर’को अवस्थामा रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । जेन–जी विद्रोहपछि लगानीकर्ताको अवस्थाको विषयमा गरिएको अध्ययन प्रतिवेदनले यस्तो औँल्याएको हो । भदौ २३/२४ को जेन–जी विद्रोहका क्रममा निजी क्षेत्रका सम्पत्ति र भौतिक संरचनामाथि समेत आक्रमण भएको थियो ।
उद्योग–व्यवसायीमाथिको आक्रमणबाट भौतिक क्षतिसँगै मनोवैज्ञानिक असरसमेत परेको थियो । यसै सन्दर्भमा गरिएको अध्ययनले ९८ प्रतिशत लगानीकर्ताको मनोबल कमजोर भएको देखिएको हो । त्यस्तै, ९७ प्रतिशत व्यवसायीले लगानीको वातावरण कमजोर भएको महसुस गरेको तथा ७० प्रतिशत व्यवसायी थप लगानीका निमित्त पर्ख र हेरको अवस्थामा रहेको प्रतिवेदनमा औँल्याएको छ । २ प्रतिशत व्यवसायीले मनोबलमा फरक नपरेको तथा २१ प्रतिशत व्यवसायी भने थप लगानी गर्न इच्छुक रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
क्लिकमान्डु डटमकले हालै सार्वजनिक गरेको ‘जेन–जी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण २०८२’ शीर्षकको अध्ययन प्रतिवेदनले पनि निजी क्षेत्रको आत्मविश्वास इतिहासकै कमजोर विन्दुमा पुगेको देखाएको छ । ‘जेन–जी प्रदर्शनका कारण व्यवसायीले भोगेको क्षतिको प्रकृति विश्लेषण गर्दा भौतिक क्षतिभन्दा ठुलो असर मनोबलमा परेको पाइएको हो,’ प्रतिवेदनमा उल्लेख छ ।